राजनीति, उद्योग र खेलकुदका त्रिवेणी रुक्मशम्शेर : अल बिदा !

राजनीति, उद्योग र खेलकुदका त्रिवेणी रुक्मशम्शेर : अल बिदा !


  • श्रीविक्रम भण्डारी

दिवंगत ‘रुक्मशम्शेर राणा’को जीवनलाई मिहीन रूपले नियाल्दा ज्यामिति अध्ययनमा प्रयोग हुने सामग्री ‘प्रोट्रेक्टर’का आधारमा व्याख्या गर्न सकिन्छ । कहिले उहाँ १८० डिग्रीको कोणमा देखिनुहुन्थ्यो भने कहिले ३६० डिग्रीको । र पनि, उहाँ सबै कोण वा डिग्रीमा त्यत्तिकै सफल र स्पष्ट हुनुहुन्थ्यो । राजनीति, उद्योग र खेलकुद तीनै क्षेत्रमा एकैचोटि सक्रिय हुनु रुक्मशम्शेरको लागि आफैमा चुनौतीपूर्ण थियो । अझ त्यसलाई अभिन्न अङ्ग मानेर अगाडि बढ्नु कुनै दुःस्साहस भन्दा कम थिएन । यस्तो चुनौतीको अवस्थामा समेत जुन साँचोमा उहाँले आफूलाई ढाल्नुभयो, त्यो प्रशंसनीय मात्र नभइ दूरदर्शिताकै द्योतक पनि हो । राजनीति रुक्मशम्शेरले विरासतमै पाउनुभयो, उद्योग ब्यवसाय पनि उहाँको पारिवारिक पेशा नै थियो । त्यस्तै जीवनको उत्तरार्द्ध लाग्दै गर्दा (५८ वर्ष उमेरमा) ‘खेलकुद’ हाँक्न र युवाहरूलाई मार्गनिर्देश गर्न राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको जिम्मेवारी पाउनुले पनि उहाँको व्यक्तित्व कस्तो थियो सोझै अनुमान लगाउन सकिन्छ ।

१२ मार्च १९३६ मा जन्मिनुभएका रुक्मशम्शेर क्रान्तिकारीहरूको जमातमा हुर्किनुभयो । उहाँले किशोर उमेरमै प्रजातन्त्र र प्रजातान्त्रिक आन्दोलनबारे धेरै बुझिसक्नु भएको थियो । बुबा सुवर्णशम्शेर राणा राणाविरोधि आन्दोलनमा सक्रिय भएदेखि नै उहाँलाई राजनीतिक चेतनाले घचघच्याउन थालिसकेको थियो । राणाकालमा सत्ताशीन (त्यतिखेरका ‘ए’ क्लासका राणा परिवारहरू)बाट लखेटिएपछि सुवर्णको परिवार भारतको कोलकत्तामा बस्न थाल्यो । रुक्मशम्शेर त्यहीँ जन्मिनुभयो । नेपालमा प्रजातान्त्रिक आन्दोलनको श्रीगणेश पनि त्यहीँबाट भयो । सुवर्णको नेतृत्वमा रहेको दुई अलग-अलग समुह मिलेर नेपाली काङ्ग्रेसको जन्म भयो । नेपाली काङ्ग्रेसको पहिलो सम्मेलन रुक्मकै काकाको सिनेमाहलमा भएको थियो र, उहाँले ०७ सालको सशस्त्र क्रान्तिका निम्ति भएको तयारी नजिकबाट देख्नुभएको थियो । क्रान्ति सफल भयो, नेपालमा प्रजातन्त्रको उदय भयो, त्यसपछि पुर्ख्यौली थलो वीरगञ्ज र कोलकाताबीच आतेजाते चलिरह्यो ।

रुक्मले देहरादुनबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । दार्जिलिङबाट बीए र कोलकोताबाट इतिहासमा एमए गर्नुभयो । पछि अमेरिको वासिङ्टनस्थित दुई युनिभर्सिटी (प्रिन्सेटन युनिभर्सिटी न्यू जर्सी र अमेरिकन युनिभर्सिटी वासिङ्टन डीसी)बाट ‘दक्षिण एसियाको राजनीति’ विषयमा डिप्लोमा कोर्स पूरा गर्नुभयो । उहाँभित्र राजनीतिक चेतनाले धेरै अघि जरो गाडे पनि उहाँ शुरुमा राजनीतितिर त्यति सक्रिय हुनुभएन । रुक्मको जेठो दाइ कनकशम्शेर सेनामा हुनुहुन्थ्यो । महिलो दाइ कञ्चनशम्शेरचाहिँ बुवाको सक्रिय सहकर्मीको रूपमा राजनीतिमा निर्लिप्त हुनुहुन्थ्यो । ०१७ सालको काण्डपछि सुवर्णले भारतमा बसेर सशस्त्र संघर्ष सञ्चालन गर्नुभयो । ठाउँ-ठाउँमा सशस्त्र आन्दोलनहरू भए, कञ्चनशम्शेर त्यो आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । तत्कालिन सरकारले कञ्चनलाई भेट्नासाथ मृत्युडण्ड दिने फैसला गरेको थियो । पछि पञ्चायती सरकारद्वारा समातिनुअघि नै उहाँको निधन भयो । रुक्म र कञ्चनको उमेरमा केवल १७ महिनाको अन्तर थियो । उहाँहरूमा दाजुभाइ भन्दा पनि साथीभाइको जस्तो व्यवहार थियो । त्यस्तो घनिष्ट मित्रको अवसानपछि रुक्ममा अर्कै हुटहुटी जाग्यो । उहाँले दाजुको लक्ष्यलाई साकार पार्ने संकल्प गर्नुभयो र सक्रिय राजनीतिमा होमिनुभयो ।

बीच-बीचमा उहाँ आफ्नै पैतृक पेशा उद्योग ब्यापारमा उत्तिकै सक्रिय रहनुभयो । प्रजातन्त्रको पुनर्स्थापनापछि रुक्मको जीवनले अर्को मोड लियो र उहाँ राष्ट्रियसभाको सदस्यमा मनोनित हुनुभयो । यस्तै, उहाँलाई खेलकुद क्षेत्रको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने प्रस्ताव आयो । उहाँले सुन्नुभएको थियो, पञ्चायतकालमै राष्ट्रिय खेलकुद परिषद् बदनाम र अस्तव्यस्त भइसकेको छ । उहाँ लिउँ कि नलिउँ भन्ने अन्योलमा पर्नुभयो । पछि नेकाका नेताहरूले ‘हामीले नै तपाईंलाई छानेका हौँ, तपाईं त्यहाँ जानुपर्छ र आफ्नो खुबी देखाउनुपर्छ, भनेपछि उहाँले खेलकुद परिषद्को जिम्मेवारी स्वीकार्नुभयो । उहाँले यसलाई साधारण जिम्मेवारी मात्रै नठानी खेलकुदको कालापलट गर्ने सोच बनाउनुभयो । पछि उहाँ भन्ने गर्नुहुन्थ्यो- ‘म त खेलकुदकै विकास र बिस्तार गर्नको लागि जन्मिएको रहेछु ।’

रुक्मशम्सेरले खेलकुदभित्र पनि अनेक उतारचढाव र क्रिया-प्रक्रियाहरू देख्नुभयो । नेकपा एमालेको सरकार आएपछि उहाँलाई परिषद्को सदस्यसचिवबाट हटाइयो । उहाँले सरकारको त्यो निर्णयको विरुद्धमा सर्वोच्चमा मुद्दा दायर गर्नुभयो । अदालतले पुनर्वहाली गराउनु भन्ने आदेश दियो । यसमा उहाँले नैतिक विजय प्राप्त गर्नुभए पनि त्यो विजय सरकार परिवर्तनसँगै खेलकुद परिषदमा हुने राजनीतिकरणको सेरोफेरोमा अहिले पनि अल्मलिरहेको छ । यो विचमा उहाँ नेपाल ओलम्पिक कमिटीको अध्यक्ष बन्नुभयो । सोही समयमा रुक्मले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष बन्नुभएको थियो ।

आफ्नो कार्यकुशलताकै कारण उहाँले तत्कालिन समयमा केही अन्तर्राष्ट्रिय जिम्मेवारी पनि पाउनुभयो । उहाँ फिफाअन्तर्गतको एक समितिको सदस्य, ओलम्पिक रुल्स कमिटीको सदस्य र एसियन फुटबल कन्फेडेरेशन मिडिया कमिटीको उपाध्यक्ष बन्नुभयो । नेपाल ओलम्पिक कमिटीको महासचिव हुँदै दुई कार्यकाल अध्यक्षको भूमिकामा रहनुभएका रुक्मले ओलम्पिक आन्दोलनमा विशेष भूमिका निभाउनुभयो । साथै सन् १९९९ मा नेपालमा भव्य रूपमा आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) सफलताका सम्पन्न गराएकोमा त्यसैको पुरस्कारस्वरुप ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले उहाँलाई ओलम्पिकको सबैभन्दा सम्मानित अवार्ड ‘म्यारिट अवार्ड’बाट सम्मानित गर्‍यो । ओसीएले कुनै पनि नेपाली पदाधिकारीलाई ‘म्यारिट अवार्ड’बाट सम्मानित गरेको यो पहिलो घटना थियो । रुक्मकै पहलमा पछि मरणोपरान्त नरशम्शेर राणालाई ‘म्यारिट अवार्ड’बाट सम्मानित गरिएको थियो । केही वर्षपछि यो अवार्डबाट ध्रुबबहादुर प्रधान पनि सम्मानित भएका थिए ।

रुक्मशम्शेर खेलकुदमा राजनीतिकरण भएर नै यो क्षेत्र अस्तव्यस्त भएको ठान्नुहुन्थ्यो । श्री ५ युवराजाधिराज मुख्य संरक्षक भएको संस्थामा मन्त्री राख्नु नै अनावश्यक कुरा हो उहाँ भन्नुहुन्थ्यो । तत्कालिन समयमा युवराजधिराज खेलकुदको संरक्षक हुने भए पनि अहिलेचाहिँ प्रधानमन्त्री खेलकुदको संरक्षक हुने व्यवस्था छ । रुक्म जहिले पनि खेलकुद मन्त्रालयको विपक्षमा हुनुहुन्थ्यो । उहाँले थुप्रै पटक नेपालमा खेलकुद मन्त्रालयको आवश्यकता छैन भनेर विभिन्न सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता नै दिनुभएको थियो । उहाँको स्पष्ट धारणा थियो–‘खेलकुद परिषदलाई स्वायत्त, स्वतन्त्र र सक्षम निकाय बनाउनुपर्छ ।’ त्यस्तै, खेलकुद क्षेत्रमा उहाँको आफ्नै मौलिक योजना र कार्यक्रम थिए । सीमित साधनस्रोतका बाबजुद नेपालको खेलकुद क्षेत्रमा जे-जति उन्नति प्रगति भएका थिए त्यसलाई उहाँ सकारात्मक रूपमा लिनुहुन्थ्यो । त्यसको आधारमा नेपालको स्तर ठीकै भएको उहाँको धारणा थियो । साथै, उहाँ भन्नुहुन्थ्यो- ‘सरकारले मेहनत, लगानीतर्फ २०-२० प्रतिशत मात्र वृद्धि गरिदियो भने हामी हाम्रो क्षेत्रमा बलियो भएर आउन सक्छौँ ।’

रुक्मशम्शेर राजा त्रिभुवनबाट निकै प्रभावित हुनुहुन्थ्यो । राजा त्रिभुवन र आफ्ना बुबा सुवर्णशम्सेरबीच बाल्यकालदेखिको घनिष्टता थियो । राजा त्रिभुवनले सुवर्णलाई लेखेका चिठ्ठीहरू उहाँले सुरक्षित नै राख्नुभएको थियो । रुक्मले आफ्नो जीवनकालमा थुप्रै घटना दुर्घटनाको सामना गर्नुप¥यो । सन् १९७३ देखि ८० को बीचमा बुबा, आमा र माइलो दाजुलाई गुमाउनुपर्दा परिवारमै एकप्रकारको हलचल आयो । उहाँ यसलाई आफू भोगेको सबैभन्दा दुःखद् घटनाको रूपमा लिनुहुन्थ्यो । २०१४ सालमा बुबा सुवर्णशम्सेरलाई सर्वदलीय सरकारको उपाध्यक्ष बनाउने कुरा भएको थियो । मन्त्रिपरिषदको अध्यक्षता राजा महेन्द्र स्वयम्ले गर्ने समझदारी बनेको थियो । तर महेन्द्रले आफू अध्यक्षमा नबसी सुवर्णलाई नै मन्त्रिपरिषदको अध्यक्ष बनाइदिँदा सुवर्णको परिवारमा मात्र नभइ सिङ्गो काङ्ग्रेस पार्टीमा खुशीको लहर चलेको थियो । रुक्म पनि त्यतिबेला निकै खुशी हुनुभएको थियो ।

आफूले जुन क्षेत्रमा हात हाल्यो, त्यो क्षेत्र सफल भएको उहाँको अनुभव छ । राजनीति, खेलकुद र उद्योग ब्यवसायमा सक्रिय बन्नु र तीनै क्षेत्रमा सफलता पाउनु त्यसकै परिणाम हो । आफ्नो जीवनमा यी तीनै क्षेत्रलाई अभीन्न अङ्ग बनाउनुभएको उहाँले अन्तिम समयसम्म पनि यी तीनै क्षेत्रमा सक्रिय भूमिका निभाउनुभयो । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव, नेपाल ओलम्पिक कमिटीको अध्यक्ष, डावर नेपाल कम्पनी मनेजिङ डाइरेक्टर होस् या भारतका लागि नेपाली राजदूतको भूमिका उहाँ सधैं खरो उत्रिनुभयो । उहाँ जति सरल र शालिन हुनुहुन्थ्यो त्यो भन्दा बढी स्वच्छ उहाँको छवी थियो । जसले हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्नुको साथै प्रेरणाको स्रोत समेत बनेको थियो ।

अलविदा रुम राजा ! इतिहासको पानामा हजुर सधैं अमर रहनुहुनेछ ।