सात समुन्द्रपारी पनि ग्राहकको पर्खाइमा नेपाली चेलीबेटी !

सात समुन्द्रपारी पनि ग्राहकको पर्खाइमा नेपाली चेलीबेटी !


‘दुबईमा दलालमार्फत कसैलाई कोठीमै काम गर्न ल्याउने गरिँदोरहेछ भने धेरैजसो तीनमहिने भिजिट भिसामार्फत बारडान्सर, लोकदोहोरी गायिकाको आवरणमा भित्र्याइने गरिँदोरहेछ । काम गर्दै जाँदा बस्ने चाहना भए, भिसाअवधि थप गर्दै काममा लगाइने गरिँदोरहेछ’
  • काशी पौडेल ‘आयुष’

एकदिन कामविशेषले देरा दुबई जानुपर्ने थियो । हाब्राबाट झरेर मूल सडक हुँदै बजारको भित्री गल्ली प्रवेश के गर्दै थिएँ, एक बंगाली आएर सोध्यो- ‘अरे भाइजान लड्की चाहिए ? नेपाली, बंगाली, इन्डियन, पाकिस्तानी, श्रीलंकन, फिलिपिनो, २० दिह्राम ! अगर माल अच्छा चाहिए तो ५० दिह्राम लगेगा !’

म अचम्भित भएँ । नेपाली चेलीले यहाँसमेत यौन कर्म गर्दैछन् ?? मनमनै सोचमग्न भए । हामीले गज्जबको परिवर्तन ल्याइएका रहेछौँ । नेपाली चेलिबेटी संसारका हरेक कुनामा यौनकर्म गर्न विवश छन् !! यस विषयमा यौन व्यवसायमा लागेका नेपाली चेलिबेटीको दैनिकी जान्न कौतुहल जाग्यो । अनि उसको अनुरोध स्विकार्दै कोठीसम्म पुगेँ । कोठा पुऱ्याएर उ फर्कियो । मैले ५० दिह्राम तिरेर एक घण्टाका लागि कोठाभित्र छिरेँ । यौनकर्मीको छेउमा के पुग्नै लागेको थिएँ, उनी आफ्नो अस्मिता मलाई सुम्पिन हतार गर्दै थिइन् । मानौँ कि म एउटा क्रुर यौनप्यासी हुँ । त्यसैले दायाँबायाँ गर्नुभन्दा पहिल्यै आफ्नो कर्म सिध्याउँ र, केही शान्तिको स्वास फेरुँ भन्ने मनसायले होला सायद ! चाइनिज पाराको बाटुलो अनुहार, चिम्सा आँखा, लामो कपाल, पातलो बारुले कम्मर, माछापुच्छ्रे जस्तो नितम्ब, चट्ट मिलेको बदन, आहा ! झट्ट हेर्दा नै परी जस्तै लाग्ने ती नेपाली युवतीको सामु मेरो पापी मन सम्हाल्न निकै सकस भएको आभास हुँदै थियो । सुन्दर नारीको सामु कत्रा-कत्रा राजा-महाराजाले त आफ्नो सर्वस्व गुमाएको, हायलकायल भएको इतिहास पढेको थिएँ । जाबो म बबुरोले कसरी सम्हालिन सक्छु होला र भन्ने लागेको थियो । उत्तेजना, आकर्षण र मदहोश हुँदाहुदै पनि जेनतेन आफ्नो मन सम्हालेँ । उनीसामु यौनग्राहकको रूपमा भन्दा पनि आश्चर्य लागेर केही बुझ्न पुगेको थिएँ । उनको विगत, कोठीसम्मको यात्रा र दैनिकी बारेमा के सोध्न थालेको थिएँ- ठाडै इन्कार गरिन् । आफ्नो पेशाभन्दा थप बोल्नै चाहिनन् । अनुनय-विनय गर्दै उनको व्यक्तिगत, पारिवारिक गोपनियतामा दखल नपुऱ्याउने बाचा कसममा बाँधिएपछि मात्र केही कुरा खोल्न राजी भइन् ।

हाल दुबईमा प्रत्यक्ष-परोक्ष रूपमा हजारौँ नेपाली यौनपेशामा लागेको कुरा जानकारहरू बताउँछन् । ती युवतीका अनुसार दलालमार्फत कसैलाई कोठीमै काम गर्न ल्याउने गरिँदोरहेछ भने धेरैजसो तीनमहिने भिजिट भिसामार्फत बारडान्सर, लोकदोहोरी गायिकाको आवरणमा भित्र्याइने गरिँदोरहेछ । काम गर्दै जाँदा बस्ने चाहना भए, भिषाअवधि थप गर्दै काममा लगाइने गरिँदोरहेछ । सयौँले ब्यापारिक भिसा लिएर आफ्नै अपार्टमेन्टमा स्वेच्छिक तवरले यौनपेशा अपनाएको समेत उनले बताइन् । कमाइको हिसाब गर्दा सामान्यतया १/२ लाखसम्म बचत हुन्छ । खासगरी यौनकर्मीको सेवाको शैली, धनाढ्यको आगमन हुँदा वा ब्यापार राम्रो चल्यो भने अझ धेरै हुनेसमेत जानकारी मिल्यो । उनको कोठीमा ग्राहक बनेर आउनेहरू प्रायः नेपाली, बंगाली, इन्डियन, पाकिस्तानी, श्रीलंकनलगायत एसियन मुलका नै हुने गरेको बताइन् । अझै विस्तारमा बुझ्ने भए दुबईस्थित याक एन्ड यती र बुर्जमानस्थित डान्सबारमा जान सुझाइन् ।

बाहिर निस्केर म सिधै याक एन्ड यतीतर्फ हानिएँ । साँझको समय साङ्गीतिक नशामा झुल्दै मनोरञ्जन लिने र लुकीलुकी नेपाली चेलीको सुन्दर बदनका अंग–अंग नियालेर मनको प्यास बुझाउने मानिस प्रशस्तै भेटिन्थे ।

लाग्दैथियो- म काठमाडौंको कुनै प्रतिष्ठित दोहोरी साँझमा झुम्दै छु । आफूलाई त्यहाँको रमाइलो वातावरण भन्दा पनि नेपाली चेलीको बारेमा बुझ्नु र लेख्नु थियो । निकै प्रतीक्षापछि नेपालमा दोहोरी गीतको २-३ एल्बम निकालेर परिचित भएकी एक गायिकासँग भेट भयो । मौकामा चौका हान्दै उनको तारिफ गरेँ । आफूलाई उनको ठूलो फ्यान भएको बताएँ । नारीको तारिफ पुरुषको मुखारवृन्दबाट सुनेपछि मख्ख परिन् । मैले आफू याक एन्ड यतीमा आउनुको कारण, उद्देश्यको कुरा राख्दै सक्ने सहयोग मागेँ । अघिसम्म मस्केर बोलेकी उनी यसपछि भने खासै खुल्न चाहिनन् । त्यही पनि जिद्दी गरेरै सोधेपछि केही कुरा खोल्न राजी भइन् ।

‘दिनरात, यो, त्यो, राम्रो, नराम्रो केही नहेरी सयौँ लोग्नेमान्छेको प्यास मेटाएर कमाएको पैसा हो । पापी संसार नै यसकै पछि लाग्ने रहेछ । के गर्नु हजुर.. गरिबीमा बाँच्न त कसको पो रहर होला र ?? अनि यस्तो नारकीय जीवन जिउन पनि कसको चाहना हुँदो हो र !!’

ती गायिकाले जानकारी दिएअनुसार देरास्थित रेडलाइट एरिया (कोठी) दुबइको डिस्को, बार, रेस्टुरेन्टको साथै दोहोरी क्लब र होटेलहरू साथै केही कलगर्लमा समेत भएको गरेको कुरा खुलाइन् । र, अन्त्यमा नाइट क्लबमा गएर प्रत्यक्ष अनुभव गर्न सुझाव दिइन् । उनीमार्फत थप तथ्य खुल्यो, खुशी हुँदै दोहोरीबाट बिदा भएँ ।

केही दिनपछि सायद रातको १० बजेको हुँदो हो, एकजना अरबी मित्रसँग नाइट क्लब हानिएँ । केही शुल्क तिरेर प्रवेश गरेपछि भने सम्झनलायक नै बन्यो । मदिराको मातमा झुम्दै हिन्दी, अंग्रेजी सङ्गीत रङ्गीन लाइटको प्रकाशमा डिस्को नाच्ने फिलिपिनो, इन्डियन, पाकिस्तानी अनि नेपाली डान्सरको प्रस्तुतिले जो-कसैलाई आफ्नो मन काबुमा राख्न निकै कठिन हुन्थ्यो । रूपको नशा त छँदैछ, त्योभन्दा अनौठो कुरा क्लबलाई ३ हजार बुझाएपछि १२ घन्टाको लागि डान्सर छानेर आफूसँग ल्याउन पाइने व्यवस्था रहेछ । नेपाली उखान ‘मामाको धन फुपुको श्राद्व’ भनेजस्तै अरबीको पैसा मलाई केको पिर ? डान्सबारमा ३-३ हजार दिह्राम बुझाएर अरबीकै रोजाइको एक फिलिपिनो र एक नेपाली केटीसँग नशाको तालमा झुम्मिदै नाचियो । अरबी र मेरो गन्तब्य एउटै भए पनि उद्देश्य फरक-फरक । आफ्नो उद्देश्य- जसरी हुन्छ नेपाली चेलीबेटीको यहाँको दिनचर्याका बारेमा धेरै जानकारी लिनु थियो । उ लाग्यो आफ्नो मनको प्यास बुझाउन, म लागेँ रङ्गीन संसारभित्र नेपाली नारीको अँध्यारो दैनिकी बुझ्न । शुरुमै नेपालीमा कुरा गर्दा अक्क न बक्क भइन् । सायद, उनलाई म नेपाली हुँ भन्ने नै लागेको रहेनछ । केही अप्ठ्यारो मान्दै मुख खोलिन्- ‘कस्तो तपाईं त.. ठ्याक्कै पाकिस्तानी जस्तो !’ म केही शान्त हुँदै झुठो विवरण दिँदै आफू कस्मिरी नेपाली भएको बताएँ । दुवै शान्त भयौँ । एकछिनको मौनता तोड्दै उनको आँखामा आँखा मिलाएर अनुहार मुसार्दै लत्रेको केश पन्छाइदिँदै सोधेँ- निकै सुन्दरी नाच्न पनि खुबै सिपालु ! अनि कसरी तय गर्नुभो त दुबईको यात्रा ? कमाई के-कति हुन्छ ?’ उनी मुसुमुसु हाँसी मात्र रहिन्, केही बोलिनन् ।

एकछिनपछिको मौनता तोड्दै उनी भन्न थालिन्- ‘खै.. सबै त्यसै भन्छन् । तर, म खासै राम्रो डान्सर त हैन भो ! पहिला पनि काठमाडौंमै डान्सबारमा काम गर्थें । एक जना डान्सबारको ग्राहक (दलाल) मार्फत कलाकारको रूपमा दुबई प्रवेश गरेकी हुँ । कमाइचाहिँ त्यस्तै हो डान्स गर्दागर्दै कोही राम्रो धनाढ्यको आँखा पऱ्यो भने टिप्स आउँछ । अझ उनीहरूको साथमा जान पाइयो भने त एकै रातमा लाखसम्म कमाइ हुन्छ । तर सधैं त्यस्तो सौभाग्य मिल्दैन । अझ जिज्ञासु बन्दै मैले उनको कमाइको बारेमा थप बुझ्ने इच्छा जाहेर गरेँ । उनी यहाँ आएको ६ महिनामै २५ लाख पठाइसकेकी रहिछन् । ‘दिनरात, यो, त्यो, राम्रो, नराम्रो केही नहेरी सयौँ लोग्नेमान्छेको प्यास मेटाएर कमाएको पैसा हो । पापी संसार नै यसकै पछि लाग्ने रहेछ । के गर्नु हजुर.. गरिबीमा बाँच्न त कसको पो रहर होला र ?? अनि यस्तो नारकीय जीवन जिउन पनि कसको चाहना हुँदो हो र !!’ म भावुक भएर सुन्दै थिए । उनी निरन्तर मनका वेदना फुकाउँदै थिइन् ।

‘नेपालमा धेरै दुःख छ । मेरो घर-परिवार गरिव भएर अपहेलित हुँदाको पीडाले आमाबुबा पलपल मर्दा मलाई असैह्य पीडा हुन्थ्यो । त्यसैले यो व्यवसाय रोज्न बाध्य भएँ अनि दुबइसम्मको यात्रा तय गर्न विवश भएकी हुँ । अबको ६ महिनापछि नेपाल जान्छु । उपत्यकामा एउटा चिटिक्क परेको घर किन्ने विचार गरेकी छु । अनि अर्को एक वर्ष काम गरेर कमाएको पैसाले फेन्सी वा कस्मेटिक ब्यापार गर्ने र आफ्नै जन्मभूमिमा बस्ने सोचाइमा छु । हेरौँ समयले कुन मोडमा पुऱ्याउँछ ।’

उनको क्रम भङ्ग गर्दै मैले सोधेँ- ‘अनि किन यस्तो पेसा रोजेको त ?’ केही दुखित हुँदै आफ्नो विगत र गरिवीभित्र बाँच्दा सहेको सामाजिक अपहेलना र एउटा जिम्मेवार छोरी हुनुको कर्तब्यसँगै पीडा सुनाइन् । ‘लाग्छ.. पापी दुनियाँमा पैसाभन्दा ठुलो केही रहेनछ । हिजोका दिन बिर्सेर हामीलाई अपहेलना गर्नेहरू नै आज मलाई हाइहाइ गर्छन्, सदासयता राख्छन् । मरेर जाँदा के नै लानु छ र ?? मान्छेहरू किन पैसाको पछि लाग्छन् होला ?’ उनका आक्रोशरूपी प्रश्न दैनिक भोगाइको पीडाले होला आँखाभरि टिलपिल टिलपिल आँसु छचल्किन खोज्दै थिए । उनको जिन्दगीको भोगाइसँगै म पनि भावुक भएर उनी सँगै म पनि रोएछु पत्तै पाइनँ । धत् ! म पनि के भाको होला ? न चिनाजान न आफन्त न कुनै गहिरो सम्बन्ध ? तै पनि म किन भावुक ? आफुले आफैलाई सोधेँ । अन्तरंगका कुरा गर्दागर्दै खै कति चाँडै समय बितेछ, पत्तै भएन । केही उत्साह, केही पीडा बोकेर अर्को दिन भेट्ने बाचासहित बिदा भइयो ।

हाम्रा चेलीबेटीले विदेशका भूमिमा घृणित काम गर्दै नारकीय जीवन बिताउनु भनेको सिङ्गो नेपालको छविमा दाग लाग्नु हो । दलका नेताले सत्तामा पुगेर नागरिकको समस्यालाई सुल्झाउदै देश विकास गर्नुभन्दा राज्य दोहनमा नै लिप्त भएको पाइन्छ । नागरिकले के कस्तो काम गर्छन्, कसरी जीवनयापन गर्छन् भन्नेमा न केन्द्र सरकारलाई चासो छ, न कुनै प्रदेश सरकारले नै ध्यान दिएको नै पाइन्छ ।

नेपाली चेलीबेटी बेचबिखनको जालो अब भारतमा मात्र सीमित रहेन वैदेशिक रोजगारीको सिलसिलाले गर्दा यो घृणित कार्य निकै फराकिलो भएको छ । सिधै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि वा अवैध मार्ग पछ्याउँदै भारत, श्रीलंका, बङ्गलादेश, म्यानमार आदि देश हुँदै दुबई, सिंगापुर, कुवेत, मकाउलगायत अफ्रिकी मुलुकमा पुऱ्याउने कुरा पटक-पटक राष्ट्रिय मिडियामा समाचार नबनेको, नआएको हैन । कसैलाई कलाकार बनाएर त कसैलाई प्रलोभनमा पारेर बेचबिखन गरेका घटनाहरू नेपालीले मिडिया (टेलिभिजन, पत्रपत्रिका) सामाजिक संजालमार्फत सार्वजनिक नगरेको पनि हैनन् । तर पनि नेपालको सरकारले दोषीलाई कारवाही गर्न पटक्कै चासो देखाउँदैन । माइती नेपालले पनि अब त झारा टार्नेबाहेक गम्भीर चासो दिएको पाइँदैन । अवैधानिक हुने बेचबिखनमा खुला सीमानाको समस्या त आफ्नो ठाउँमा छँदैछ, वैध तरिकाले हुने समस्याले झन् विकराल रूप लिएको छ । म्यानपावरका मालिक, मानव तस्करसँग सरकारी कर्मचारीहरूको मिलेमतोले नै नेपाली चेलीबेटी दिनानुदिन अर्काको देशमा बेचिइरहेका छन् । सामाजिक अभियन्तासँगै सरकारले सहकार्य गरेर नारी बेचबिखनलाई निरुत्साहित पार्नुपर्थ्यो । सामाजिक चेतनाको अभिवृद्धि गर्दै लग्न सके अथवा नागरिकको जीवन उकास्न कुनै ठोस कदम चाल्न सके चेलीबेटी बेचबिखनको समस्या रोक्न सकिन्थ्यो ।

मुलुकभित्रै स्वाभिमानपूर्वक पेशा गरेर जीविकोपार्जनको माहोल सिर्जना गर्नका लागि सरकारले नागरिकसँग समन्वय गरेर स्थानीय स्तरमा पाइने कृषि जडिबुटीलाई प्रशोधन प्रबन्ध मिलाउनुपर्ने हो ! स्थानीयले उत्पादन गरेको बस्तुलाई सरकारले खरिदबिक्री गर्ने केन्द्रको विकास गर्न सके देशकै आर्थिक विकास हुने थियो । नागरिकलाई अत्यावश्यक पर्ने बस्तु, उत्पादनमुखी घरेलु साना उद्योगमा लगानीको वातावरण बनाइदिन सके वा यस्तै पर्यटन, जलविद्युतको अवधारणा बनाउन सके धेरै हदसम्म वैधानिक तवरले हुने मानवतस्करी रोक्न सकिन्थ्यो । विभिन्न बहानामा दोस्रो, तेस्रो मुलुक खाडीलगायत अफ्रिकासम्म हुने मानवतस्करीको पाटो निकै कहालीलाग्दो छ । हाम्रा चेलीबेटीले विदेशका भूमिमा घृणित काम गर्दै नारकीय जीवन बिताउनु भनेको सिङ्गो नेपालको छविमा दाग लाग्नु हो । कुनै तन्त्र वा वादले पनि नेपालीको जीवनस्तरमा कुनै उपलब्धि भएको पाइँदैन । दलका नेताले सत्तामा पुगेर नागरिकको समस्यालाई सुल्झाउदै देश विकास गर्नुभन्दा राज्य दोहनमा नै लिप्त भएको पाइन्छ । नागरिकले के कस्तो काम गर्छन्, कसरी जीवनयापन गर्छन् भन्नेमा न केन्द्र सरकारलाई चासो छ, न कुनै प्रदेश सरकारले नै ध्यान दिएको नै पाइन्छ । विदेशमा भएका राजदूतावासले त नागरिकको समस्या भन्दा भ्रष्टाचारको कालो धन सेतो बनाउन, हुण्डी कारोवारी र त्यस्तै मकसद बोकेका एनआरएनहरूको सहयोगी बनेर कमिसन खानमा नै बढी चासो दिएको गुनासो सुन्ने गरिन्छ । खाली रेमिट्यान्सको पछि लाग्ने र, समयमै यस विषयमा चनाखो नहुने हो भने रेमिट्यान्स कमाउने नेपाली युवायुवतीले पैसासँगै यौनरोगका साथै अनेक विकृति बोकेर नेपाल भित्रिने पक्का छ ।

जय मातृभूमि नेपाल !