गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड


प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज प्रतिपदा तिथि श्राद्ध गरेसँगै सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिएको छ । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लागेको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर भक्तजन नदी किनारमा जम्मा भएका छन् ।

आफ्नो घरभन्दा बाहिर बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । कारणवश श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

त्यसपछि पनि सोह्र श्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ, नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ शुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ ।