यसरी समापन गरियो टोकियो पाराओलम्पिक खेल प्रतियोगिता

यसरी समापन गरियो टोकियो पाराओलम्पिक खेल प्रतियोगिता


  • टोकियो प्रतिनिधि, (जापान)

जापानको राजधानी टोकियोमा आयोजित २०२० टोकियो पाराओलम्पिक खेल समापन भएको छ । कोरोना भाइरस प्रभावका कारण एक वर्ष स्थगित भएर आयोजित खेल सेप्टेम्बर ५ तारिख साँझ समापन समारोह सम्पन्न भएको हो ।

खेल समापनसँगै टोकियो पाराओलम्पिक आयोजकले झण्डा अर्को आयोजक शहर पेरिसलाई हस्तान्तरण गरेको छ । १३ दिन आयोजित खेल आयोजना योसँगै समापन भएको छ । टोकियो ओलम्पिक र पाराओलम्पिक खेल विशेष र असामान्य तरिकाले सम्पन्न भएको छ । जसमा खेल स्थानहरु उही रहे पनि इतिहासमै पहिलो पटक खेल आयोजना आमदर्शकको उपस्थितिबिना सम्पन्न गरिएको छ ।

गत महिनाको २४ तारिखमा शुरू भएको टोकियो पाराओलम्पिक खेल सन् १ ९ ६४ पछि दोस्रो पटक टोकियो शहरले आयोजना गरेको हो । एउटै शहरमा दुई पटक ओलम्पिक र पाराओलम्पिक खेल आयोजना भएको यो इतिहासमै पहिलो पटक हो । २२ वटा विधामा १६२ देश तथा क्षेत्रका खेल समुहहरुले पाराओलम्पिकमा सहभागीता जनाएका थिए । जसमा ४,४०० सय खेलाडीहरुले सहभागिता जनाउँदा शरणार्थी टिमको पनि सहभागिता रहेको थियो ।

उद्घाटन समारोहजस्तै समापन समारोह पनि बिना कुनै दर्शक राजधानी टोकियोको मध्यभागमा रहेको राष्ट्रिय रंगशालामा आइतबार साँझ ८ बजे आयोजना गरिएको थियो । समारोहमा सहभागी टिमहरुको झण्डा प्रदर्शनका क्रममा दुई अफगानी खेलाडीहरुको साथमा अफगानिस्तानको झण्डा प्रदर्शन गरिएको थियो । जहाँ सत्ता पलटपछि तालिवानीहरुले सत्ता हातमा लिएका छन् । दुई अफगानी खेलाडीहरुलाई भने त्यहाँ सत्ता परिवर्तनको अन्तिम घडिमा पाराओलम्पिक आयोजकले उद्दार गरी अन्य देशमा राखेर जापान सहभागिताको लागि पठाएको थियो ।

समारोहमा जापानी टिम राष्ट्रिय झण्डा फहराउँदै अन्तिममा प्रवेश गरेको थियो । टेबल टेनिस खेलाडी कोयो इवाबुचीले सो अवसरमा कला अभिनय प्रस्तुत गरेका थिए ।

झण्डा हस्तान्तरण समारोहमा पाराओलम्पिकको झण्डा आगामी आयोजक शहर पेरिसलाई हस्तान्तरण गरिएको थियो । फ्रान्सको राजधानी पेरिस शहरमा सन् २०२४ अगस्ट २८ , देखि सेप्टेम्बर ८ तारिखसम्म आगामी पाराओलम्पिक खेल आयोजना गरिने कार्यतालिका रहेको छ । आयोजक टोकियो शहरका गर्भनर कोइके युरिकोले अन्तर्राष्ट्रिय पाराओलम्पिक समितिका अध्यक्ष मार्फत पेरिश शहरका मेयर हिदाल्गोलाई पाराओलम्पिकको झण्डा हस्तान्तरण गरेकी हुन् ।

त्यसपश्चात खेल आयोजक समितिका अध्यक्ष हाशिमोतोले ओलम्पिक खेल समापन समारोहलाई सम्बोधन गर्दै भनिन्- ‘म तपाईंहरुको जबर्दस्त प्रदर्शन देखेर आश्चर्यचकित भएको थिएँ । यसले हाम्रो मुटुमा सीधा र गहिरोसँग छाप पारेको छ । हामी एक अर्काको मतभेदलाई स्वीकार गर्दछौँ र एकअर्कालाई समर्थन गर्दछौं अर्थात् हामीहरुबीच कुनै भेदभाव छैन । हामी विविधतायुक्त सद्भावसहितको भविष्य निर्माणका प्रतिज्ञा गर्दछौँ ।’

हाशिमोतोको सम्वोधन पश्चात पाराओलम्पिक अध्यक्ष पार्सन्सले खेल समापनको घोषणा गरे र पाराओलम्पिकमा प्रज्वलित मशाल निभाइएको थियो । गत महिना १२ तारिख यता पाराओलम्पिकका खेल सम्वद्ध खेलाडी र अन्य व्यक्ति गरेर ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन् । जसमध्ये एक खेलाडी संक्रमणको कारण अस्पताल भर्ना भएका छन् । ओलम्पिक र पाराओलम्पिक खेल अनिश्चय र घरेलु विरोधका बीच जापानले सफलतापूवर्क सम्पन्न गरेको छ ।

पाराओलम्पिक खेलमा आयोजक देश जापानले १३ स्वर्ण पदकसहित ५१ पदक जितेको छ । जुन अघिल्लो पाराओलम्पिक भन्दा पदक संख्याका आधारमा धेरै हो । पदक संख्यामा आधारमा जापान ११औं नम्वरमा रहन सफल भएको छ ।

चीनले ९ ६ स्वर्ण पदक सहित पाराओलम्पिकमा एकछत्र वर्चस्व कायम गर्‍यो । सर्वाधिक पदक संख्या बटुल्ने क्रममा चीनले ३८ रजत र ४५ कास्य गरेर २०७ पदक हात पारेको छ । दोस्रोमा रहेको बेलायतले ४१ स्वर्ण पदक सहित १२४ पदक प्राप्त गरेको छ ।

यसैगरी अमेरिका ३७ स्वर्णसहित १०७ पदक, रसियन पाराओलम्पिक कमिटी ३६ स्वर्ण सहित ११८ पदक पाएर चौथो स्थानमा रहेको छ । खेलमा सहभागी १६२ देश तथा क्षेत्रहरुमध्ये केवल ७८ देशले मात्र पदक हात पारेका छन् । नेपालको भने यसपटक पनि ओलम्पिक सहित पाराओलम्पिक खेलमा केही राष्ट्रिय कीर्तिमान बाहेक पदकको आधारमा सहभागितामै सीमित हुन पुगेको छ ।