आइसीसी महिला संयोजकमा बेलायतवासी संगीताको दाबी

आइसीसी महिला संयोजकमा बेलायतवासी संगीताको दाबी


एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय रहंदै आएकी बेलायतवासी एनआरएन अभियन्ता संगीता मरहट्टाले एनआरएनए आइसीसीको आसन्न निर्वाचनमा महिला संयोजक पदमा बेलायतबाट उम्मेदवारी दिने भएकी छन् । यसअघि एनआरएनए आइसीसी र एनसीसी यूकेका महत्वपूर्ण जिम्मेवारीमा रहेर भूमिका निभाइसकेकी मरहट्टाले महिला संयोजक पदमा उम्मेदवारी दिने निश्चय गरेको हालै जानकारी गराएकी हुन् ।

सन् २०१७-१९ मा आइसीसीको युरोप क्षेत्रीय महिला उपसंयोजक रहेकी मरहट्टा अहिले परिषदको मानार्थ सदस्य छन् । त्यसअघि सन् २०१५–१७ मा उनले आइसीसी सदस्य तथा २०१३-१५ मा एनसीसी यूकेको सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । सन् २०११ मा एनआरएनए यूकेको कार्यसमिति प्रवेश गरेकी उनले महिला संयोजकको भूमिकासमेत सफलतापूर्वक निभाएकी थिइन् ।

आफ्ना सहकर्मी, अग्रज र शुभेच्छुक सबैसँगको सल्लाह र छलफलपछि महिला संयोजकमा उम्मेद्वारी दिने निर्णय लिएको जानकारी दिँदै संगीताले भनिन्, ‘अहिलेसम्म मैले आर्जन गरेको अनुभव, सिकाइ र क्षमतालाई सदुपयोग गर्दै यो भूमिकालाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ, यही आत्मविश्वास र केही गरौँ भन्ने हुटहुटीको जगमा उभिएर मैले उम्मेदवारी घोषणा गरेकी हुँ ।’

आइसीसी महिला संयोजक पदको उम्मेदवारका रूपमा मरहट्टाले एनआरएनएमा महिलाहरुको सक्रिय सहभागितालाई प्रवर्द्धन गर्ने प्रमुख एजेण्डा अघि सारेकी छन् । यसका लागि सबै मुलुकस्थित एनसीसीहरूमा महिला फोरमलाई मजबुत पार्ने गरी कार्यक्रमहरू ल्याउने उनको योजना छ ।

त्यस्तै, विदेशस्थित व्यवसायी तथा प्रोफेशनल महिलाहरुको संजाल तयार गर्ने, सीप तथा तथा क्षमता विकास एवम् विस्तार गर्ने, खाडी मुलुकका महिलाहरूको समस्या उजागर गर्ने, वैदेशिक रोजगार र महिला स्वास्थ्यका क्षेत्रमा समन्वय गर्ने र सशक्त आवाज उठाउने जस्ता एजेन्डा पनि उनका प्राथमिकतामा छन् ।

विगत २१ वर्षदेखि बेलायतमा रही एक सफल व्यवसायीका रूपमा आफूलाई स्थापित गराएकी मरहट्टाले एनआरएनएका जुनसुकै जिम्मेवारीमा रहंदा पनि सक्रियतापूर्वक खटिन सक्ने पात्रको छवि बनाएकी छन् । एनआरएनए यूकेमा महिला संयोजक रहंदा उनले नारी दिवस मनाएर च्यारिटीमा सहयोग गर्ने कार्य शुरु गराएकी थिइन् । पछि युरोप महिला उपसंयोजकको भूमिकामा हुँदा पनि उनी युरोपका कयौं मुलुक पुगेर स्थानीय नेपाली महिलाहरुको सहभागिता र सशक्तिकरणका लागि निरन्तर खटिएकी थिइन् ।

नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छन् । त्यस्तै, बेलायतको थमसन फाउन्डेसनको उच्च शिक्षा छात्रवृत्तिअन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा समेत पूरा गरेकी उनले लामो समय पत्रकारितामा बिताउने क्रममा बीबीसी नेपाली सेवा, सगरमाथा सामुदायिक रेडियोलगायतका प्रतिष्ठित मिडियाहरूमा काम गरेकी थिइन् ।

मरहट्टाको उम्मेदवारी घोषणालाई सरोकारवाला एनआरएनहरूले सकारात्मक रूपमा लिएका छन् ।