जोगाऔँ एसओएस बालग्रामको पवित्रता

जोगाऔँ एसओएस बालग्रामको पवित्रता


बालबालिकामाथि यौनदुर्व्यवहारका आरोप लगाएर संस्थाको बदनाम गर्नेको पहिचान गरी राज्यले त्यस्ता पवित्र संस्थाको संरक्षणमा चासो देखाउनुपर्छ । समाजसेवामा क्रियाशील संस्थालाई राजनीतीकरण गर्ने प्रचलनलाई पूर्णतः बन्देज लगाउनुपर्छ । कोही दोषी भेटिएमा कारबाहीमा सघाउनुपर्छ ।
  • शान्ता न्यौपाने

नेपाली समाज सहिष्णु भएकैले एकले अर्काको सम्मान गर्ने प्रचलन थियो । सबै जातजाति मिलेर बसेका हुन्थे । मुलुकमा जुनसुकै व्यवस्था भए पनि नागरिकलाई त्यसको अनुभूति हुँदैनथ्यो । प्रजातान्त्रिक होस्, निरंकुश वा निर्दलीय व्यवस्था मूल्यमान्यतामा आधारित शासन व्यवस्था थियो । भ्रष्टाचारका कुरा सुनिन्थे तर सतहमा आउने गरी छताछुल्ल हुँदैनथ्यो । स्वतन्त्रताका कुरा उठाइए पनि आआफ्नो पेसाव्यवसाय गरेर खान कसैले कसैलाई अवरोध गर्दैनथ्यो । मात्र व्यवस्थाको विरोध गर्न पाइँदैनथ्यो । एकले अर्काको बदख्वाइँ गरेर आफू अघि बढ्ने प्रचलन अहिले जसरी छताछुल्ल थिएन ।

तर, आज राजनीतिले समाजलाई यसरी दुष्ट बनाएको छ कि पार्टीको कार्यकर्ता हुनुपर्छ जसले जे गरे पनि छुट छ । गल्ती गर्ने होइन, इमानदार मान्छे दण्डित हुनुपर्छ । यो हरेक पेसा र व्यवसायमा लागू हुन्छ । राजनीति भनेको समाज सेवा भनेर पढिन्थ्यो तर आज लुट्ने व्यवसाय बनाइएको छ । समाज सेवाको भाव केहीमा देखिए पनि त्यसलाई व्यवसाय बनाउनेले ढपक्क ढाकिदिएको छ । इमानदार छायामा छ । राजनीति गर्ने होस्, प्रशासन सेवामा होस् वा कुनै पनि पेसा व्यवसायमा लागेको व्यक्ति होस्, सबैको हालत उही छ । गणतान्त्रिक भनिएको मुलुकको सुन्दरता भनेकै यही हो त ? यसरी नै पुगिएला समाजवादको लक्ष्यमा ? राजनीतिले आर्थिक, सांस्कृतिक र सामाजिक न्यायका सिद्धान्तको सम्मान गर्न जान्दैन भने त्यो कसरी राजनीति हुन्छ ? जो आज भइरहेको छ ।

यहाँ यो प्रसङ्ग झिक्नुको उद्देश्य विशुद्ध समाजसेवा गरिरहेको व्यक्ति वा संस्थालाई दण्डित गर्ने प्रचलन हावी भइरहेको छ । राजनीतिको सुन्दरताको व्याख्या नै यही हो भने समाजलाई नै विघटन गरिदिए हुन्छ । राजनीतिको नाममा नागरिकलाई विभाजित गरेर किन एकापसमा लडाइरहने ?

एसओएस बालग्राम भन्ने एउटा चर्चित संस्था छ नेपालमा । जसको कार्यालय भक्तपुरमा अवस्थित छ । यो संस्थाले अनाथ र घरबारविहीन बालबालिकाको उद्धार गरी पालनपोषण र हेरविचार गर्दै आएको छ । सन् १९४९ मा अस्ट्रियाका हर्मन माइनरले स्थापना गरेको यो संस्था नेपालमा भने स्थापना १९७२ मा खोलिएको हो । जसको अग्रसरता राजदरबारले लिइको थियो । एसओएस बालग्रामका कार्यक्रम विश्वभरिका १३५ देशमा फैलिएको छ । जसअन्तर्गत विश्वभरि ५७२ वटा बालग्राम, ७१९ युवा कार्यक्रम र ५७४ परिवार सुदृढीकरण कार्यक्रम क्रियाशील छन् । त्यस्तै १५९ सामाजिक केन्द्र, ३४ आकस्मिक केन्द्र, ७१ चिकित्सा केन्द्र र ४७९ स्कुल तथा व्यावसायिक तालिम केन्द्र सञ्चालित छन् । अनाथ र घरबारविहीन बालबालिकाको उद्धार गरी हेरविचार गर्नुपर्छ भन्ने यो अभियान सर्वप्रथम अस्ट्रियाका नागरिक हर्मन माइनरले सुरु गरेका हुन् । जुन अभियान विश्वभर सम्मानित छ ।

एसओएस बालग्रामले मुलुकभर दस वटा बालग्राम, आठवटा हर्मन माइनर स्कुल, आठवटा युवालय, चारवटा मेडिकल र सामाजिक तालिम केन्द्र स्थापना गरेको छ । बालग्रामले स्थापनादेखि आजसम्म ३० हजारभन्दा बढी बालबालिकालाई प्रत्यक्ष वा परोक्ष सेवा दिँदै आएको छ । यसमा आदिवासी समुदाय, पिछडिएका जाति र अल्पसंख्यक समुदायका बालबालिका समेटिएका छन् ।

यहाँ अध्ययन गरेर बाहिरिने जोसुक अनाथ र घरबारविहीन बालबालिका पनि आत्मनिर्भर हुने गर्छन् । उनीहरूलाई अध्ययनका साथसाथै सबै किसिमका सीपसमेत सिकाएर पठाइन्छ । त्यसैले त संस्थामा अनियमितता भयो वा संस्थालाई भजाएर कसैले पनि स्वार्थ सिद्ध गरेको समाचार सुनिएको छैन ।

अन्तर्राष्ट्रिय स्तरको विश्वव्यापी कार्यक्रम भएकाले पनि धेरै मुलुकले एसओएस बालग्रामको पवित्रता जोगाउँदै आएका छन् । यस कार्यक्रमअन्तर्गत हरेक सहभागी देशले आफ्नो देशमा भएका वैकल्पिक स्याहार प्रणालीमा बालबालिकाको स्याहारमा संयुक्त राष्ट्र संघका मार्गदर्शन पालना गरिन्छन् वा गरिँदैनन् भन्ने विषयको मूल्यांकन पनि हुने गर्छ । यस अभियानअन्तर्गत एसओएस नेपालले वैकल्पिक स्याहारअन्तर्गत ‘बालअधिकार’ र बाल सुरक्षा’ का मुद्दालाई समुचित रूपमा सम्बोधन गर्दै आएको छ ।

तर, यो संस्थालाई सधैं विवादमा ल्याइने गरिन्छ । संस्थालाई बद्नाम गर्न संलग्न व्यक्तिको चरित्र हत्यासमेत गर्न प्रयास हुँदै आएका छन् । पछिल्ला क्रियाकलापले यो संस्थाको पवित्रतामै दाग लगाउने कोसिस भइरहेको छ । विशुद्ध अनाथ र घरबारविहीन बालबालिकाको सेवामा कार्यरत यस्तो संस्थामाथि विभिन्न आरोप लगाएर बदनाम गर्ने व्यक्ति वा संस्थाविरुद्ध सिंगो समाजले बहिष्कार गर्नुपर्छ ।

बालबालिकामाथि यौनदुर्व्यवहारका आरोप लगाएर संस्थाको बदनाम गर्नेको पहिचान गरी राज्यले त्यस्ता पवित्र संस्थाको संरक्षणमा चासो देखाउनुपर्छ । समाजसेवामा क्रियाशील संस्थालाई राजनीतीकरण गर्ने प्रचलनलाई पूर्णतः बन्देज लगाउनुपर्छ । कोही दोषी भेटिएमा कारबाहीमा सघाउनुपर्छ ।

विशुद्ध सामाजिक भावनाबाट सञ्चालित संस्थामा भ्रष्टाचार भएका खबर पनि सार्वजनिक हुने गर्छन् । कसले, कहाँ र कसरी बालग्रामको रकम हिनामिना गरेको छ भन्ने कुरामा कुनै तुक हुँदैन ।

समाजसेवाका लागि आएको पैसा हिनामिना भएको हो भने त्यसको पनि छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्छ । तर, त्यसो भनेर यस्ता सामाजिक र मानवीय सेवामा क्रियाशील संस्थालाई बदनाम गर्ने हर्कत कोही कसैबाट हुनु हुँदैन । राज्यको उपयोगिता यस्तै अवस्थामा आवश्यक हुन्छ । एसओएस बालग्रामका क्रियाकलापमा ठेस पुर्‍याउने गतिविधिको पहिचान गरी संस्थाको पवित्रता जोगाउन सरकारले सघाउनुपर्छ । नत्र ती अनाथ र अबोल बालबालिकाको श्राप लाग्नेछ ।