२९ भाद्र २०७८, मंगलवार

नेपालमा पहिलो पटक ‘बजेट होलिडे’को सम्भावना

  प्रकाशित मिति
२९ भाद्र २०७८, मंगलवार १०:५१



अर्थमन्त्री भन्छन्, ‘सरकारको खर्च केही दिन रोकिन सक्छ’

सभामुखको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोध गरेबाट विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने अभिव्यक्ति दिएका छन् ।

नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो । अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’का रुपमा लिइन्छ । अघिल्लो सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गत साउन ४ गते सङ्घीय संसदमा पेश भएको थियो ।

अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ । त्यस आधारमा बुधबारसम्म विनियोजन विधेयक पारित गरिसक्नुपर्ने थियो । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले निरन्तर अवरोध गरिरहेको छ । आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको छ । अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिँदै नियमित प्रक्रियाबाटै बजेट पारित गरिने बताए ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गतेका लागि राखिएको छ । अर्थमन्त्रीले राजस्व उठाउने विषयमा कुनै अवरोध नहुने र नियमित नै हुने जानकारी दिए । ‘पाँच/सात दिन खर्च गर्न नहुन सक्छ । राजस्व सङ्कलनमा भने कुनै अवरोध हुँदैन’, अर्थमन्त्री शर्माले भने ।

पेश्की विधेयक ल्याउन लाग्नुभएको हो र भन्ने सञ्चारकर्मीको जिज्ञासमा अर्थमन्त्रीले त्यसतर्फ सरकारको कुनै सोच नरहेको उल्लेख गर्दै एकाध दिन खर्च गर्न नपाए पनि नियमित प्रक्रियाबाटै विनियोजन विधेयक पारित गरिने बताए ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश गत साउन ३ गते संसद्मा पेश गरिएको थियो । विपक्षी एमालेको चर्को नाराबाजीका बीच अर्थमन्त्री शर्माले यही भदौ २५ गते संसद्मा प्रतिस्थापन विधेयक पेश गरेका थिए । अर्थमन्त्रीले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताउनु भए पनि सदनमा एमालेको अवरोध जारी छ । सोमबार सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले सहभागी भएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

श्रीविक्रम भण्डारी दिवंगत ‘रुक्मशम्शेर राणा’को जीवनलाई मिहीन रूपले नियाल्दा ज्यामिति अध्ययनमा प्रयोग हुने सामग्री ‘प्रोट्रेक्टर’का आधारमा व्याख्या गर्न सकिन्छ ।

सुरेश धामी, बझाङ महेन्द्रनगरबाट छुटेको यात्रुवाहक बसमाथि गुडिरहेकै अवस्थामा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ भने अन्य तीन जना

इलेक्ट्रोनिक्स ब्राण्ड TCLले नेपालीहरूको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘यस दशैँ तिहार, TCLमा क्यासब्याक र बम्पर उपहार’ नामक

माधवलाई नेता गुरुङको कटाक्ष-‘एमालेको महासागरबाट दुई लोटा पानी लगेर ओली सिध्याएँ भन्नु मुर्खतापूर्ण’ नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेशका