‘हामी जितका लागि खैल्नेछौँ’ : राइनोज

‘हामी जितका लागि खैल्नेछौँ’ : राइनोज



शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको एभरेष्ट प्रिमियर लिगको पछिल्लो संस्करणमा आफूहरूले बलियो दाबेदारी प्रस्तुत गर्ने पोखरा राइनोजले जनाएको छ ।

राइनोजद्वारा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टिम म्यानेजर दीपासिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दाबी गरिन् । ‘यसपटक टिम मजबुत पार्न हामीले अक्सनदेखि नै ध्यान पुऱ्याएका छौँ, टिममा अलराउण्डर खेलाडीको बर्चश्व छ’– उनले भने ।

‘यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ र पनि राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु’– टिम वनर समेत रहेकी अग्रवालले बताइन् । उनले राइनोजले सुन्दर शहर पोखरालाई छातीमा टाँसेल मैदान उत्रन लागेको जानकारी दिँदै पोखरेलीहरूको साथ र माया पाउने अपेक्षा रहेको उल्लेख गरिन् ।

जम्प नेशनको स्वामित्वमा रहेको राइनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ । जसअन्तर्गत उसले विगतको प्रस्तुतिलाई अध्ययन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सुखद नतिजा निकाल्ने अभियानमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल, टिम क्याप्टेन बिनोद भण्डारी, बलिङ्ग कोच शक्ति गौचन, फिल्डीङ्ग कोच रिजन प्रजु लगायतले यसपटक राइनोजको टिम चौतर्फी रुपमा सन्तुलित भएको बताए ।

राइनोजले नेपाली मार्की खेलाडी राष्टिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्व कपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेष्ट इन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ । पत्रकार सम्मेलनमा विदेशी खेलाडीहरुले राइनोजमा आवद्ध भएर नेपालमा प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको बताएका थिए ।