एमसीसी, बाबुराम र राष्ट्रियताको चिन्ता !

एमसीसी, बाबुराम र राष्ट्रियताको चिन्ता !


धर्मको कारणले इरानबाट पारसी धर्म लगभग हरायो, अफगानिस्तानबाट हिन्दु र बुद्ध धर्महरू र परम्परा तथा संस्कृतिहरू विलीन भए र पाकिस्तान, बंगलादेश जस्ता केही देशमा नासोन्मुख हुँदैछन् ।
  • दामोदर पौडेल

कुनै रुखमा कतै खोक्रो भएमा त्यहाँ कहिलेकाहीँ नयाँ प्रजातिको रुख पलाएर ठुलो हुँदै जान्छ । स्वभाविक रूपमा अर्को प्रजातिको रुख सानोबाट ठुलो हुँदै जान्छ र पहिलेको ठुलो रुख पहिलाजस्तै देखिन्छ अनि नयाँ प्रजातिको रुख ठुलो भएकोले जोडिएका दुई प्रजातिका रुखमध्ये पहिलाको भन्दा पछिको ठुलो देखिन्छ । पहिलाको रुख खोक्रो भइसकेको हुन्छ । समयक्रममा त्यो बुढो रुख नयाँ प्रजातिको रुखको सानो अंश जस्तो देखिन पुग्छ । हामी राष्ट्रियताको कुरा गर्दछौँ । राष्ट्रियता भनेको हिमाल, पहाड, तराई, सगरमाथा, भृकुटी, सीता, जनक, पृथ्वीनारायण शाहको स्मरण, नेपालीहरूले विदेशमा गएर बन्दुक चलाएर लडाकुको परिचय दिएकोमा गौरव गर्नु हो । कतै यो माटोलाई माया गर्ने, यहाँको धर्म, परम्परा, संस्कृतिका सकारात्मक पक्षलाई सुरक्षा र बढावा दिँदै अरुभन्दा केही पृथक हुनु राष्ट्रियता हो ? यसको लागि त्यो परम्परालाई आफ्नो भन्ने समाज रहेन भने त्यहाँको राष्ट्रियता कता पुग्छ ? अमेरिका, बेलायत, अस्ट्रेलिया आदि देशमा नेपाली, भारतीय, पाकिस्तानी, बर्मेली आदि जो गएर बसे पनि तिनीहरू नेपाली, भारतीय, पाकिस्तानी आदि मुलुकका तर त्यो देशमा वासिन्दा भनिन्छ । तर उनीहरू बसेको देशको वैभवताले गर्दा अरु देशबाट पुगेकाहरूले आफ्नो पहिचान बनाइराख्न प्रयास गरे पनि मूलभुत रूपमा त्यहीँको परिचय प्रधान बनेको हुन्छ । बाहिरबाट जानेहरू धेरै भएपछि भने त्यो भूमिको परम्परा नै लोप हुँदै जाने हुन्छ । अस्ट्रेलिया, अमेरिका, हैटी र धेरै हदसम्म फिजी, सुरिनाम, मरिसस जस्ता देशहरूमा पनि त्यहाँका स्थानीय परम्परा पूर्ण रूपमा नास नभए पनि केवल संरक्षित रूपमा मात्र केही रहे ।

धर्मको कारणले इरानबाट पारसी धर्म लगभग हरायो, अफगानिस्तानबाट हिन्दु र बुद्ध धर्महरू र परम्परा तथा संस्कृतिहरू विलीन भए र पाकिस्तान, बंगलादेश जस्ता केही देशमा नासोन्मुख हुँदैछन् । मानिसहरूले नयाँ धर्म र परिवेशको कारण आफ्ना परम्पराहरूलाई छोडे, त्यति मात्र हैन बरु मानिसको पुरानो संस्कृतिप्रति माया नहोस् भनेर अन्य संस्कृतिलाई उनीहरूको नयाँ धर्मसँगै भित्र्याउने काम भयो । फिलिपिन्स, दक्षिण कोरिया जस्ता केही देशमा शालिन रूपमा धर्म र संस्कृतिलाई लोभ र लाभको रूपमा अनुशरण गर्दै आत्मसात हुन पुग्यो ।

हामीले आफ्नो देश अर्को देशबाट अलग रहनुको कारण, औचित्य बुझ्नु पर्दछ । अलग पहिचानले नै अलग देश हुनुको औचित्य पुष्टि गर्दछ । मानिसले नयाँ संस्कृति र परिवेशलाई आत्मसात गर्न नै चाहने हो भने देशको औचित्य अरुबाट फरक भन्ने अर्थमा रहँदैन, केवल पहिलादेखि नै अलग देश भएकोले अलग रहेको भन्ने मात्र बाँकी हुन्छ । नेपालमा मुख्य सम्पर्कभाषा र धेरैले बोल्ने भाषा हिन्दी भएमा र धार्मिक तथा सांस्कृतिक परिवेश पनि उस्तै भएमा के अलग हुनुको औचित्य रहला ? एउटा स्याउको दाना वा भकुन्डोलाई केवल कलमले कोरेर अलग भएको देखाउनु जस्तो हुनेछ ।

कुनै एउटा टोल कुनै देश वा समाजकै हो । त्यहाँ ठुला घर छन् । पहिलादेखि नै मासु बनाउने र बेच्ने तथा कपडा सिलाउने काम हुने गरेको हो । अहिले पनि त्यही काम हुन्छ । ठुला-ठुुला भवन छन् । त्यहाँका पुराना स्थानीयवासीले एक वा बढीमा दुई वटा मात्र बच्चा जन्माउने हुँदा घरभाडाले नै महिनामा लाखौँ रुपैयाँ आउँछ । त्यस पैसाले एउटा वा दुइवटा वच्चा पढाउन र परिवार चलाउन जति भने पनि पुग्छ । किन काम गर्ने ? वावुले गरिरहेको मासु बेच्ने पसलमा पहिलादेखि नै कामदारको रुपमा राखेको भारतीयलाई केही नगद र केही उधारोमा पसल बेच्छ, वा हिस्सेदारीमा काम हुन्छ । बाबुआमा वृद्ध हुँदै गएकोले छोराछोरी तथा बुहारीहरू त्यहाँ गएर केही समय काम गरेजस्तो गर्दछन् । काम नभएको समयमा त्यहीँ जाने गर्छन् । क्रमशः कतिपय छोरी-बुहाारीहरू त्यहीँ साझेदार पसलेका रखैल हुँदै पत्नी बन्न पुग्छन् । पत्नी, बुहारी लगे उसले त्यो घर छोड्नुपर्छ तर छोरी लगेमा त्यहीँ पसल गर्न सक्छ । छोरीको धर्म परिवर्तनसँगै कतिपय अवस्थामा बाबुआमाको पनि धर्म परिवर्तन हुन सक्दछ । सिलाई पसल, सिलाइ मेसिन मर्मत र बिक्री पसल समेत बहालवाट नै काम नगरी खान पाइने हुँदा किन दुःख गर्ने भनेर विदेशबाट आएका परिश्रमीहरूलाई नै दिइन्छ । क्रमशः पुराना स्थानीयहरू ती पसलका मालिक हुन छोड्छन् । केही मात्र पसले रहेका त्यहाँका पुराना वासिन्दाको पसलमा पनि उनीहरूको पसलमा अन्य धर्मको प्रतीक राखिएको हुन्छ । उनीहरूलाई तपाईंहरू त हिन्दु बुद्धिष्ट होइन र ? भन्दा हो भन्ने जवाफ आउँछ । किन अरु धर्मको फोटा लगाउनुभएको छ त भनी सोध्दा यहाँ त्यही धर्मका मधेशीहरू धेरै भएकाले उनीहरूले गरेजस्तै गरेको भन्ने उत्तर पाइयो । जबकि, मधेसी भनिएका ती नेपाली मधेशी नभइ भारतीय, कास्मिरी, पाकिस्तानी र बंगलादेशी समेत हुन्छन् । ती फोटाहरूले गर्दा उनीहरू पसलमा किन्न आउँछन् । ती फोटा टाँसेमा उनीहरूले सगुन हुन्छ भन्छन् । सगुन नै हुने भएर त शुरुमा आउँदा केही नल्याएको भए पनि अहिले धनी बनेका छन् । यहाँ भाडामा बस्नेहरूले गर्दा उनीहरू प्रसस्त होलान् नि भनेर सोध्यो भने उनीहरू छन्, उसले त आफ्नो छोरो नै भनेर नागरिकता पनि हिन्दु वा बुद्धिष्ट भनेर लिन लगाएको छ तर उ आफ्नो धर्म छोड्दैन, बरु उसैकी छोरी लग्छ । त्यहीँ बाबुआमा भनेर पालेर बस्छ । छोरा अमेरिकामा छ । छोरीले मधेशीसँग विवाह गरेर बाबुआमा पालेर बसेकी छ । ती घर त मधेशीले नै किनेका छन् । त्यो घरमा उनीहरूलाई नै जिम्मा दिएर एउटा मात्र छोरा भएकोमा उ बेलायत भएकोले बाबुआमा पनि उतै गए । त्यो घरमा त एउटा छोरो र छोरी हुन् । पहिला छोरीलाई उनीहरूले फकाएर विवाह गरे र उनैको घरमा छोरी र ज्वाइँ बस्छन्, ब्यापार गर्छन् । सात वटा बच्चा छन् । आमाबाबुलाई अरु धर्मका भएकोले बुढेसकालमा घरमा बस्न मन नलागेर वृद्धाश्रममा छन् । अनि छोरा नि ? बिचरोको एउटा छोरो मात्र थियो । उसकी पत्नी मधेशीसँग बच्चा पनि लिएर भागेपछि लागु पदार्थ, रक्सी खाने गरेर पागल जस्तो भएको छ । घरमा बस्दैन, उ मागेर खान्छ, त्यसै हुँदा घर बेवारिस जस्तै भने पनि हुन्छ । अहिले त अर्को विवाह गरेकी बुहारी पनि छोरो पढाउन भनेर त्यही घरमा बसेर ब्यापार गर्छे, नयाँ पति पनि ब्यापार गर्छ । पहिलाको पति त्यहाँ आउँदा बासीभात दिएमा खुसी हुँदै पूर्वपत्नी र जारलाई ढोग्छ । केही केटाकेटीहरूले काम नगर्ने हुँदा गलत कुरा खाने गर्दछन् । बाबुआमाले सीप दिएनन् । बाहिरबाट आएकाले बाबुहरूको सीप लिए । त्यसैले आवारा जस्ता छन् । यस्तै उत्तरहरू आउँछन् ।

यस्ता मानिसमध्ये महिनामा ३–४ लाख बहाल उठाउनेहरू पनि हुन्छन् । उनीहरूलाई नपुग्ने छैन । कुनै काम पनि छैन । पहिला सिलाइ गर्थे वा मासु बेच्थे भन्न पनि उनीहरूलाई लाज लाग्छ । कसैकी एउटा मात्र छोरी नर्स पढेर बेलायतमा काम गर्छे । अर्कोका दुई छोरीमा दुवै अस्ट्रिेलियामा छन् । त्यहीँ विवाह पनि गरे । एउटीले नेपालीसँग नै विवाह गरी र अर्कीले सँगै काम गर्ने बंगालीसँग विवाह गरेर बसेकी छ । त्यो घरवालाको एउटा छोरा र एउटी छोरी हुन् । छोरी जापानमा जागिर गर्छे र जापानीसँग नै विवाह गरिछ । छोराले क्यानडामा डाक्टरी गर्छ, त्यहीँकी अमेरिकन (क्यानेडियन) केटी विवाह गरेर बसेको रहेछ । त्यहाँ त बाबुआमा र बच्चा सँगै बस्ने चलन रहेनछ । त्यसैले छोराले त्यहाँ जान भन्दा यतै बसेर बाबुआमाले दिन बिताउनु बरु केही पैसा पठाइदिन्छु भन्छ र पैसा पठाउने पनि गरेको छ । त्यसो त घर भाडाले पनि जति पनि हुन्छ । बाबुु करिव ५० वर्षका भए, प्यारालाइसिस छ । उनी पत्नीलाई कुनै मधेशीले लगेछ । बाबुलाई हेर्ने मानिस भएन । पछि ती पत्नीलाई नै बल्लतल्ल फकाएर ल्याए बुढालाई हेरचाह गरेकी छन् । उनको नयाँ पति पनि त्यहीँ बस्छन् । यहाँका रामानुज, कृष्णवावु, पन्नालाल समेत १०–१२ जना विद्धानहरू नेपालको राष्ट्रियता बचाउन भनेर कहिले जुलुस जान्छन् । कहिले आफ्ना धर्म, संस्कृति, नयाँ वर्ष आदि मनाउन भेला गरेर धर्म संस्कृति र परम्परा बचाउन मरिमेटी गर्छन् । पोष्टर, ब्यानर, झण्डा पनि बनाउन सजिलो छ, घरमा बस्नेहरूले भाडाबाट कट्ने गरेर बनाइदिन्छन् । तीमध्ये दुई जनाले बच्चा नै जन्माएन् । धर्म र संस्कृति बचाउन बच्चा भएपछि कठिन हुन्छ रे । अर्का तीन जनाले एउटा एउटा बच्चा पाएका छन् । बच्चाहरू धेरै पाउन पनि भएन, लाज हुन्छ, समाजलाई हेर्नुपर्ने, गुठी आदि पनि हेर्नैपर्ने हुँदा बच्चालाई होस्टलमा नै राखेका छन् । उनीहरू समाजसेवा पनि गर्दछन् । मधेशीहरू मध्ये गरिवहरूलाई श्रम र सीप सिकाउन पैसा नलिइ सहयोग गर्छन् । पैसा लिएर सिलाई जस्तो काम गर्न उनीहरूलाई लाज हुन्छ रे । तर सेवाको रूपमा चाहिँ पहिलादेखि नै जानेको काम गर्न हुन्छ अरे !

अस्ति राम र कृष्णबीच हिन्दु धर्र्म र बुद्ध धर्ममा आफ्नो धर्म राम्रो भनेर झगडा भएको रहेछ । दुवैको टाउको फुटेछ । एउटाको हात भाँच्चिएछ र अर्कोको खुट्टा । रामकी छोरी र बहिनी बंगालीसँग गएका रहेछन् । कृष्णकी जेठी पत्नी र बहिनीले अर्का पाकिस्तानी र कास्मिरीसँग विवाह गरेका छन् । राम र कृष्णको विवादमा आ-आफ्ना धर्मतिरकालाई अर्को धर्मप्रति साह्रै घृणा भएको छ । बरु मर्नै लाग्दा कताबाट सहयोग गर्न पुगेछन् उनीहरूका बहिनी, छोरी र पूर्वपत्नी तथा उनीहरूका पतिहरूले उनीहरू मर्नै लागेको अवस्थामा अस्पताल लगेर उपचार गराएका रहेछन् । रामलाई पनि हिन्दु भनेपछि दुश्मन जस्तो लाग्छ र कृष्णलाई पनि बुद्धिष्ट भनेपछि अधर्मी जस्तो लाग्न थालेको छ ।

उनीहरू सबै नेपाली भएकोमा कहिले गर्व गर्दछन् । कोही हिन्दु भएकोमा र कोही बुद्धिष्ट भएकोमा गर्व गर्दछन् । उनीहरू देश र समाजको धर्म-संस्कृति र परम्परा बचाउन ज्यान फालेर लागेका छन् । सायद उनीहरूले नै देश र समाजको हैसियत र अस्तित्वलाई बचाउँछन् । उनीहरूले घर भाडामा लगाएर काम छोडेका छन् । फुर्सद छ, त्यसैले हरेक दिन धर्म, देश, परम्परा, स्वाभीमानको बारेमा चोक, गल्लीमा बहस गर्दछन् । राजनीति त उनीहरूको मुख्य पेशा नै हो । कहिलेकाहीँ राजनीति र धर्मको बारेमा झगडा पनि हुन्छ । उनीहरूले धेरै कुरा पढेका छन् । उनीहरूको नजरमा उनीहरूको घरमा भाडामा बसेर ब्यापार ब्यवसाय गर्नेहरू मुर्ख हुन्, केही जानेकै छैनन्, यो त मुखैमा उनीहरूले भन्ने पनि गर्छन् ।

अन्तमा, यो लेखमा शीर्षकमा भनिएझैँ बाबुराम र एमसीसीको त कुरै आएन भन्न सक्नुहोला, तर खोज्नुहोस् !