‘इना बेल्जियम’द्वारा नेपाली महिलालाई दर खुवाइयो

‘इना बेल्जियम’द्वारा नेपाली महिलालाई दर खुवाइयो


  • सनत आचार्य

‘युरो नेपाल कलाकार संघ बेल्जियम’ले तीजको पूर्वसन्ध्यामा लुभेन शहरमा साँस्कृतिक कार्यक्रम प्रदर्शनका साथै महिलाहरूको लागि दर कार्यक्रम आयोजना गरेको छ ।

आइतबार कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राजदूत गेहेन्द्र राजभण्डारीले प्रवासमा पनि हाम्रा मौलिक धर्म–संस्कृति संरक्षणमा संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । तीज पर्व हिन्दु नारीहरूको ठुलो पर्व भएको उल्लेख गर्दै उहाँले यो पर्व आफैमा सन्देशमुलक भएको र यसले समाजमा नारी–चेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नु पर्नेमा जोड दिँदै कार्यक्रमले नेपाली-नेपालीबीच अपनत्व र सद्भाव कायम राख्नमा प्रभावकारी हुने धारणा राख्नुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्गबहादुर केसीले इनाले प्रत्येक वर्ष आयोजना गर्ने गरेको यो कार्यक्रमको प्रशंसा गर्दै तीज समस्त हिन्दु नारीहरूको महान् पर्व भएकोले यो पर्व दुःख बिसाउने सुख बाँड्ने पर्व भएको उल्लेख गर्नुभयो ।

केसीले आफू पनि यो कार्यक्रममा सहभागी हुन पाएको आभार व्यक्त गर्दै आफूहरूले पनि यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिन खोजेको जानकारी दिनुभयो ।

कार्यक्रमको आरम्भमा हेना पुन, तेन्जिङ सुडोनो, तेन्जिङ सोमसोले तीजको रहर आयो बरीलै र मायालु तिमी कता छौ भन्ने गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको बीच भागमा नेपाली मौलिक परम्परा झल्काउन लाखे नाच र पञ्चेबाजा समेत प्रदर्शन गरिएको थियो ।

रातो सारी र गहनामा सजिएका महिलाहरूले नेपाली लोकभाकाका विभिन्न तीज-गीतमा छमछमी नाचेर मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाली महिलाको नाच हेर्न विदेशीहरू समेत लालायित देखिएका थिए भने केहि विदेशी महिलासमेत तीजका भाकामा नाच्दै रमाएका थिए । विदेशीहरूले पनि सबैको नाचबाट भरपूर आनन्द लिएका थिए ।

उपस्थित महिला–पुरुष सबैलाई आयोजकको तर्फबाट नेपाली परिकारसहितको दर पनि खुवाइएको थियो ।

यसक्रममा रमाइलोको लागि आयोजकद्वारा १० युरो टिकटमा भाग्योदय चिठ्ठा खोलिएको थियो, जसमा प्रथम पुरस्कार तिलहरी, दोश्रो पुरस्कारमा सुनको लकेट र तेश्रो पुरस्कारमा साडी रहेको थियो ।

कृष्ण ज्वलर्सद्वारा प्रयोजित पहिलो चिठ्ठा तिलहरी बबिता केसीलाई परेको थियो । त्यस्तै एसियन ज्वयलर्सद्वारा प्रायोजित सुनको लकेट अन्जु श्रेष्ठलाई र तेश्रो चिठ्ठा अन्तर्गत साडी नन्दा गुरुङलाई परेको थियो । साना बालिकाहरूको हातबाट चिट्ठा तानिएको थियो ।

इना बेल्जियमका अध्यक्ष बलराम पुनको सभापतित्वमा कार्यक्रम आयोजना भएको थियो ।

यसैगरी एनआरएनए बेल्जियम अन्तर्गतको महिला फोरम मुल आयोजक र नेपाल ब्रसेल्स मिलन केन्द्र सह–आयोजक भइ ब्रसेल्समा तीजविशेष तथा दरखाने कार्यक्रम आयोजना गरियो ।

बेल्जियमको राजधानी ब्रसेल्सनजिक रहेका प्रवासी नेपाली महिलाहरूले उक्त कार्यक्रममा सहभागी भई दर खाँदै नाचेको एनआरएनए बेल्जियमकी महिला संयोजक ईश्वरा शर्माले जानकारी दिनुभयो ।