कसले गर्दैछ श्री पशुपतिनाथमा ‘क्रिश्चियन मिसनरी’ घुसपैठ गराउने षडयन्त्र ?

कसले गर्दैछ श्री पशुपतिनाथमा ‘क्रिश्चियन मिसनरी’ घुसपैठ गराउने षडयन्त्र ?



हरेक सचेत नेपालीलाई जानकारी भएकै कुरा हो कि केपी ओलीलाई विस्थापित गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न ‘योगदान’ पुऱ्याएवापत माधव नेपालको यतिबेला गठबन्धनका नेता-कार्यकर्ताबीच वाह..वाह.. चलिरहेको छ । माधवलाई उनको रोज्जाका मन्त्रालय दिने, उनले सिफारिस गरेका व्यक्तिहरूलाई सरकारले भनेको ठाउँमा नियुक्ति दिने जस्ता चर्चाले राजनीतिक बजार गर्माएको छ । चर्चा मात्र होइन, सोअनुसार देउवा सरकारले काम-कारवाही पनि अघि बढाएको अनुभूति गरिँदै छ । सरकार बनेको करिव यो दुई महिना अवधिमा माधव पक्षका भनिने निकै व्यक्तिहरूले महत्वपूर्ण निकायहरूमा नियुक्ति पाएका छन् । यो क्रम जारी छ ।

यही मेसोमा माधव नेपालले विश्वभरका हिन्दूजनको आराध्यदेव श्रीपशुपतिनाथ मन्दिर सञ्चालन गर्ने स्थानमा समेत ‘क्रिस्चियन मिसनरी’सँग जोडिएका पात्रहरूलाई घुसाउन लागेको चर्चा उत्कर्षमा छ । हिन्दू धर्म-संस्कार संरक्षणको अभियानमा हिँडेका अभियन्ताहरूले विभिन्न मिडिया च्यानलमार्फत् यसको खुलासा गरेका छन् । जसरी साधु बिरालो जस्तै बनेर अढाइ-तीन दशकदेखि माधव नेपालले क्रिश्चियन मिसनरीका लागि काम गरेका रहेछन्, त्यसैगरी आवरणमा हिन्दूत्वकै कुरा गर्ने तर भित्रभित्रै पराइधर्मको सेवा गर्नेहरूलाई पशुपतिनाथ मन्दिरको रखवाला बनाउन माधवले प्रपञ्च गरेको आरोप मुलुकको धर्म-संस्कृति बचाउने अभियानमा हिँडेका अभियन्ताहरूले लगाइरहेका छन् । बताइएअनुसार पशुपतिनाथमा युनिफिकेसन चर्चमा आवद्ध व्यक्तिहरूलाई नियुक्ति दिलाउन देउवालाई माधवले दबाब दिएका छन् । यदि यो आरोपको लागि आरोप मात्र नभइ सत्य नै भने निकै संवेदनशील र खोजीनितीको विषय हो ।

कल्पना नै नगरेको अवस्थामा आज स्वार्थवश सत्ता दिलाइदिएबापत ‘गुन’ तिर्नका लागि माधव नेपालका कुत्सित इच्छाहरू पूरा गर्दै जाने हो भने प्रधानमन्त्री शेरबहादुर देउवा कहीँका रहने छैनन् । आज सचेत नेपालीले सत्ताधारीहरूको हरेक क्रियाकलाप मिहिनसँग नियालिरहेका छन् । होशियार सरकार ! कथित अग्रगमनका नाममा देशलाई पराइको पोल्टामा हाल्ने कामको मतियार नबन्नु ! आमनेपालीको कोपभाजनको शिकार बन्ने र आफ्नो लागि खाल्टो आफैले खन्ने काम नगर्नु !! बाह्य तत्वहरूको उक्साहटमा राजनीतिको नाममा नौटङ्की प्रदर्शन गर्नेहरू सबैलाई चेतना रहोस् ।

  • मनोहर सुवेदी