यिनै हुन्

यिनै हुन्


  • चट्याङ मास्टर

बैठक बोलाए, पनि आउने यिनै हुन्
भोटै खसाले, पनि पाउने यिनै हुन्
यिनै थे यिनै छन्, रहने यिनै हुन्
तपाईंको यो हालत, बनाउने यिनै हुन् ।

व्यवस्था नढल्दा, जोगाउने यिनै हुन्
ढल्यो त्यो पछि जब, ढलाउने यिनै हुन्
पुराना ती कैदी, मिसाएर हुलमा
प्रजातन्त्र उठ-बस गराउने यिनै हुन् ।

कति हेर्नु नाटक ? देखाउने यिनै हुन्
कता केको व्याख्या ? गराउने यिनै हुन्
विषालु मीठा भ्रम, नयाँ फेरि ल्याइ
तपाईंको त्यो टाउको, चपाउने यिनै हुन् ।

अझै आस लाग्छ ? लोभ्याउने यिनै हुन्
सिरिफ आफ्नु दुनु, सोझ्याउने यिनै हुन्
नगर्नोस् भो गाली, तपाईं अहिले यिनलाई
मैले ‘नि नमस्ते चढाउने यिनै हुन् ।
(‘चटयाङ् गीता’बाट)