आयातित नारा स्थापित गराउन काङ्ग्रेसले आत्मसमर्पण गऱ्यो : पीएल सिंह

आयातित नारा स्थापित गराउन काङ्ग्रेसले आत्मसमर्पण गऱ्यो : पीएल सिंह


‘२०४७ को संविधान अवैधानिक तरिकाबाट मार्नुको अर्थ जनताले बुुझ्दै छन्’

२०४६ सालको जनआन्दोलनका सर्वाेच्च कमाण्डर तथा काङ्ग्रेसका नेता गणेशमान सिंहका सुपुत्र पिएल सिंह अहिले न कुनै पदमा हुनुहुन्छ न त काङ्ग्रेस पार्टीमै । पदभन्दा ‘कज’ र बोली भन्दा ‘एक्सन’का लागि जीवनका ६ दशक लड्नुभएका ७८वर्षीय सिंह सर्वसाधारण, सञ्चारकर्मी र काङ्ग्रेसकै कार्यकर्तामाझ पनि प्रिय हुनुहुन्छ । उहाँले नेपालमा गणतन्त्र स्थापना नहुँदै जनआन्दोलन ०६२/०६३ अगाडि नै प्रजातन्त्र खानेले लोकतन्त्र दिन सक्दैनन् भन्ने विचार लेख्दै त्यसैमा वकालत गदैँ आउनुभएको छ । त्यसकारण देशमा संविधान कार्यान्वयन नभएको र वास्तविक लोकतन्त्र आउन नसकेको बताउने उहाँ ०४७ सालकै संविधानलाई पुनःस्थापित गरि समयसुहाउँदो हिसाबले परिमार्जन गरेर लागू गरेमा मात्रै देशमा प्रजातन्त्र कायम हुन्छ भन्ने अडान राख्नुहुन्छ । ‘पिपुल म्यान’को रूपमा चिनिने उहाँ एउटा निष्ठा, इमान्दार र स्वच्छ राजनीति गर्न रुचाउँछु भन्नुहुन्छ । आदर्श महापुरुषका सुपुत्र पीएल सक्रिय रुपमा राजनीतिमा नभए पनि उहाँ देशमा प्रजातन्त्रको स्वाद चखाएको २०४७ सालको संविधानलाई मृत्युवरण गराएर नयाँ संविधान ल्याइ देशमा गणतन्त्र स्थापना हुनु विधि र संविधानविपरीतका कार्य भएकोे ठोकुवा गर्नुहुन्छ । जनताको बलीदानबाट प्राप्त प्रजातन्त्र रक्षा गर्ने २०४७ सालको संविधान मास्नु र विदेशीको इशारामा देशमा गणतन्त्र र धर्म निरपेक्षता स्थापित गर्नुले देशमा प्रजातान्त्रिक विधि र प्रकृया मासिएको र यसले देशलाई बर्बादीको दिशामा धकेल्ने निश्चित रहेको उहाँले उहिल्यैदेखि बताउँदै आउनुभएको छ । अहिले संविधानको सही कार्यान्वयन हुन नसकेको र विरोधमा संविधानका पानाहरू जल्दै गर्दा उहाँले उठाउँदै आएका यी मुद्धा विचारणीय र महत्वपूर्ण छन् । उहाँसँग यी र यस्तै विषयमा केन्द्रित रहेर केही समयअघि गरिएको कुराकानी :

० संविधान २०४७ सालको संविधान किन मारियो ?

– नेपालमा पहिलो पटक नेपाली जनता र नेता मिलेर शान्तिपूर्ण आन्दोलन गरी राजालाई पनि सहमतिमा लिएर बल्ल २०४७ सालको संविधान बनेको थियो । यहाँका नेताले दिल्लीमा सहमति गरेर ल्याएको संविधान थिएन त्यो । भारतको डिजाइन तथा उसँगको सम्झौताविना यहाँका जनता र नेता अनि राजाको नैतिक बलमा २०४७ को संविधान आएको हो । यस्तो संविधानलाई परायाको आँखा लाग्नु र परायाभक्तिमा रमाउनेहरूले सिध्याउनु अनौठो कुरा होइन ।

० यसलाई मार्नुको खेलचाहिँ के हो त ?

– यसमा नजिककै छिमेकीको खेल छ । म राजा ज्ञानेन्द्रले कार्यकारी अधिकार दिएपछि मन्त्री भएको व्यक्ति हुँ तर उनले लिएको त्यो कदम चाहिँ असंवैधानिक छ भनेर भन्ने व्यक्ति मै थिएँ । प्रजातन्त्र भनेको विश्वास आस्था अनि संविधान हो । तर राजा र सात पार्टी मिलेर जनताको संविधान खान पाइँदैन । यसमा जनतामाझ जानु पर्दछ भन्ने म थिएँ । राजा ज्ञानेन्द्रलाई तपाईंले संविधानको बलात्कार गर्नुभयो भनेर मैले आँटका साथ भनेको थिएँ । जनआन्दोलन १ र २ भन्ने पनि हुन्छ ? त्यस्तो कुनै देशमा पनि भएको छैन । यो त आइएनजीओ र एनजीओको नारा थियो । उनीहरूको एजेण्डा मात्रै स्थापित गरिदियो त्यस आन्दोलनले । भनेपछि ०४७ को संविधान बध गर्नुको तात्पर्य मिलाएर बुझ्नुस् ।

० नेपाली काङ्ग्रेसका नेताहरू बिपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराईले प्रजातन्त्रका लागि पुऱ्याएको योगदान र बलिदानलाई नेपाली काङ्ग्रेसले बिर्सिएरको हो ?

– उहाँहरूको योगदानलाई काङ्ग्रेसले पूरै बिर्सेको छ । हिजोजस्तो काङ्ग्रेस अहिले सिंगो र संगठित छैन । हिजो कृष्णप्रसाद र गणेशमान जस्ता नेताले किन काङ्ग्रेस छोड्नु पऱ्यो । विभिन्न गुट, उपगुटमा काङ्ग्रेस बाँडियो र छिन्नभिन्न भएको छ । प्रजातन्त्रमा विरासतको राजनीति हुँदैन तर काङ्ग्रेसमा यो हाबी छ । नेताले जनता र कार्यकर्ता दुवैलाई हेर्नुपर्छ तर काङ्ग्रेसभित्र यो परिपाटी बसेको छैन । यसकारण काङ्ग्रेस पार्टीमा मात्रै होइन आमजनताले पनि काङ्ग्रेसबाट केही पाउन सकेनन् । नेताहरूले बोलेपछि गर्न सक्नु पर्दछ । अहिले जे मन लाग्यो बोल्ने तर केही नगर्ने नेताको जमात काङ्ग्रेसमा छ । नेता नै भएनन् काङ्ग्रेसमा । नेताले जनता र देशको हितमा अडान लिन्छ तर काङ्ग्रेसका नेताले केही अडान लिन सकेनन् । २००७ साल देखिको उपलब्धि भनेको २०४७ सालको संविधान थियो । यति लामो संघर्षपछि प्राप्त गरेको प्रजातान्त्रिक संविधान मास्न काङ्ग्रेसका नेताहरू जिम्मेवार छन् । काङ्ग्रेस नीति र सिद्धान्तविनाको पार्टी बन्न पुग्यो । आयातित नारा र मागलाई स्थापित गराउन काङ्ग्रेसले आत्मसमर्पण गऱ्यो ।

० देशमा गणतन्त्र स्थायी रूपमा टिक्छ जस्तो लाग्छ त यहाँलाई ?

– देशले नयाँ संविधान पाएको भनिए पनिसरकार फेरिने काम मात्रै भएको छ । मान्छे र राजनीतिक शक्ति टेस्ट भइसकेका र जनतामा असन्तुष्टि बढेकोले टिक्ने अपेक्षा गर्न सकिन्न ।

० यहाँले भन्दै आउनुभएको प्रजातन्त्र खानेले लोकतन्त्र दिन सक्दैनन्, जनताले लोकतन्त्रको आश नगरे हुन्छ त ?

– वास्तविक लोकतन्त्र कहाँ छ नेपालमा देखाउनुस् त ! लोकतन्त्र संविधानको शब्द र बोलीचालीमा मात्रै छ । लोकतन्त्र भनेको विधिको शासन हो, तर यहाँका जनता र नेताले ल्याएको संविधान विधि र प्रकृयाविनै हत्या गरियो । यदि संविधान फाल्नु थियो भने जनताको जनमत लिएर गर्नु पर्दथ्यो । संविधान फ्याँक्नु थियो भने संवैधानिक प्रक्रिया र बाटोबाटै फ्याँक्नु पर्दथ्यो । ०६२ सालको आन्दोलन राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध थियो, तर संविधानलाई नै प्रजातान्त्रिक विधि र प्रक्रियाविनै फालियो । एनजिओ र आइएनजीओको नारा स्थापित गराउने काम त्यो आन्दोलनले गऱ्यो । प्रजातन्त्र भनेको विधिको शासन हो । बेलायतमा प्रजातन्त्र छ तर संविधान छैन भने नेपालमा किन चाहियो ? अहिले डिभाइड एण्ड मिस रुल भयो, यो उचित होइन प्रजातन्त्रमा । प्रजातन्त्रमा डर पनि हुन्छ भर पनि हुन्छ जनतामा । नेपालमा वास्तविक प्रजातन्त्र स्थापित हुन सकेको छैन ।

० अहिलेको संविधान जनताले पचाउँदैनन् भन्न खोज्नुभएको ?

– सत्य कुरा छिप्दैन, ढिलो-चाँडो जनताले थाहा पाउनेछन् यो संविधान किन आयो र कसका लागि भनेर !

० २०४७ सालको संविधान उपयुक्त हो भन्ने कुरा भारतले पनि महशुस गरेको कुटनीतिक वृत्तबाट आइरहेको छ, के भारतले २०४७ सालको संविधान पुनस्थापित गराउन चाहेको हो त ?

– कुन व्यवस्था अँगाल्ने भन्ने कुरा नेपाली जनता र नेताको विवेक एवम् निर्णयमा निर्भर हुनुपर्नेमा अहिले नेताहरू परायाको एजेन्ट बनेका छन् । त्यसले गर्दा व्यवस्था कस्तो राख्ने र फाल्ने भन्ने उतैको निर्देशनमा नेताहरूले काम गरेको छिपेर छिप्दैन । यो अलि ढिलो भयो । उनीहरू अहिलेको राजनीतिक व्यवस्थामा छिरेपछि अन्यौलमा परेको प्रष्टै हुन्छ । कुटनीतिक रुपमा मिलाउन पनि ०४७ सालको संविधान अपरिहार्य देख्दैछु । ‘वान पिल्लर टु सिस्टम’ नै ठीक थियो भन्ने बल्ल महशुस उसले गरेको छ । उनीहरूले यहाँ नयाँ व्यवस्थाको टेस्ट मात्रै गरेको प्रमाणित हुँदैछ । संघीयता, समावेशीता र धर्मनिरपेक्षता आयातित कुरा थिए । हामी मधेशी पहाडे मिलेका मान्छेलाई खलबल्याउने काम उनैले गरे ।

० किटेरै भनौँ न- नेपालको संविधान २०७२ ले स्थायित्व लिन सक्दैन होइन त ?

– तत्कालिक सात पार्टी भारतका एजेन्ट बने । उनीहरूले एक वर्षमै संविधान ल्याए तर कुन हिसाबले ल्याए ? राजनीतिक दलमा नैतिकता र इमान्दारिता भएन । खाली अराजकता देखियो । यस्तोमा संविधानले स्थायित्व पाउला भन्ने के छ आधार ? संविधानको कार्यान्वयन नहुँदै जनता राजनीतिक दलप्रति रुष्ट बने । लोकतन्त्र र प्रजातन्त्र उही हो खाली शब्दमा मात्रै फरक छ । पार्टीहरू मिलेर मिलीजुली खाएका छन्, यसलाई स्वच्छाचारीता नभनेर के भन्ने ? बोल्ने र तर काम नगर्ने प्रवृत्ति हाबी भयो, यसैलाई लोकतन्त्र भन्ने संविधान कार्यान्वयन भएको मान्ने ? अनि देशमा प्रजातान्त्रिक व्यवस्था छ भन्ने ? यी सबै कुरा जनताले बुझ्न थालेका छन् ।

० अब प्रजातन्त्र कसरी बलियो बन्छ ? देशमा राजनीतिक स्थायित्व आउँछ त ?

– स्मार्ट मोवाइल भएर भएन अहिलेको समयमा त्यसलाई चलाउन जान्ने सीप पनि चाहियो । देशलाई कसरी बनाउने र चलाउने भन्ने कुरा सोचविचार र काम गर्ने कुरा नेपाली जनताकै हातमा छ । दशकौँको दौरानमा नेपाली राजनीतिले दिएको पाठ के हो भने नेताहरू विदेशीको एजेन्टका रूपमा काम गर्दाको परिणाम नेपाली जनताले भोगिरहेका छन् । नेपाली जनताले दृढभावका साथ चाहेमा प्रजातन्त्र अवश्य स्थायी रूपमा अगाडि बढ्छ, अन्यथा… जे पनि हुन सक्छ ।

प्रस्तुति : गोविन्द लुईंटेल