आउला त एनआरएनएमा प्रतिनिधि बन्दा गौरवको अनुभूति हुने दिन ?

आउला त एनआरएनएमा प्रतिनिधि बन्दा गौरवको अनुभूति हुने दिन ?


एनआरएनए प्रतिनिधि चयनमा ‘सकुनी प्रतिस्पर्धा’

दलाल र दास चरित्रका मान्छेहरू आलोचनात्मक चेतसहितको सुझाव वा प्रतिक्रियाबाट तर्सिन्छन् । झन् एनआरएनएका कथित अभियन्ता बनेर प्रोपोगाण्डा चलाउनेहरू स्वाभिमानी पत्रकारहरूसँग बढी नै तर्सिन्छन् । उनीहरूले सदैव फेवर खोज्छन् र उनको गुलामी गर्ने बाहेक अरुलाई नजिकमा पर्न दिँदैनन् । तर मेरो विचारमा संस्थागत हितको लागि त्यो राम्रो प्रवृत्ति हैन र स्वयम् उनिहरूका लागि पनि त्यो चरित्र आत्मघाती हो ।

  • डिल्ली अम्माई

एनआरएनएका गत क्षेत्रीय बैठकहरूबाट एनआरएन अभियानलाई संस्थागत शक्तिमा रूपान्तरण गर्ने मुद्धाले यसपटक वैधानिकता पायो । कुमारजीकै कार्यकालमा रूपान्तरणको बहसले भुइँ तहसम्म प्रवेश पाएको हो । धेरै बैठक र सभाहरूमा समेत उनले एनआरएनएमा भएका सम्पूर्ण कमजोरीहरू सार्वजनिक रूपमा स्वीकार्दै त्यसमाथि प्रतिक्रिया मागेका थिए । आफ्ना र अग्रजहरूको नेतृत्वमा भए-गरेका अवैधानिक गतिविधिहरूको खुलेर सार्वजनिक मञ्चबाट प्रतिक्रिया दिँदै रूपान्तरणको औचित्य पुष्टि गर्ने प्रयत्न नै कुमारजीको कार्यकालको नयाँ सकारात्मक आयाम हो ।

तर आइएलओ भ्रष्टाचार काण्डमा अध्यक्षको खासै प्रतिक्रिया आएन । एक खालले एनआरएनए केन्द्रको निर्देशनमा बनाएको छानबिन समितिको रिपोर्ट अनौपचारिक रूपमा सार्वजनिक भइसक्दा पनि केन्द्रिय अध्यक्षको प्रतिक्रियाको सर्वसाधारणले अपेक्षा गरेकै थिए । अहिलेसम्म संघभित्रका गलत प्रवृत्तिप्रति निर्मम बनेर प्रतिक्रिया दिने र संस्थागत रूपान्तरणलाई तलसम्म लैजान हिम्मत राख्ने हैसियत बनाएका अध्यक्ष कुमार पन्तबाट अन्तिमसम्म पनि उनको कार्यकालमा भएगरेका कमी–कमजोरी र आर्थिक अपारदर्शिताको बारेमा प्रतिक्रिया नआउनु दुःखद मान्नु पर्छ ।

राष्ट्रिय परिषदको चुनावी प्रक्रियामा धाँधली भएका प्रमाणसहित केही देशका केही उजुरी छन् । त्यसमा केन्द्रलाई र विशेषगरी अध्यक्षलाई थाहा छैन भनेर पत्याउने कुरा भएन । एक केन्द्रिय पदाधिकारीको प्रतिक्रियाअनुसार ‘कुमारजी सबै बेथितिमा निर्मम बन्नुहुन्छ ।’ ‘केन्द्रमा प्रस्तावको रूपमा ल्याइएका हरेक प्रश्नको क्रियात्मक उत्तर आउनेमा शंका नगर्न’ उनले अनुरोध गरे ।

‘नीति निर्माण र अनुशासनको तहमा धेरै कामहरू भएका छन्, तर पनि कुमारजी विभिन्न चरणमा फरक–फरक इन्ट्रेष्टका एनआरएन सहकर्मीहरूबाटै घेरामा पर्नुभएको छ । त्यस्ता घेराहरू पटक–पटक तोड्नुभएको पनि छ । दबाबको बीच मध्यपूर्वमा आर्थिक अपारदर्शिताको आवाज सुनेर छानबिन आयोग बन्यो । यो बनाउदा उहाँले धेरै घेरा तोड्नु परेको कुरा कसैबाट लुकेको छैन । त्यस्तै अन्य बेथितिको कुरामा, चाहे त्यो अनुशासनको कुरा होस् वा आर्थिक अपारदर्शिताको, कति बाहिर आए कति भित्री रूपमा आत्मालोचना गराएर सल्टाइए । उहाँको लडाइँ देख्नेलाई मात्र थाह छ ।’ एक केन्द्रिय सदस्यले आफ्नो सञ्जालमा लेखेका थिए ।

एनआरएनएमा पङ्क्तिकारको सहकार्य :

यो पङ्क्तिकारलाई आइसीसी मिडिया समितिमा राखियो । आवश्यक बेलामा अध्यक्षले सल्लाह पनि लिए । मलाई थाहा छैन उनैले प्रस्ताव गरेका हुन् कि अरु कसैले प्रस्ताव गरेका हुन् ? टाक्सफोर्सको विनियममा टेकेर मैले सिङ्गो केन्द्रिय समितिको अभियानमा प्रतिक्रियात्मक सुझाव दिएको पनि छु । परिवर्तनको पक्षमा कुमारजीको मुख र कर्मसँगै मेरो कलम पनि निकै चल्यो । मैले उहाँको एजेन्डामा सघाएँ कि सघाइनँ त्यो त कुमारजीहरूले मुल्याङ्कन गर्ने कुरा हो । तर मैले एउटा कुरा भन्नैपर्ने हुन्छ कि कुमारजीबाहेक धेरै पदाधिकारीहरूले मिडिया समितिमा भएका सबै पत्रकारहरूलाई गुलामझैँ सोच्दा रहेछन् । खुबै दलाउने ! उनीहरूका गलत अभ्यासबारे लेख्यो कि सुट गरिहाल्ने, राम्रा सुझाव दियो भने सैह्य नहुने ।

दुई वर्षमा एक पटक आफ्ना प्रस्ताव लगेर बैठक राख्ने काम मिडिया समितिले सोच्दा पनि सोचेन । महासचिवले मिडिया समितिलाई आफ्नो सौतेलो बन्धु जत्तिको महत्व पनि दिएनन् । अध्यक्षको निर्देशन हुँदा पनि मिडिया समितिको बैठक नबसी कार्यकाल सकिँदै छ । यो भन्नुपर्दा पङ्क्तिकारलाई शर्म लागेर आउँछ तर सत्य कुरा यही हो ।

केही ब्यावसायिक इन्ट्रेष्ट भएका मित्रहरू छन् यो संस्थामा । यिनीहरूको वृहत्तर संजाल छ विश्वभर । यो संजालमा राम्रा मान्छे अल्पमतमा छन् । ती राम्रा मान्छे जहिले पनि पारदर्शिताको सवालमा इमान्दार बन्नुपर्ने, संस्थागत अनुशासनको पालना हुनुपर्ने, आइएलओलगायतका छानबिन प्रतिवेदनहरू सार्वजनिक गर्नुपर्ने, संस्थाको अपारदर्शी झार गोड्नुपर्ने पक्षमा थिए । संस्थागत रूपान्तरणको अभियानमा होमिनुपर्ने पक्षमा थिए । तर चक्रब्यूहबाट उम्कनको लागि हिम्मत र कला चाहिन्छ । त्यो हिम्मत कुमारजीमा होला नहोला पछिसम्मको उहाँका कदमहरूको सिंहावलोकनले नै त्यसको निर्क्योल गर्ला ।

यदि आफ्ना एजेन्डाहरूको सुनिश्चितता र आफ्नो संस्था हाँक्ने नेतृत्व कुशलता परीक्षणको लागि उहाँले आगामी दिनमा कस्तो निर्णय लिनुहोला त्यो त भविष्यको गर्भमा छ । तर उहाँको कार्यकाल एक सुन्यबाट शुरु भएर रूपान्तरणका एजेण्डामा ब्यापक बहस चलाएर सकिँदै छ । उहाँको पहिलो कार्यकाल सकिँदै छ र अहिलेको कोरोना कालको विषम परिस्थितिमा उहाँले जे-जति र जसरी काम गरेर देखाउनु भयो त्यसलाई असक्षम भनेर आरोप लगाउनु अन्याय नै हुन्छ । ढोकाभित्र थुनिएर रहेको एनआरएनलगायत संसारलाई एनआरएनए छ भनेर सन्देश मात्रै दिएको छैन, महामारीमा नेपालीलाई सघाएको पनि छ, लाप्राक बस्ती समुदायलाई हस्तान्तरण गरिसकेको छ र आफ्ना संस्थागत गतिविधि चलायमान गराएको पनि छ । यो कुमारजीको नेतृत्व क्षमताको एक प्रमाण मात्र हैन, संस्थाको बेथितिविरुद्ध रूपान्तरणको सशक्त आवाज पनि हो ।

केही प्रतिक्रियाहरूलाई हेरेर, खराब नियतहरूलाई देखाएर संस्थाको समग्र नेतृत्व र इतिहासको अपमान गरिनु न्यायसंगत हुँदैन । एउटा नेतृत्व त्यो पनि नियति र बदनियतहरूको चट्टानमुनि दबिएर महामारीको बन्द क्याम्पभित्र धेरै कार्यहरू भएका छन् । तसर्थ पङ्क्तिकारले बेथितिको बारेमा निर्मम बन्ने बहानामा संस्थाको मृत्युको कामना कदापि गर्न सक्दैन ।

यो अभियानभित्रै पसेर यो संस्था रूपान्तरित भविष्यको कामना गरे पनि तुरुन्तै त्यो सम्भावना भने देखिन्न । त्यहाँ खुफिया दाउपेच तीव्र्र होउन्जेल, एलिट ब्यापारीहरूको ब्याक्तिगत स्वार्थ र मजदुर बीचको सामाजिक स्वार्थको टकराव रहुन्जेल संस्था स्वतन्त्र रहन्न । हरेक प्रकारका घेराबन्दी र दाउपेचले संस्थाको भविष्यलाई थिलोथिलो बनाएको छ ।

महाधिवेशन प्रतिनिधि चयन र दाउपेच :

बेल्जियमलाई नै हेरौँ । संसारका प्रतिनिधि चयनको तिकडमको लागि एक ज्वलन्त प्रतिनिधि उदाहरण बनेको छ यहाँको पूर्वसमन्वय परिषद् । यहाँ पङ्क्तिकारलाई पनि एनआरएनए केन्द्रिय प्रतिनिधिको रूपमा फर्म भर्न अनुरोध गरियो । मेरो कदाचित चाहना भएर हैन, तर केन्द्रिय अध्यक्षले समेत तपाईंले बेल्जियमबाट प्रतिनिधि फर्म भर्नुस् । तपाईं आइसीसी मिडियाको मान्छे र पुरानो एनआरएन हो’ भन्नुभएको थियो ।

जताततै जालीहरूको भरिभराउ छ । यी जालीहरूले अनेक तिकडम गर्न सिकेका छन् । केन्द्रका मान्छे आफ्नो अनुकुल प्रतिनिधि चयन गर्न आफै राष्ट्रिय समन्वय परिषदमा चुनाव आयुक्त बन्दछन्, चुनावमा आफै बाक्सा फाल्छन् वा फाल्न लगाउँछन्, छानबिन समिति बनाउँछन्, रिपोर्ट आउँदैन र चुनावमा जितेकालाई हराउँछन् भने हारेकालाई जिताउँछन् । यो खेल खेल्न पनि यिनलाई यिनका मालिकहरूले सिकाएका हुन् । यी पनि माथि हुने मालिकका दलाल नै हुन् । यिनको हैसियत दलालको भन्दा कुनै तहमा पनि बढी छैन । माथिको आशीर्वाद भएन भने चुनाव हार्छन् । त्यसैले मालिकको सेवा गर्ने असल नोकरहरू पठाउदा त्यहाँ एक स्वाभिमानी पत्रकार पर्ने कुरै भएन ।

मैले धेरै पटक मेरो मित्र कमल, भाइसाथीहरूलाई भनेको पनि छु । मैले गरेका कतिपय आलोचनात्मक समीक्षामा साथीहरू बेखुशी पनि होलान् । किन भर्नु र यो अरुको भऱ्याङ बन्ने प्रतिनिधि फर्म भनेर महत्व नदिएकै हो । समय छँदै एकदिन एक मित्रले ‘फर्म भर्नुभयो त ? के गर्दा रहेछन् विचार त गर्नुस् ! साथी चिन्नुपर्छ, तपाईं आइसीसी मिडियाको मान्छे भर्नुस्’ भने । फोन गरेर बेल्जियमका तात्कालिक चित्र सुवेदीलाई सोधेको उनले पनि भर्नुस् भने । मैले उनले भनेबमोजिम भरेर पठाएँ ।

तर धुम्रकेतुहरूले किन मलाई चयन गर्थे ! मेरो नाम मिलेमोतोमै अन्तिम नामावली प्रकाशित गर्ने अघिल्लो दिन हटाएछन् । त्यसमा तात्कालिक महासचिव लगायतको प्रस्ताव र तात्कालिक अध्यक्ष निर्वाचन समितिका दुई जनाको सहमतिमा हटाएको सुचना पाएँ । मलाई त्यही थाहा पाउनु थियो, पुग्यो ।

‘यदि उनीहरूले हटाए भने भन्नुहोला डिल्लीजी !’ कुमारजीले भेटमा भन्नुभएको थियो । तर म अरुको भऱ्याङ बन्न अझै पनि चाहेको छैन र कुमारजीलाई ‘मलाई मनोनित गर्नुस्’ भन्न कदाचित चाहिनँ । हामीजस्ता आम मान्छे जुन दिन यो संस्था खोजेर यसको प्रतिनिधि बन्दा गौरवको अनुभूति हुनेछ त्यो दिन मलाई यो संस्थाको प्रतिनिधि बन्न कसैले रोक्ने छैन । अहिले पनि चुनावमा विगतको किनबेच दोहरिने सम्भावना बढेकोले प्रतिनिधि नबनाएकै उत्तम लाग्यो ।

अझै यो संस्था दलाल, मानवतस्कर र अँध्यारा युगका आततायीहरूको चंगुलबाट मुक्त भैसकेको छैन । त्यस्ता दलालहरू अहिले पनि केन्द्रवरपरको माफिया एलिट ग्रुपको दलालीमा आफ्नो झुण्ड बनाएर लागेका छन् । यिनीहरूको झुण्डले यो समाजको लागि प्रोपोगाण्डा बढी र काम आफ्नो ब्यावसायिक स्वार्थमा गर्ने गरेको छ । यी मान्छेहरू सबै फरकफरक लेबलका झुण्डमा छन् । त्यसैले यो वा त्यो भनेर मलाई कसैको साखिल्लो बन्नु पनि छैन ।

दलाल र दास चरित्रका मान्छेहरू आलोचनात्मक चेतसहितको सुझाव वा प्रतिक्रियाबाट तर्सिन्छन् । झन् एनआरएनएका कथित अभियन्ता बनेर प्रोपोगाण्डा चलाउनेहरू स्वाभिमानी पत्रकारहरूसँग बढी नै तर्सिन्छन् । उनीहरूले सदैव फेवर खोज्छन् र उनको गुलामी गर्ने बाहेक अरुलाई नजिकमा पर्न दिँदैनन् । तर मेरो विचारमा संस्थागत हितको लागि त्यो राम्रो प्रवृत्ति हैन र स्वयम् उनिहरूका लागि पनि त्यो चरित्र आत्मघाती हो ।

तर यो विषयमा कुमारजी अपवाद हुन् । उनले मलाई कहिल्यै आलोचना नगर्नुस् भनेनन्, अभियानका सकारात्मक वेबको बारेमा पनि लेख्नुस् सम्म भने । मेरो वा नेतृत्वको भक्तिगान लेख्नुस् भनेको सुन्नु परेन ।

बुझ्न वा सोध्न सक्नुहुन्छ, केन्द्रीय अध्यक्षलगायत नेतृत्वमा भएका केही अग्रजहरूले ‘आलोचना गर्न नडराउने पत्रकार चाहियो तपाईं आउनुस्’ भनेर मलाई भनेकै हुन् । घाँटी जोडेर गाला चाट्ने भन्दा खाना र काम दिएर गाला चड्काउने मान्छे खोज्नु मदनमणिलाई बीपीले खोजेझैँ हो भन्ने लागेर अन्तर्राष्ट्रिय मिडियामा रही आलोचनात्मक सुझाव दिने काम पनि गरियो । यो पटक मात्र एनआरएनएको बारेमा धेरै लेखियो ।

यो हैन कि कुमारजीको टिमले रूपान्तरण अभियानको तरङ्गसँग नजोडेको भए बसिरहन्थेँ । सायद म अभियानमा आउँदैन थिएँ अथवा आए पनि अभियानबाट निस्कीसकेको हुन्थेँ । जुन स्थानमा मानिसको स्वाभिमानलाई बस्तुलाई झैँ मूल्य तोकेर खरिद–बिक्री गरिन्छ, त्यो स्वाभिमानलाई बली दिने कसाइ घरमा म कदापि जान्न ।’ पहिला पनि मैले साथीहरूलाई केन्द्रिय प्रतिनिधि बन्न अस्विकार गरेको थिएँ । त्यसैले म कसैको स्वाभिमानको बली दिइने स्थानमा जाँदिनँ र झुक्किएर गएपछि पनि फर्कन कत्ति बेर लगाउँदिनँ । त्यसैकारण अहिलेसम्म म केन्द्रमा प्रतिनिधि बनेर गएको छैन । २००६ मा मित्र युवराज गुरुङले मलाई समितिमा प्रस्ताव गर्दा पनि म आफ्नै विश्लेषणको कारण त्यो व्यापारिक संजालमा गइनँ ।

योपटक मिडिया समितिमा जानुको कारण एक साथीहरूको आग्रह हो भने अर्को पत्रकारको फ्लेबर आउने भएर पनि हो । अझै केही साथीहरूले तपाईं एनआरएन मिडिया समितिमा नजानुपर्ने, एनआरएन अभियानमा नजोडिनुपर्ने पनि भन्दैछन् । अझै पनि त्यहाँ गएर गल्ती भयो भन्ने लागेको छैन । कमसे कम अनुभव त भयो । साथीहरूका कुनै पद पाए भुइँको टिप्नसमेत पछि नपरेका धेरै उदाहरण त्यहाँबाट धेरै थाहा भयो । भित्री-बाहिरी रणनीति, कनेक्सन, भित्री-बाहिरि चेहरा र कर्तुत सबै बुझियो । बेल्जियमलगायत युरोपमा कथित पवित्र र इमान्दार क्रान्तिकारी मित्रहरूले समेत भोट हाल्दा पद र पैसाको शर्त राखेर भोट हालेका छन् । आफ्नो ग्रुपमा यति मत छन् भनेर पैसा लिएका छन् । उठेको पद पैसामा बिक्री गरेका छन् । केन्द्रको एउटा पद १७ देखि ४० लाखसम्ममा बिक्री भएको छ । साथीहरूले दाममा स्वाभिमान बेचेका छन् ।

निष्कर्षमा भन्नुपर्दा समेत मेरो राय सदैव एजेण्डाप्रधान नै हुनेछ । नेतृत्वमा कुलजी, बद्रीजी वा कुमारजीले दोहोरिएर आए पनि एजेन्डा हेरेर समर्थन, सहयोग वा विरोध हुनेछ । ब्यक्तिप्रति पूर्वाग्रही हुने प्रवृत्तिले संस्था वा अभियानलाई नोक्सान पुऱ्याउँछ ।

कुमारजीलाई फोन गरेर सोध्न सक्नुहुन्छ मैले उहाँले ल्याएका रूपान्तरणका एजेन्डाबारे छलफल गर्दा ‘तपाईं सफल हुनुभयो’ भनेर भनेको थिएँ । अझै भन्दैछु– ‘रूपान्तरणको एजेण्डागत प्रवेशलाई हेर्दा उनको कार्यकाल सफल भैसक्यो जस्तो लाग्छ ।’ केही आस्थाकर्मीहरूले अनुहार र आस्थाको रंग हेरेर समर्थन र विरोध गर्ने स्वभाव देखाउँदै छन् । त्योबारे मेरो भन्नु केही छैन । विषेशतः यो कार्यकाललाई मात्र हेर्दा अध्यक्षको आसुरीकरण वा देवत्वकरण गर्न जरुरी छैन । किनभने कुमारजीको कार्यकालमा ल्याइएको रूपान्तरणका मुलभुत मुद्दाभित्र शेष घलेको कार्यकालमा ल्याइएको संस्थागत सुधारको योजना समेत छिरेको छ । त्यसले रूपान्तरणको स्वामित्वलाई तन्काइदिएको मेरो विश्लेषण हो ।

एउटा कुरो के ठोकेर भन्न सकिन्छ भने अब चाहेर पनि कसैले रूपान्तरणको एजेन्डाबाट पछाढि फर्कने आँट गर्न सक्दैन । यो कुमार पन्तको कार्यकालको महत्वपुर्ण सम्पत्ति हो । पुर्वअध्यक्ष शेष घलेको ‘भिजन २०२० एन्ड वियोन्ड’को सुधार एजेन्डामा टेकेर यो एजेन्डा आयो । ‘भिजन २०२०’ एजेन्डा केवल संरचनाप्रधान थियो भने अहिलेको एजेण्डा समग्र संगठनात्मक गतिको रूपान्तरणमा आधारित छ । नेतृत्वमा रहेकाहरू निरन्तर यही अभियानमा हिँड्ने यात्री भएकोले उहाँहरूका नियतले अभियानलाई ओझेलमा पार्दा आफ्नो करियर दाउमा राख्नुपर्ने हुन्छ । आगामी केन्द्रिय चुनावको तिकडमपूर्ण जोड घटाउले अभियानका सकारात्मक अभ्यासलाई अझै चुनौती दिने खतरा पैदा गरेको छ । यसबाट कुमारजीको नेतृत्व सतर्कतापूर्वक जोगिएला कि नालीमा मिसिएला निकट भविष्यमै देखिने छ । आफ्ना व्यापारिक स्वार्थलाई डायस्पोराको नेपाली समुदायको स्वार्थले नेतृत्व नगरुन्जेल यो समाजमा पनि अन्तरसंघर्ष चर्कीरहने छ । अन्तमा आशा गरौँ समुदायको निर्णायक आँटले सबै विगतका गल्तीहरूलाई निषेध गर्ने छ । चेतना भया ।

(पङ्क्तिकार एनआरएनए अन्तराष्ट्रिय मिडिया समितिका सदस्य हुन् )

  • बेल्जियम