चुनाव निष्पक्ष हुने आधार माग्दै परराष्ट्रद्वारा एनआरएनएलाई पत्र

चुनाव निष्पक्ष हुने आधार माग्दै परराष्ट्रद्वारा एनआरएनएलाई पत्र



पाँच दिनभित्र जवाफ दिन निर्देशन

  • सनत आचार्य (युरोप प्रतिनिधि)

गैरआवासीय नेपाली संघको आसन्न चुनावको निश्पक्षताबारे चासो व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले संघको नाममा पत्र लेखेको छ ।

निर्वाचन निश्पक्ष, स्वच्छ, धाँधलीरहित र विश्वसनीय बनाउन संघले गरेको तयारीबारे बुझ्ने उद्देश्यले परराष्ट्रले पत्र लेखेको बुझिएको छ । पत्रमा पाँच दिनभित्र जवाफ दिन निर्देश गरिएको छ ।

दशौँ महाधिवेशनको संघारमा रहेको एनआरएनएले विगतका चुनावमा धाँधली एवम् राजनीतिकरण भएको आरोप खेप्दै आएको छ । पछिल्लो समयमा बेल्जियम, जापान, बेलायत लगायतका एनसीसीको चुनावमा धाँधली भएको आरोप लागेपछि केही देशमा रहेका संघका सदस्यहरूले परराष्ट्रमा सिधै पत्राचार गरेका थिए । परराष्ट्रले उपयुक्त समयमा यसबारे बुझ्ने जवाफ दिएर आश्वस्त तुल्याएको थियो ।

पत्रका सम्बन्धमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले एनआरएनको इतिहासमा परराष्ट्र मन्त्रालयले यस प्रकारको पत्र नकाटेको र आफूले यसलाई सकारात्मक रूपमै लिएको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले निर्वाचनको क्रममा विगतमा केही एनसीसीहरूमा सामान्य विवाद आउने गरेको र उक्त विवाद आन्तरिक रूपमा मिलाउँदै आएकोमा यस बर्ष अलि बढी विवादहरू आएको र आफुहरू समाधानका लागि प्रयत्नशील रहेको उल्लेख गर्नुभयो ।

श्रेष्ठ भन्नुहुन्छ- ‘यसरी पहिलो पटक पत्रचार गर्दा हामीलाई अप्ठ्यारो महशुस हुनु स्वभाविक हो । निःसन्देह हामीले मन्त्रालयले गरेको निर्णयहरूलाई मान्दै आएका छौँ । यसबारे पनि छलफल गरी निर्णयमा पुग्ने छौँ । हामीहरुले यसलाई सामान्य रुपमा लिएका छौँ ।’

आफु केही समय बाहिर रहेको हुनाले संघको पछिल्लो निर्णयका बारेमा जानकारी नभएकोले यस्लाई बुझेर जानकारी दिने बताउनुभयो ।

मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेका पत्रमा अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको विवरणबारे चासो व्यक्त गरिएको छ । त्यस्तै निर्वाचन प्रकृयामा प्रविधिको दुरुपयोग गरिएको, तोकिएको समयावधि भन्दा पछि समय सम्म पनि निर्वाचन गराईएको, अगष्ट १५ पछि पनि प्रतिनिधिको विवरण पठाईएको, उम्मेदवार भएका व्यक्ति नै निर्वाचन गराउने प्रकृयामा सामेल भएको पाइएको, निर्वाचन आचारसंहिताको पालना नगरी उलंघन गरिएको लगायतका गुनासा गुनासा पाइएकोले त्यसको यथार्थ जानकारी दिन भनिएको छ