अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह



यस्तो छ शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उपप्रमुख स्थायी प्रतिनिधि दाइ बिङले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । ‘आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ’- उनले भनेका छन् ।

हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उनको धारणा छ । अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पुऱ्याउनु पर्ने उनले बताए ।

चिनियाँ दूत दाइ बिङले अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरु जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समूदायलाई आग्रह गरेका सिन्ह्वाले जनाएको छ । अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रमहरु लिएर जानुपर्ने उनको भनाइ छ ।

यस्तै, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो ।

हाल इस्लामावादको भ्रमणमा रहेका शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको उल्लेख गर्दै भनेका छन्- ‘हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरु पनि विश्व समुदाय यहाँको अवस्थाको बारेमा जानकार रहने तथा आवश्यक सहयोगका लागि लाग्नुपर्ने देखिन्छ ।’

हाल अफगानिस्तानको अन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरुले काम गरेको धारणा उनले राखे । अफगानिस्तानमा अहिले पनि ठूलो संख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो परेको भन्दै उनले यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने बताए । उनका अनुसार अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको छ ।