संसदीय व्यवस्था धरापमा पर्न सक्छ : अनिलकृष्ण

संसदीय व्यवस्था धरापमा पर्न सक्छ : अनिलकृष्ण



अनिलकृष्ण प्रसाईं नेपाली काङ्ग्रेसका महासमिति सदस्य हुन् । उनीसँग नेपाल तरुण दलको केन्द्रीय महासचिव, नेपाल विद्यार्थी सङ्घ नारायणी अञ्चल संयोजक, बीपी चिन्तन प्रतिष्ठान झापा अध्यक्ष, पूर्वाञ्चल कृषि क्याम्पस गौरादह झापाको अध्यक्षलगायतको अनुभव पनि छ । २०३५ सालदेखि ने.वि. सङ्घमार्फत् प्रजातान्त्रिक धारमा जोडिएर निरन्तर रूपमा सक्रिय रहँदै आएको बताउने उनीसँग घटना र विचार साप्ताहिकका लागि श्याम लम्सालले गरेको कुराकानीको सम्पादित अंश :

० हिजोआज के गर्दै हुनुहुन्छ ?
– पार्टीको १४औँ महाधिवेशनका लागि सक्रियता नै यतिबेलाको दिनचर्या बनेको छ । महाधिवेशन अहिले आम कार्यकर्ताको चासोको विषय भएकाले पार्टीको संगठन गाउँ, वडादेखि लिएर नगर, प्रदेश क्षेत्र हुँदैै जिल्लासम्मका कार्यक्रमहरूमा सक्रिय रहँदैै संगठनको सुदृढीकरण र अधिवेशनको तयारीमा दैनिकी चलिरहेको छ । यसबाहेक पार्टीसम्बन्धित अन्य नियमित गतिविधिमा नै मेरो समय गुज्रिरहेको छ ।

० बीपी चिन्तन प्रतिष्ठान झापा अहिले के गर्दैछ ?
– भर्खरै बीपी स्मृति दिवस झापा जिल्लाभरी नै विविध कार्यक्रमहरू गरी मनाइयो । प्रजातान्त्रिक समाजवादका प्रणेता, आधुनिक प्रजातान्त्रिक राजनीतिका जन्मदाता, जननायक बीपी कोइरालाको चिन्तन र विचारलाई जनस्तरसम्मै प्रभावकारी ढङ्गले पुऱ्याउने काममा हामी दत्तचित्त भएर लागेका छौँ ।

० भावी विशेष कार्यक्रम केही छन् कि ?
– हामी नेपाली काङ्ग्रेसको आसन्न १४औंँ महाधिवेशनको पूर्वसन्ध्यामा भएकाले हाम्रो ध्यान अहिले त्यसैमा केन्द्रीत छ नै भन्नुपर्ला ।

० तपाईंको आकाङ्क्षा पनि त होला ?
– म १३औँ महाधिवेशनको केन्द्रीय सदस्य पदको उम्मेदवार पार्टी नेता र साथीभाइहरूको सल्लाह र आग्रहमै भएको थिएँ । मेरो विगतदेखिको निरन्तरता, निष्ठा, समर्पण र योग्यताअनुसारको भूमिका पाउने कुरामा विश्वस्त छु ।

० अप्रत्यासित रूपमा अहिलेको चुनौतीको घडीमा नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार सञ्चालन गर्ने जिम्मेवारी आइपरेको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ नि ? यो अप्ठ्यारो परिस्थितिलाई सामना कसरी गर्न सकिन्छ भन्ने लाग्छ ?
– यतिबेला नेपाली काङ्ग्रेसमाथि ठूलो चुनौती र अवसरसमेतको अवस्था छ । यस मानेमा नेपाली काङ्ग्रेसको यो ५ वर्षको अवधिमा आफ्नो नेतृत्वको सरकार बन्ने कुनै पनि अवस्था थिएन तर नेकपाले देश राज्यसञ्चालन विधिविधान भन्दा बाहिर रहेर चलाएको, केपी ओलीको अहम्वादी चरित्रका कारणबाट सरकारमा रहेका कम्युनिष्ट घटकहरू वाक्कदिक्क भइ उनीहरूकै सहयोगमा नेपाली काङ्ग्रेसले सरकार चलाउनुपर्ने बाध्यता हुन गइ सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएको छ । यस अवस्थामा विभिन्न घटकहरूलाई सन्तुलन मिलाएर राज्य सञ्चालन गर्नुपर्ने अवस्था छ । अर्कातिर देश कोभिडको महामारीले आक्रान्त छ । त्यसलाई चिर्नका लागि सम्पूर्ण नेपालीलाई कोभिडविरुद्धको भ्याक्सिनको उपलब्धता गराउनुपर्ने राज्यको पहिलो कर्तव्य छ र पार्टीको आन्तरिक संगठनलाई पनि चुस्तदुरुस्त बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी पनि छ । नेपाली काङ्ग्रेसका विगतका सरकारहरूले गरेका कमी-कमजोरी र गलत क्रियाकलापलाई पनि जोडदार रूपमा उठान गरेर त्यसबाट भएका कमी-कमजोरीहरूबाट पाठ सिकी बीपीको समाजवादी चिन्तनलाई मार्गनिर्देशन मानेर त्यही विचारको आधारमा नेपाली जनतालाई अबको नेपाली काङ्ग्रेसको वैचारिक पाटो र सिद्धान्तका आधारमा प्रतिवद्ध भएर अगाडि बढाएको खण्डमा मात्र संगठनलाई अब आउने चुनावहरूमा सशक्त र प्रभावकारी बनाउन सकिन्छ र, नेपाली जनतामा नेपाली काङ्ग्रेसको गुमेको साखलाई विश्वासपूर्ण रूपमा स्थापित गर्न सकिन्छ, जसका कारण नेपाली काङ्ग्रेसले नै समृद्ध नेपाल बनाउन सक्नुपर्छ भन्ने आमनेपालीको आशा र भरोसा रहेका कारण बीपीको सोचअनुरूपको मुलुक बनाउने दायित्व पनि नेपाली काङ्ग्रेसको काँधमा आएको छ ।

० यसो हुन नसके के होला ?
– यसो हुन नसके विगत ७० वर्षदेखिको निरन्तर प्रयास त्याग, तपस्या, बलिदानी सङ्घर्षद्वारा आर्जित संविधानसभाबाट बनाइएको संविधान कमजोर हुन गइ प्राप्त उपलब्धिहरू गुम्न जाने खतरा हुन सक्छ । साथै लोकतान्त्रिक संसदीय व्यवस्था धरापमा पर्न सक्छ र अब प्रत्येक पाइला नेपाली काङ्ग्रेसले अगाडि बढाउँदाखेरी सोचविचार गरेर अहिलेसम्मका कुरा अध्ययन मनन् गरी मुलुकलाई अगाडि बढाउनु पर्ने जिम्मेवारी पनि नेपाली काङ्ग्रेसकै भएको छ । यस अर्थमा बीपीलाई सम्झँदै, आफ्ना अग्रज र सहयोद्धाहरूको शहादतलाई छातीमा राखेर काम गर्न समेत नेतागणलाई आग्रह गर्न चाहन्छु ।

० थप भन्नु केही छ कि ?
– अहिले समग्र मुलुकवासी जनताले नेपाली काङ्ग्रेसप्रति भरोसा गरेको अवस्था छ । पार्टीको तल्लो तहदेखि केन्द्रीय सभापतिसम्म र पार्टीले पठाएका प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले देशको जुन जिर्ण अवस्था छ, अनुशासित, मर्यादित र भ्रष्ट नभइकन नेपाली काङ्ग्रेसले मात्रै मुलुकका यावत समस्या समाधान गर्न सक्छ भन्ने नेपाली जनतालाई विश्वास दिलाउनुपर्ने अवस्था रहेको छ । ठूलो मान्छे होइन असल मानिस बन्न हामी सबै कार्यकर्ताले कोशिस गर्नुपर्ने बेला आएको छ ।