उपाधि जितेपछि भरतमणिले भने- ‘पूर्वयुवराज पारसलाई भेट्ने इच्छा छ’

उपाधि जितेपछि भरतमणिले भने- ‘पूर्वयुवराज पारसलाई भेट्ने इच्छा छ’


  • राजन घिमिरे

कमेडी च्याम्पियन सिजन-२ को उपाधि भरतमणि पौडेलले चुमेका छन् । पछिल्लो पटक पूर्वयुवराज पारस शाहको गेटअप र हाउभाउंका साथ स्टेजमा उत्रिएपछि भरतमणिको चर्चा उत्कर्षमा पुगेको थियो ।

शनिबार मध्यरातमा जब कमेडी च्याम्पियन सिजन-२ को उपाधि भरतमणिले जितेको घोषणा गरियो, विशेषतः उनको जन्मथलो ताप्लेजुङमा खुशी र हर्षको दीप प्रज्ज्वलित गरिएको थियो । आफ्नो नाम घोषणा हुनासाथ हर्षविभोर बनेका भरतमणिले भने- ‘मलाई यो स्थानमा पुर्‍याउनुहुने सबैमा नमन गर्दछु । देश तथा विदेशमा रहेर मेरो सफलताको कामना गर्नुहुने र मेरो प्रस्तुति मन पराएर भोट गर्दै मेरो बारेमा सकारात्मक सन्देश प्रवाह गरिदिनु हुने सबैमा हार्दिक आभार प्रकट गर्दछु ।’

विजेता भरतमणिले थपे- ‘हास्य कलाकरितामा लागेर एउटा सपना पुूरा गर्ने र खास उचाइ समात्ने मेरो धोको तथा अभिलाषामा यो उपाधिले ज्यान भरेको छ ।’

कुनै समय भरतमणि पौडेलको क्षमता, दक्षता र प्रतिभा सीमिततामा गुम्सिरहेको थियो । अथाह क्षमता हुँदाहुँदै पनि यी प्रतिभाशाली कलाकार सीमितताको परिधिभित्रबाट बाहिर आउंन नसक्दा कतै यी प्रतिभा हराउने त होइनन् ? कथित कलाकर्मीहरूको भीडमा बिलय हुने त होइनन् ? उनका प्रशंसकहरूलाई यस्तै डर थियो । तर केही समययता आएर भरतमणिका प्रशंसकहरूको मनबाट यस्तो त्रास हराउन थालेको छ । पछिल्लो समय बहुचर्चित हास्य रियालिटी शो ‘कमेडी च्यान्पियन सिजन-२’ मा जोडिएपछि भरतमणि साँच्चिकै मणि जस्तै सबैको चहेताको पात्रमा परेका छन् ।

कला प्रशंसकहरूमाझ यतिबेला भरतमणिलाई पारस शाहको फोन आएको कुरा निकै भाइरल भैरहेको छ । तर, यसलाई भरतमणिले भने स्विकार गरेनन्, यसबारे स्पष्टीकरण दिँदै उनले भने- ‘मलाई उहाँको सिधा फोन आएको छैन । उहाँको नजिकका महानुभावहरूले भने राम्रो गर्नुभयो, सरकारले पनि हेरिबक्स्यो भन्नुभयो । ज्यादै खुशी लागेको छ । एक पटक पूर्वयुवराजलाई भेटेर कुरा गर्ने मन छ ।’

आज भरतमणि उनको जन्मस्थान ताप्लेजुङ र त्यसवरपर मात्र नभइ समग्र नेपाल र नेपालीहरू रहनुहुने प्रवासमा पनि चिनिन थालेका छन् । गाउँको किसानका छोरा भरतमणिले उपाधि जितेसंगै आज उनको चर्चा र शान साँच्चिकै लोभलाग्दो हुन पुगेको छ । भरत भन्छन्- ‘म बजारमा के कुराको माग र चासो बढी छ, त्यस्ता चासो र क्रेजलाई कमेडीको विषय बनाउँछु ।’

ताप्लेजुंग फुङ्लिङ नगरपालिका-७ का पौडेल महजोडी, मनोज गजुरेल र सीताराम कट्टेल ‘धुर्मुस’को औंधी फ्यान हुन् । नेपालमा हास्यकलाकारिता सुरुचिपूर्ण, दीगो र टिकाउ बनेको ठान्छन् उनी । जीवनभर हांस्यकलाकरिता विधालाई नछोड्ने र यसैमार्फत करोडौँ नेपालीको मन र दिमागमा बस्ने अठोट लिएका छन् उदीयमान कलाकार भरतमणिले ।