बेलायतकी ज्योतिलाई छायाछवि तीज अवार्ड

बेलायतकी ज्योतिलाई छायाछवि तीज अवार्ड


  • राजन घिमिरे

के देश के परदेश ? हिन्दु महिलाहरूको चाड तिजको यतिबेला सबैतिर चर्चा छ । लामो समयपछि दुःख-पीडा र मर्म बिर्सिएर माइतीघर जान पाइने यो चाड साँच्चि नै महिलाहरूका निम्ति महान् चाड नै हो ।

पछिल्लो समय गीत-संगीतमार्फत पीडा, वेदना र दुःख पोख्ने सशक्त माध्यम बनेको छ तीजको गीत । देशमै हुनेहरू त माइती जालान्, तर परदेशमा हुनेहरूको हकमा माइती सहज र सरल छैन । परदेशमा रहेका चेलीहरूको यस्तै पीडा र वेदनालाई गीतमार्फत पेखेकी छन् बेलायतनिवासी ज्योति गुरूङले ।

तीजैको दर पकाउँदी हौ आमाले
खाइदिने कोही छैन घरमा बरीलै
अभागी छोरी परदेशैमा रुँदैछु
के लेख्या रैछ कर्म बरीलै

साँच्चि नै ज्योतिले तयार पारेको यी शब्दहरू मार्मिक र मन छुने छन् । प्रवासमा रहेका नेपाली चेलीहरूको प्रतिनिधित्व गरेको ‘परदेशी छोरी’ले यसैसाता काठमाडौंमा सम्पन्न छायाछवि तीज म्युजिक अवार्डमा उत्कृष्ट तीज गीत शब्दको अवार्ड जितेको छ ।

यो अवार्डसँगै गीत संगीतमा लाग्न झनै प्रेरणा मिलेको कुरा ज्योतिले बताइन्, ‘परदेशको बसाइमा नेपाली संस्कृति र चाडबाड ज्यादै मिस हुन्छ । मातृभूमिको सम्झना र आफ्ना भोगाइहरूलाई गीतको शब्दमा उतारेको हुँ । सबैको माया र साथले गर्दा अवार्ड पनि जितियो । यो गीतमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ र हात दिनु हुने सबैमा हार्दिक आभार प्रकट गर्दछु ।’

ज्योतिले लेखेको यो तेस्रो गीत हो । यसअघि यो कस्तो माया र मुटुको टुक्रा गीत बजारमा ल्याएकी ज्योति गीत तयार पर्दा निकै ध्यान दिएर र भावनामा बग़ेर तयार पार्छिन् भन्ने कुरा उनका गीतहरूबाट थाहा हुन्छ । गीत-संगीतमा लाग्न लोकगीत सर्जक रमेश बिजी र राजु केसीलाई प्रेरणाको स्रोत मान्छिन् ज्योति ।

ज्योतिको परदेशी छोरीलाई सुनिता दुलालले स्वर दिएकी छिन् । सुनिताले पनि ज्योतिको शब्दअनुसार नै भावनामा डुबेर गीत गाएकी छिन् । यो गीतको भिडियो बेलायतमा नै कुशल श्रेष्ठले तयार पारेका हुन् । सुरज लामिछानेको संगीत रहेको यो गीतको भिडियोलाई सरू रानाको नृत्य निर्देशन रहेको छ ।