एनआरएनए आईसीसी कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेदवारी घोषणा

एनआरएनए आईसीसी कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेदवारी घोषणा



आगामी अक्टोबरमा हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्व छनौटका लागि हुन लागेको निर्वाचनमा अमेरिकावासी राजन त्रिपाठीले एनआरएनए आईसीसी कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको जिम्मेवारी सफलताका साथ निर्वाह गरिसकेका त्रिपाठीले संसारभर नेपाली समुदायका खास–खास मुद्दाहरू के हुन् र तिनलाई आफ्नो मातृभूमिको सरकार एवम् संसारभरका सम्बन्धित निकायमा कसरी दह्रोसँग उठाउन सकिन्छ भन्नेबारे आफूले गहिराइमा पुगेर अध्ययन गरेको दाबीसहित विश्वभर छरिएर रहेका नेपाली समुदायको समस्या समाधानका लागि काँधमा काँध मिलाएर अघि बढ्न आफू थप प्रेरित रहेको बताएका छन् ।

आफ्नो उम्मेदवारी घोषणाबारे जानकारी गराउन जारी गरिएको प्रेस विज्ञप्तिमा जुझारु एनआरएन अभियन्ता राजन त्रिपाठीले भनेका छन्- ‘यसपटकको निर्वाचनका क्रममा मैले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । संयुक्त राज्य अमेरिकाको बसाइका क्रममा विगत वर्षहरूदेखि नै म नेपाली समुदायको हित, उन्नति, सुख-दुःख र मातृभूमिका लागि आफ्नो क्षमतालाई प्रयोग गर्दै आएको कुरा विदित नै छ । विश्वलाई नै तहसनहस बनाउने कोरोना महामारीको अन्यौलग्रस्त अवस्थामा आफ्नो समुदायको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेतर्फ गरिएका प्रयासहरूले म अझ हौसिएको छु र गैरआवासीय नेपालीको आवाज बनेर अघि बढ्ने कुरामा मलाई ठूलो प्रेरणा मिलेको छ । यही प्रेरणा र हौसलालाई साक्षी राखेर आगामी निर्वाचनमा उम्मेदवार बन्ने निर्णयमा पुगेको जानकारी गराउन पाउँदा म अत्यन्त उत्साहित भएको छु ।’

‘छिमेकीबाट नेपालको सीमा मिचिएर मातृभूमिलाई अप्ठ्यारो परेको बेला संयुक्त राष्ट्र संघको न्यूयोर्क मुख्यालयसम्म पुगेर नेपालबारे तथ्यपूर्ण जानकारी दिँदै सिमा मिच्नेलाई सजग गराउन दबाब सिर्जना गर्दा होस् वा युवा एवं महिलाका मुद्दाहरूमा अवाज उठाउँदा तथा छरिएर असंगठित बनेर बसेको अवस्थाका अमेरिकाज क्षेत्रका विभिन्न देशका नेपालीहरुलाई गैरआवासीय नेपाली संघभित्र संगठित गर्ने कार्य गर्दा होस्- मैले नेपाली समुदाय र मातृभूमिलाई शिरमा राखेको छु’- राजनले आफ्नो विज्ञप्तिमा अगाडि भनेका छन्- ‘हरेक संकट, समस्या र चुनौतीहरू आगामी दिनका लागि शिक्षा हुन् । सामाजिक कार्यका क्रममा आपसका देखिएका मतान्तरहरूलाई समाधानको प्रयास गर्दा होस् वा महामारीमा सजगताका लागि मन बचन र कर्मले लागिपर्दा होस्, विगतका वर्षहरूले गैरआवासीय नेपाली संघलाई कस्तो बनाउनु पर्छ र यसलाई कसरी गैरआवासीय नेपालीजनको हितमा लगाउनुपर्छ भन्नेबारे मैले आफूलाई तिखार्ने मौका पाएको छु । यो अनुभव, ज्ञान र सीपलाई अबको नेतृत्वदायी भूमिकाका लागि प्रयोग गर्ने मेरो जमर्को छ ।’

गैरआवासीय नेपाली संघले विगतमा संचालन गरेका विभिन्न परियोजनाका बारेमा उठेका प्रश्नहरूबाट शिक्षा लिन चुक्नु हुँदैन भन्ने धारणा राख्दै त्रिपाठीले कोषाध्यक्षका रूपमा संस्थामा आर्थिक पारदर्शिता आफ्नो पहिलो एजेण्डा हुने उल्लेख गरेका छन् । निर्णय प्रक्रियामा हुने पारदर्शिताले संस्थाको हिसाबकिताबलाई पनि पारदर्शी बनाउँछ भन्दै उनले संघका सबै निर्णयहरू पारदर्शी र गैरआवासीय नेपालीहरुले स्वामित्व लिन सक्ने बनाउने तथा यसका लागि दह्रिलो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।