गुडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा एकको मृत्यु

गुडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा एकको मृत्यु


  • सुरेश धामी, बझाङ

महेन्द्रनगरबाट छुटेको यात्रुवाहक बसमाथि गुडिरहेकै अवस्थामा ढुङ्गा खस्दा एक यात्रुको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

बैतडीको पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको बसमा सडकमाथिबाट खसेको ढुंगा लागेर बसमा सवार बझाङको थलारा गाउँपालिका वडा नं ५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र. २००१ ख ११५६ नम्बरको बसमा मंगलबार राति साढे दुई बजेतिर जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे–बझाङ सडकखण्डको झौलेकमा सडकमाथिबाट ढुंगा खसेको हो । ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए ।

घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ४ का २८ वर्षीय माधव भट्ट रहेका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गुडिरहेको बसमा सडकमाथिबाट खसेको ठूलो ढुंगा बसभित्र पसेको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।