कांग्रेस प्रवक्ता शर्माद्वारा बीपीको सपना पूरा गर्ने प्रतिबद्धता

कांग्रेस प्रवक्ता शर्माद्वारा बीपीको सपना पूरा गर्ने प्रतिबद्धता



महामन्त्री पदमा उम्मेदवारी घोषणा

बीपीले दुई तिहाइ सरकारको कमीकमजोरी लेख्न सञ्चारमाध्यमलाई निश्चित बजेट व्यवस्थापन गरेर पत्रकारिता क्षेत्रको सम्मान गरेको परम्परालाई कांग्रेसले निरन्तरता दिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रतिवद्धता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औँ जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा बिहीबार आयोजित विशेष कार्यक्रममा उनले बीपीको सपना पूरा गर्न महामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताए ।

‘१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ’, नेता शर्माले भने । विसं २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त भएपछि बीपीले १५ वर्षभित्रमा गर्छु भनेको काम राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म पनि गर्न नसकेको जिकिर गर्दै उनले आफू महामन्त्री भएर पार्टीलाई तीनवटा निर्वाचन जिताइ बीपीको सपना पूरा गर्ने प्रतिबद्धता दर्शाए ।

पार्टीमा युवा पुस्ता ऊर्जाका साथ नेतृत्वमा अघि बढेकाले बीपीको सपना पूरा गर्न सकिने प्रवक्ता शर्माले भनाइ छ । बीपीले दुई तिहाइ सरकारको कमीकमजोरी लेख्न सञ्चारमाध्यमलाई निश्चित बजेट व्यवस्थापन गरेर पत्रकारिता क्षेत्रको सम्मान गरेको परम्परालाई कांग्रेसले निरन्तरता दिने पनि उनले बताए ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरी बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत नेतालाई लामो समय थुनेको तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बीपी सङ्ग्रहालय पुगेर नेता शर्माले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणालगत्तै उनले बिपी, गणेशमान, किसुनजी, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राईलगायत योद्धाको शालिकमा माल्यार्पण गरेका थिए । बन्दीगृहमा बीपीद्वारा रोपिएको कपुरको रुखमा जल सिञ्चन गरी उनले सङ्ग्रहालय परिसरमा रुद्राक्षको बिरुवासमेत रोपेका छन् ।

file photo