कोष बढाउन ‘क्याट चितवन’द्वारा मनोरञ्जन कार्यक्रम आयोजना

कोष बढाउन ‘क्याट चितवन’द्वारा मनोरञ्जन कार्यक्रम आयोजना


  • सनत आचार्य, बेल्जियम

चितवन सहायता कोष (क्याट) बेल्जियमले कोष अभिवृद्धिका लागि आज (सोमबार) बेल्जियमको लुभेन शहरमा बारबेक्यु पार्टीको आयोजना गरेको छ ।

बारबेक्यु पार्टीबाट प्राप्त बचत रकमले संस्थाको कोष थप बलियो बनाइ नेपालको दुर्गम क्षेत्रमा सामुदायिक विकासमा खर्च गरिने कोषको अध्यक्ष राजु घिमिरे बताउनुभयो ।

अध्यक्ष घिमिरेका अनुसार सन् २००५ मा स्थापना भएको यो संस्थाले प्रत्येक वर्ष यस्तै प्रकारको कार्यक्रम आयोजना गरी कोष वृद्धि गर्ने र सोही कोषबाट नेपालको शिक्षा, स्वास्थ्यलगायत बालबालिकाको हक हितका लागि खर्च गर्ने जानकारी दिनुभयो ।

घिमिरेले विगतका दिनमा तीन-चार सय मानिस सहभागी हुने र मनोरञ्जन गर्ने गरेकोमा यो पटक पनि बेल्जियमवासी सम्पूर्णलाई सामाजिक संजालमार्फत जानकारी गराइएको उत्साहजनक उपस्थिति भएको जानकारी दिनुभयो ।

कोषका पूर्वअध्यक्ष दिनेशप्रसाद भण्डारीले बेल्जियममा रहेका प्रवासी नेपाली सबैसँग भेटघाटको अवसर सिर्जना गर्न र संस्थाको कोषलाई थोरै भए पनि बढाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएनका अध्यक्ष खड्ग केसीलगायत विभिन्न वैचारिक संगठन, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणहरूको समेत उपस्थिति थियो ।