एमाले एक ढिक्का रहेको भीम रावलको जिकिर

एमाले एक ढिक्का रहेको भीम रावलको जिकिर



नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने जिकिर गरेका छन् ।

मंगलबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको जानकारी दिँदै नेता रावलले जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले सो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको बताए । १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी ओली गम्भीर नभएको र यसबाट रावल असन्तुष्ट बनेको जस्ता अपुष्ट कुराले सार्वजनिक सञ्जालमा स्थान पाएकै सन्दर्भबीच रावलले एमाले एक ढिक्का रहेको अभिव्यक्ति दिएका हुन् ।

पार्टीमा फुट ल्याउन चाहने तत्वहरु विभिन्न कोणबाट सक्रिय रहेकाले यस्ता भ्रामक कुरामाथि विश्वास नगर्न उनले आग्रह गरेका छन् ।

एमालेमा यतिबेला पैदा भएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै ठूलो नोक्सानी नपर्ने र खास समस्या नहुने नेता रावलको भनाइ थियो ।एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) बनेको पार्टीले एमसीसीबारे आफ्नो प्रष्ट धारणा नल्याएको आरोप पनि उनले लगाए ।

आफूलाई नेकपा (एकीकृत समाजवादी)मा लाग्न विकास योजना र पद दिन खोजिएको खुलासा गर्दै उनले आफूहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको र त्यस्ता प्रलोभनमा परेर आफ्नो मार्गबाट बिचलित नहुने प्रतिबद्धता जनाए ।

उनले भने, ‘कतिपयलाई कांग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन ।’ आफू अहिले पनि एमाले पार्टीको उपाध्यक्ष र प्रदेश संयोजक भएको दाबीसमेत रावलले गरे ।

file photo