एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते


पालिकास्तरको अधिवेशन आगामी असोज ९ गतेभित्र


नेकपा (एमाले) को आइतबार बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र सङ्गठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकले पार्टीका नेता रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । सो प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय कमिटी बैठक आगामी साता बस्ने भएको छ । बैठकले असोजको पहिलो साता देशभरका सबै वडामा वडा अधिवेशन र दोस्रो साता सबै पालिकामा पालिका कमिटी अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले दार्चुलामा महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध जनाउँदै सो घटनाका सत्यतथ्य प्रस्तुत गर्न, भारतीय पक्षसँग जानकारी माग्न, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गरेको छ ।

यस्तै, नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन सो मितिमा गर्ने निर्णय गरेको हो ।

बैठकले साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । स्थायी कमिटीको बैठक सोमबार पनि जारी रहने बताइएको छ ।

यसअघि शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको थियो । प्रतिष्ठानमा नै बसेको बैठक पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि स्थगित गरेका थिए । बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो ।

यसैगरी शनिबार नै अध्यक्ष ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको थियो । सिंहदरबारमा भएको पार्टी आन्तरिक विवाद समस्या समाधान कार्यदलका नेताहरू सहभागी छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन लाग्ने गरी छलफल भएको थियो । कार्यदलले गत २७ गते १० बुँदे सहमति गरेको थियो । निर्धारित समयभन्दा केही ढिला गेर शुरु बैठकमा नेपाल पक्षीय नेता सहभागी नभए पनि पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी थिए ।