राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार विश्व बल्लभ सम्मानित

राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार विश्व बल्लभ सम्मानित



वरिष्ठ गीतकार विश्व बल्लभलाई शनिबार विराटनगरमा राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ । गीतकार सङ्घ नेपाल काठमाडौंद्वारा सुन्दरहरैचामा आयोजित ११औँ वार्षिकोत्सव एवं नवौँ स्रष्टा सम्मान एवं गीत विमर्श कार्यक्रममा उनलाई रु एक लाख ५१ हजारसहित सम्मान गरिएको हो ।

यसैगरी राष्ट्रिय मातृ भाषा गीतकार पुरस्कारबाट कृष्ण गुरुङ (लमजुङ)लाई रु २५ हजारसहित सम्मान गरिएको छ । नेपाली गीतलाई अमेरिकामा लोकप्रिय बनाउन योगदान पुऱ्याएका हरि उप्रेती (अमेरिका)लाई डायस्पोरा पुरस्कारबाट उनको प्रतिनिधित्व गर्ने मौसम पराजुलीलाई सम्मान गरिएको छ । यस्तै वर्ष गीत–२०७७ बाट रमेश दाहाललाई र वर्ष गीत सङ्ग्रहबाट गणेश श्रेष्ठलाई सम्मान गरिएको छ ।

सो अवसरमा पुरस्कार वितरण गर्दै प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले स्रष्टाका कला र साहित्यबाट नागरिक ऊर्जाशील हुने बताए । कला र साहित्य मुलुकको गहना भएको चर्चा गर्दै उनले यसको संरक्षण, संवर्द्धन गर्नु सबैको कर्तव्य भएको धारणा राखे । प्रदेश प्रमुख अधिकारीले कलाकार एवं साहित्यकार सधैँभरि स्वच्छ, निर्मल, कोमल भावनाको हुने हुनाले कसैले चोट दिएमा खोट नलगाउने क्षमतावान हुने धारणाअघि सारे ।

सङ्घका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष वसन्त थापालगायतले जीवित तथा अमरत्व प्राप्त गरेको स्रष्टाका सन्तानको सहयोगबाट अहिलेसम्म रु ५० लाखको अक्षयकोष स्थापनामा रकम प्राप्त भएको जानकारी दिए । कार्यक्रममा रकम सहयोग गर्ने स्रष्टाका सन्तानलाई सम्मान गरिएको थियो । सङ्घले यसअघि आठौँ स्रष्टा सम्मान कार्यक्रम चितवनमा गरेको थियो ।