कर्णालीमा साधारण लेखपढ गर्न नजान्ने नागरिक ३४ प्रतिशत

कर्णालीमा साधारण लेखपढ गर्न नजान्ने नागरिक ३४ प्रतिशत



कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।

मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीका अनुसार प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेका छन् । प्रदेश योजना आयोगले आव २०८०/८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५/७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । तीन वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै तीन वर्षअघि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयका उपसचिव अधिकारीले गत वर्ष निरन्तर सिकाइसम्बन्धी गतिविधिका लागि हरेक स्थानीय तहमा रु दुई लाख उपलब्ध गराएको र उक्त बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको बताएका छन् ।