वासिङ्टनमा गोली चल्दा तीनको मृत्यु, कम्तीमा तीन घाइते

वासिङ्टनमा गोली चल्दा तीनको मृत्यु, कम्तीमा तीन घाइते



वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो ।

डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, ‘आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।’

डीसी प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार संदिग्धहरू एक्कासी गाडीबाट बाहिर निस्किए र शनिबार राति मानिसहरूको भीडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक सबै वयस्कहरू हुन् । प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ ।