‘पिलो निचोरिएपछि एमालेलाई सञ्चो भएको छ’ : पृथ्वीसुब्बा गुरुङ

‘पिलो निचोरिएपछि एमालेलाई सञ्चो भएको छ’ : पृथ्वीसुब्बा गुरुङ



माधवलाई नेता गुरुङको कटाक्ष-‘एमालेको महासागरबाट दुई लोटा पानी लगेर ओली सिध्याएँ भन्नु मुर्खतापूर्ण’

नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधव नेपालको नेतृत्वमा अर्को दल दर्ता भए पनि एमालेले ठूलो नोक्सान ब्यहोर्नु नपरेको दाबी गरेका छन् । एमाले गोरखाले सामबार आयोजना गरेको ‘वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण’ कार्यक्रममा नेता गुरुङले यस्तो बताएका हुन् ।

‘माधव नेपालले एमालेको महासागरबाट दुई लोटा पानी निकालेर गएका हुन्, हाम्रो पार्टीमा अहिले धमाधम प्रवेश क्रम चरिराखेको छ । गाडीको गाडी, नदीको पानी महासागरमा आएर मिसिएका छन्, मिसाइरहेका छौँ । महासागरबाट केही लोटा पानि झिकेर लग्दैमा महासागर सुकाएँ भन्ने भ्रम पाल्नु मुुर्खता हो । यो भ्रम माधवसँग छ, केही मान्छे बटुलेर लग्दैमा मैले केपी ओलीलाई खत्तम पारेँ भन्ने सोचेका होलान् त्यो गलत हो’, उनले भने ।

माधव नेपालको दोहोरो चरित्रका कारण एमाले विभाजन भएको नेता गुरुङको आरोप छ । माधव नेतृत्वको नेकपा (एस)लाई खहरे खोलाको संज्ञा दिँदै उनले खहरेको भेल दुईचार दिनमा सुक्ने तर्क गरे ।

उनले भने, ‘एकीकृत समाजवादी खहरे खोला हो भने एमाले नदी हो । माधव नेपाल नदीबाट खोलातिर लाग्नुभो, यो उल्टो बुद्धि हो । नदी बगिरहन्छ, खोला दुईचार दिनमा सुक्छ, त्यहाँ कमिला हिड्न थाल्छ ।’

गण्डकी प्रदेशभित्र एमालेका नौ सय ४२ जिल्ला सदस्यमध्ये ५० जना अर्थात् पाँच प्रतिशत मात्रै एकीकृत समाजवादीमा गएको उनले जानकारी दिए ।

पुँजीपातीको रुपमा नेपाली कांग्रेस र वामपन्थीका रुपमा नेकपा एमाले नेपाली राजनीतिकको मुलधारमा आएको उनको भनाइ छ । विश्वमा कम्युनिष्ट पार्टी कमजोर हुँदै गइरहेको बेला नेपालमा भने कम्युनिष्ट पार्टीको लोकप्रियता बढ्दै गएको जिकिर पनि उनले गरे ।

‘शेरबहादुरलाई प्रधानमन्त्री बनाउने प्रचण्ड र माधवको बाटो समाजवादी बाटो कि पुँजीवादको बाटो हो ? प्रतिक्रियावादी या सामाज्यवादी या कि समाजवादी ? यसकारणले अहिले पनि कांग्रेसको दलाली गर्ने नेताहरु छन् भने उनीहरु मुलुकमा कम्युनिष्ट भनेर बसिरहनु पर्दैन’, उनले भने ।

गुरुङले माधव नेपाललाई एमालेभित्रको ‘पिलो’को संज्ञा दिए । ‘अब त हाम्रो पार्टी यति सफा भयो, पिलो आफैँ हट्यो, हामीले निचोरेर फाल्नु परेन’, उनले ब्यङ्ग्य गरे । मुलुकमा एमालेको विकल्प कांग्रेस नभएको बताउँदै उनले एमालेले काम गर्न नसक्दा त्यसको फाइदा भने कांग्रेसले लिन सक्ने बताए ।

‘नीतिगत हिसाबले कांग्रेसलाई पराजित गर्ने पार्टी एमाले मात्रै हो, कांग्रेसलाई पराजित गर्न सक्ने शक्ति र क्षमता भएको पार्टी नीतिगत हिसाबले सिद्धान्त, संगठनको हिसाबले नेतृत्वको हिसाबले कांग्रेसलाई पराजित गर्ने पार्टी नेकपा एमाले मात्र छ’, उनले भने ।