देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेता कार्यकर्ता रिले अनशनमा

देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेता कार्यकर्ता रिले अनशनमा


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका गृहजिल्ला डडेल्धुराका कांग्रेस नेता तथा कार्यकर्ताहरू रिले अनशनमा बसेका छन् । धाँधलीपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरण गरेर जबर्जस्ती वडा अधिवेशन गराइएको भन्दै नेपाली कांग्रेस डडेल्धुराको संस्थापन पक्षका नेता–कार्यकर्ताहरु बिहीबारदेखि रिले अनशनमा बसेका हुन् ।

वडा अधिवेशन प्रक्रिया रद्द गर्न केन्द्रीय कार्यसमिति र केन्द्रीय निर्वाचन समितिमा औपचारिक जानकारी गराए पनि सुनुवाई नहुँदा बाध्य भएर अनशनमा बस्नु परेको डडेल्धुरा कांग्रेसका उपसभापति करूणाकर भट्टले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

‘क्रियाशील सदश्यहरुको अधिकार पुनर्बहाली नभएसम्मका लागि आन्दोलनस्वरुप असोज २ गतेको जिल्ला कार्य समितिको आधिकारिक र बहुमतको निर्णयअनुसार रिले अनसनमा छौंँ, हामीले धैर्य गरेर केही दिन पर्खिएका पनि हौँ, पुनरावलोकन हुने वा पीडितलाई न्याय दिने कुनै छनक देखिएन, यस्तो गम्भीर विषयमा पनि नेतृत्वले बेवास्ता गरे वा पेलेर लगे कडा रुप लिनुपर्ने अप्रिय निर्णय गर्न बाध्य नपारियोस् भन्ने आग्रह पनि गर्दछौँ’, उपसभापति भट्टले पत्रकार सम्मेलनमा बताए ।

‘हटाइएका क्रियाशील सदस्यता कायम गर, अवैधानिक ढंगले थपिएका सदस्यता खारेज गर, कथित अवैधानिक वडा अधिवेशन बदर गर, वैधानिक वडा अधिवेशनको मिति तय गर भन्ने माग राख्दै एकपक्षीय गरिएको वडा अधिवेशनलाई मान्यता नदिन हामीले केन्द्रीय समिति र निर्वाचन समिति दुवै निकायलाई लिखित जानकारी पठाएका छौँ, पालिका अधिवेशनको नजिक आइपुग्दासम्म पनि कुनै जवाफ नआएपछि अनशन बस्ने निर्णयमा पुगेका हौँ’– सभापतिका प्रत्यासी हरिप्रसाद भट्टको भनाइ छ ।

पार्टी सभापति देउवाको निर्देशनमा जिल्लाबाट पठाइएको क्रियाशील सदस्यहरूको नाम काटेर केन्द्रबाट नाम थप गरिएको विरोधमा जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गर्ने निर्णय हुँदाहुँदै डडेल्धुरामा भाद्र २५ गते वडा अधिवेशन गरिएको थियो ।