सत्ता गठबन्धन बैठक : मन्त्रीको नाम चाँडो दिन प्रधानमन्त्रीको आग्रह

सत्ता गठबन्धन बैठक : मन्त्रीको नाम चाँडो दिन प्रधानमन्त्रीको आग्रह



सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्ग्याउनेबारे छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्रह गरेका छन् ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गरेका बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोडेलले जानकारी दिएकी छन् । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बढी समय छलफल भएको र गठबन्धनलाई अझै परिस्कृत गरेर लैजाने तथा संसदमा विधेयक टेबुल गर्नेबारे पनि कुराकानी भएको, साथै आजै साँझ ६ बजे बैठक पुनः बस्ने गरी सकिएको उनले बताइन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन आ-आफ्नो पार्टीमा सल्लाह गरेका मन्त्रीहरुको नाम चाँडो टुंग्याउन आग्रह गरेका थिए । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो । त्यसयता करिव दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्र हुनुहुन्छ । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ । यसअघि बिहीबार पनि मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक परिस्थितिबारे गठबन्धनका नेताबीच छलफल भएको थियो ।

pict:rss