यश घिमिरेका दुई छोटा कथा

यश घिमिरेका दुई छोटा कथा


अनुगमन

  • यश घिमिरे

केहि प्रहरीसहित एक हुल मान्छे ग्वारग्वार्ती उसको अफिसमा छिरे ।

‘हामी अनुगमनमा आएको । तपाईंको विरुद्ध उजुरी परेको छ ।’- एउटाले सानो चिर्कटो थमाउँदै भन्यो ।

दुई वर्षअघि विदेशबाट अलिअलि कमाएको पैसा र त्यहाँ सिकेको सीप लिएर स्वदेशमै सानोतिनो उद्योग गर्ने सोच बनाएर हरिप्रसाद नेपाल फर्किएको थियो । उसलाई उद्योग दर्ता गर्नै महाभारत परेको थियो । कहिले के कागजात पुगेन त कहिले केको सिफारिस चाहियो भन्दैमा ६ महिना बितेको थियो । बल्लबल्ल दर्ता भएर उत्पादन शुरु मात्र हुँदै थियो फेरि अर्को भाउँतो आइलाग्यो । उसले केही सोच्न नभ्याउँदै अनुगमनकारीहरू छापामार शैलीमा समानहरूको स्याम्पल जोहो गर्न थाले ।

‘कसले के भनेर उजुरी गऱ्यो हजुर ?’- निन्याउरो अनुहार लगाएर चिर्कटो थमाउनेलाई सोध्यो ।

‘उजुरी गर्न नाम ठेगाना चाहिन्न, जसले नि गर्न सक्छ । हामीलाई थाहा नै भए नि ‘इन्फर्मेसन लिक’ गर्न मिल्दैन । यहाँबाट उत्पादन भएको सामानको गुणस्तरबारे उजुरी परेको छ । यसको छिनोफानो ल्याबटेस्ट पछि मात्र हुन्छ । त्यतिन्जेलसम्मको लागि तपाईंको उद्योग शील हुन्छ ।’

उद्योग शील हुने कुराले हरिप्रसाद नराम्ररी तर्सियो । भर्खर सामानहरू बजारमा जान शुरु हुँदै थियो । फेरि उद्योग शील भयो रे भन्ने हल्लाले बजारमा गैसकेको बस्तु कसैले नबेचिदिने अनि उपभोक्ताले नि शंका गरेर उपभोग नगरीदिने हुनसक्थ्यो । एक महिना मात्र उद्योग बन्द भएमा लाखौँ घाटा पर्ने निश्चित थियो । बैंकको ब्याज तिर्नै पऱ्यो । प्राविधिक र मजदुरको तलब दिनै पऱ्यो । पसिनाले निथ्रुक्क उ के गर्ने के नगर्ने बिलखबन्दमा पऱ्यो । यस्तैमा एउटा मोटे अनुगमनकारी आएर उसको हात समाउँदै कुनातिर लग्यो ।

‘हेर्नुस्, यो उजुरी हाल्ने यहीँकै कुनै पुराना प्रतिद्वन्द्वी ब्यवसायी हुन् पक्कै । उजुरी परिसकेपछि हामीले नि अनुगमन गर्नैपऱ्यो के गर्नु ? अब स्याम्पल लिएर गएर ल्याबको परीक्षण गरी रिपोर्ट आउनै ३-४ महिना जति लाग्छ । त्यहाँका कर्मचारीको त्यही त हो काम गर्ने पारा, ‘भ्याइया छैन अथवा स्याम्पल हरायो फेरि ले’ भनिदिए भने त झन् समय लाग्छ । भर्खरै उद्योग स्थापना गर्नुभएको रै’छ । सरी ! हाम्रो नि बाध्यता बुझिदिनु होला ।’

‘सर ! अरु केहि उपाय छैन ? लौ न म त डुब्ने भएँ !’- उसले रुँलाझैँ गरेर भन्यो ।

‘त्यसो भए कुरोलाई अगाडि बढ्न नदिनुस् । तत्काल पँच लाखको जोहो गर्न सक्नुहुन्छ त ? म हाकिम साबलाई मनाउँछु ।’

‘तत्काल त ३–४ लाख भन्दा जोहो हुन सक्दैन सर ! ऋणमा डुबेको छु हजुर !’- दुई हात जुम्ला पाऱ्यो ।

‘ल ठिकै छ, पैसा जोहो गर्नुस्, म कुरा गर्छु ।’

हरिप्रसादले भाइ राम प्रसादलाई फोन गऱ्यो । उसले दौडादौड गरेर पैसा जुटाएर ल्यायो ।

भोलिपल्टको प्रमुख समाचारहरूमा फोटोसहितको यस्तो हेडलाइन छापियो- ‘अनुगमन अधिकृतलाई घुस दिन खोज्ने दाजुभाइ प्रहरी फन्दामा, उद्योगमा ताल्चा ।’

जनताको नजरमा अनुगमनकारीहरू झन् लोकप्रिय भए ।

उता पुराना ब्यवसायीहरू पनि खुशी भए । निकै पछि सुन्नमा आयो- यसको लागि उनीहरूले दश लाख खर्च गरेका थिए अरे !

000

उ, उनी र उसको

‘था’पाउनु भयो ? सन्ध्या र सुरज दाइको त विवाह हुने भयो नि.. यही महिनाभित्र ।

टेलिफोनमा बिहानै आएको यो खबरले एकछिन वाल्ल परेँ । निर्मला चहकिएर भन्दै थिइ- ‘उनीहरूको जोडी मैले मिलाइदेको त हो’नि ! हेर्नु त दाइ, कस्तो गाढा प्रेम ?! … ३–३ वर्ष ढुकुरको जोडीझैँ कहिल्यै छुट्टिएनन्… एकअर्कालाइ पूर्ण भरोसा गरे । आज आएर आफ्नो प्रेम सफल बनाइछोडे । यसको श्रेय मलाई दिएका छन् । मैले त हो नि सुरुमा यी दुईलाई भेटघाट गराइदे’को ।’

‘सन्ध्या पनि विवाहित होइन र ?’- मैले असमञ्जसका साथ सोधेँ ।

‘हो … एउटा ६ वर्षको छोरो छ । छोरोलाई मै राख्छु भनेर सन्ध्याको बुढाले भन्यो रे … यहाँ एम्बेसीमार्फत डिभोर्स दिन ढिला हुने भएकोले उ एक हफ्ताअगाडि नै नेपाल गैसकेकी रहिछे । डिभोर्स गरेर आएपछि तुरुन्तै बिहे गर्ने रे… हिजो सुरज दाइले भन्नु’भाको … वहाँको पनि २–३ महिनापहिल्यै श्रीमतीसँग डिभोर्स भैसक्या रैछ ।’

सन्ध्यालाई त म त्यति राम्रोसँग चिन्दिनथिएँ तर सुरजको परिवारलाई भने एकदम राम्रोसँग चिन्दछु । अनायासै उसको बाँसको मुनाजस्ता कल्कलाउँदा दुई छोरीहरू आँखामा झल्झली नाच्न थाले । ६ महिनापहिले नेपाल जाँदा छिमेकी गाउँको सुरजको घरमा एकपल्ट भेटघाटको लागि पुगेको थिएँ । २ प्याकेट क्याडबरी चक्लेट देख्दा पनि बच्चाहरूमा खासै उल्लास नदेखेर त्यही बेलामा हल्का अचम्म लागेको थियो ।

‘भाउजु ! सुरजजीले चक्लेटैचकलेट पठाइदिनुहुन्छ कि क्याहो विदेशबाट ? नानीहरूमा चकलेटप्रति खासै उत्साह देखिन त !’ थोरै मुस्कुराउँदै सोधेँ ।

वहाँ सुरुवातदेखि नै यसै गम्भीर देखिनुहुन्थ्यो झन् मेरो सोधाइले आँखाको तेज नै फुङ्ग उड्या’जस्तो महशुस गरेँ । तापनि ओठमा कृत्रिम हाँसो जबर्जस्ती ल्याएर भन्नुभयो– ‘त्यस्तो त होइन बाबु… खोइ किन हो कुन्नी यिनीहरू अरु बच्चाजसरी गुलियोमा झुम्मिदैनन् .. तर मनै नपराउने भने होइन ।’

चियाबिस्कुट खाँदै करिव आधिघन्टा त्यहा बिताएँ । भाउजुमा आएको अत्यधिक गम्भीरपनले मलाई असहज महशुस भैरहेको थियो । मुखै फोरेर सोधेँ- ‘हजुर पहिला-पहिला यस्ती त हुनुहुन्थेन भाउजु… आजकाल किन यस्तो गम्भीर हुनुभएको ? इज एव्री थिङ अल राइट ?’

ओठहरू हल्का कामेको देखेँ । छुट्याउन नसकिने भाव वहाँको अनुहारमा तैरियो । केही भन्नु र नभन्नुको दोसाँधमा आफूलाई सहज पार्ने प्रयत्न गर्दै भन्नुभयो-

‘नो, नो ! एभ्री थिङ इज अल राइट । यही बच्चाहरू भन्यो, घर-ब्यवहार भन्यो, अनि बोर्डिङको जागीर … यी सबैले मलाई असमयमै बुढी बनायो भन्या … पैला जस्तो हाँस्नै बिर्सिसकेँ !’

हाउभाउ र गफगराइको तरिका देखेर बुझ्न गाह्रो भएन कि वहाँ केही कुरा लुकाउँदै हुनुहुन्छ तैपनि वातावरणलाई सहज बनाउने हिसाबले ठट्टा गर्दै भनेँ–

‘यो त भएन है भाउजु, उता सुरजजी झन्-झन् ह्यान्डसम हुँदै जानुभएको छ । तपाईं पनि आफूलाई मानसिक र शारीरिक रुपमा फिट राख्नु होला । कमसेकम वहाँ नेपाल आउँदा मिल्ने जोडी त देखिनु पऱ्यो !’

वहाँ फिस्स हाँस्नुभयो मात्र, केही बोल्नुभएन ।

म बिदा हुने तरखर गर्दै थिएँ, ठुली छोरीले पछाडिबाट आएर बिस्तारै मेरो हात समाइन् । आठ वर्षको बच्चीको कलिलो हात समाएर डोहो¥याउँदै घरदेखि करिव ५० मिटरको मूल बाटो नजिक पुग्न लाग्दा उनले भनिन्-

‘अंकल.., बाबालाइ भन्दिनु है हामीलाई नबिर्सनु रे भनेर !’

मन भावुक भएर आयो । जडवत उभिएर उनको अनुहार हेर्न थालेँ । उनी पनि उसैगरि मुन्टो उठाएर मलाई नै टुलुटुलु हेर्दै थिइन् ।

बिस्तारै घुँडा टेकेर उनलाई केही बेर अँगालोमा बाधेँ । अनि केही नबोली फटाफट बाटो लागेँ ।

हाल : भरतपुर-१२, चितवन