‘दलितलाई दमित तुल्याउने सामन्ती सोच अझै जागै रहेछ’

‘दलितलाई दमित तुल्याउने सामन्ती सोच अझै जागै रहेछ’


अन्तर्वार्ता

गण्डकी प्रदेशमा मन्त्रीको शपथ ग्रहण गर्न गत शुक्रबार (साउन ८) गृहजिल्ला तनहुँबाट हतारिँदै पोखरा पुगेका दोबाटे विकको नाम एकाएक काटियो । उनको स्थानमा कास्कीका धनाड्य व्यवसायी विन्दुकुमार थापाले मन्त्रीको रूपमा शपथ लिए । मन्त्रीको शपथ लिन गएका दोबाटेचाहिँ त्यत्तिकै अलपत्र पारिए । दोबाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका बुवा गोबर्द्धन पोखरेलले राजनीतिमा ल्याएका थिए, तर उनै गोबर्द्धनका छोरा मुख्यमन्त्री भएको बेला उनले यस्तो अपमान झेल्नुपऱ्यो । ०३६ सालयता सक्रिय राजनीतिमा लागेका दोबाटे विभिन्न राजनीतिक घटनाक्रमका साक्षी बसे । एकले अर्कालाई खुइल्याउने राजनीतिको साक्षी बसेका दोबाटे अन्ततः आफै पनि त्यसको शिकार बने । राजनीतिक वृत्तमा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा दोबाटेलाई मन्त्री नबनाएको चर्चा छ । उनै दोबाटेसँग उनीसम्बन्धित पछिल्लो सन्दर्भलाई लिएर गरिएको कुराकानीको सम्पादित अंश ।


० गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् बिस्तार गरेको शुक्रबारको क्षणलाई कसरी सम्झनुभएको छ ?
– उक्त क्षण मेरो लागि अत्यन्त दुःखदायी रह्यो । शुक्रबार जे भयो मेरो लागि मात्र भन्दा पनि यो सिङ्गो दलित समुदायमाथि गरिएको घोर उपेक्षाको रूपमा लिनु पर्दछ । एउटा तल्लो वर्ग वा समुदायबाट निरन्तर रूपमा पार्टीमा त्याग समर्पण गरिँदा अवसर पाउने बेलामा विमुख बनाइएबाट अझै पनि दलित समुदाय तथा यो समुदायबाट प्रतिनिधित्व गर्नेहरूलाई कसरी हेरिँदोरहेछ भन्ने राम्रोसँग अनुभूत गरेको छु । झण्डै ४२ वर्षसम्म राजनीतिक रूपमा सक्रिय भइरहँदा अनेक उतारचढावका क्षणहरू भोगियो, तर पछिल्लो यो पलचाहिँ निकै पीडादायी र अन्यायपूर्ण रहेको अनुभूति भएको छ ।

० यसको मतलव आफूलाई आफ्नै पार्टी र सहकर्मीबाट धोका र अन्याय भयो भन्ने महसूस भयो, होइन त ?
– मैले भनिसकेँ नि, म एउटा ब्यक्तिलाई मात्र गरिएको छल नभइ दलित समुदायमाथिकै अन्याय हो भनेर । मलाई त के नै हुन्थ्यो होला र ? केही दिन गाडीमा झण्डा हल्लाएर हिँडेको देख्नुहुन्थ्यो ! तर समुदाय र यो प्रदेशको विकासको पक्षमा मैले गर्न सक्ने योगदानबाट अलग्याउने काम त अन्याय नै हो नि ! यो घटना मिहीन समीक्षाको विषय पनि हो जस्तो लाग्छ ।

० मन्त्री बनाइने पूर्वनिश्चित लिस्टबाट आफ्नो नाम अन्तिम समयमा किन काटियो होला जस्तो लाग्छ ?
– यो विषयमा अब त्यति धेरै बोल्नुपर्छ जस्तो मलाई लाग्दैन, सबैलाई थाहा भैसक्यो । यस बीचमा प्रशस्त जानकार, शुभचिन्तक र मिडियाहरूले सबै कुरा बाहिर ल्याइसकेका छन् । प्रमुख विषय ममाथि पूर्वाग्रह राख्ने साथीहरू र पार्टीभित्र मौलाएको गुट-उपगुटको असर हुन सक्छ । दलित वर्गलाई अझै दबाएर राख्न चाहने सामन्ती सोच बोकेका तत्वहरूको बोलवाला अझै चल्दोरहेछ भन्ने लागेको छ ।

० यस घटनालाई पार्टीभित्रै रामचन्द्र पौडेल पक्षलाई कमजोर देखाउन खेलिएको खेल हो भन्नेहरू पनि छन् नि ? तपाईं के भन्नुहुन्छ ?
– पार्टीमा रामचन्द्र पौडेलको जुन किसिमका छवि छ त्यसका विरुद्ध लाग्नु त पार्टीका लागि निकै घातक हुन्छ भन्ने मैले बुझेको छु । किन त्यस्तो अस्वस्थ खेल खेल्नुपऱ्यो ? यो जरुरी छैन । म त पार्टीमा आफ्नो योगदानलाई सम्मान गरिएको भन्नेमा ढुक्क थिएँ । यसरी खेल खेल्नु नै थियो भने त मलाई कुनै जानकारी नै नदिएको भए हुने थियो । मन्त्री बनाइँदै छ भनेर भनिरहनु नै पर्ने थिएन । मेरो स्वाभावले पनि यो सब हुन दिँदैनथ्यो । म जहिले पनि शान्तिको पक्षमा रहेँ, रिजर्भ नै बसेँ । त्यस्तो छक्कापञ्जा गर्न पनि कहिल्यै जानिएन ।

० निष्ठाको राजनीति गर्नेहरूलाई समुदाय र आर्थिक पक्षले पनि असर पार्दाेरहेछ राजनीतिमा भनेर बुझ्न सकिन्छ ?
– त्यस्तो हुनुहुँदैन तर यस्तै भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । निष्ठाको राजनीति गरेँ । पार्टीले योगदानको सम्मान गरेन तर एकदिन यो विषयले पार्टी पङ्क्तिमा स्थान पाउँछ । बलजफ्ती गर्ने र अर्थले सम्पन्न हुनेहरू पार्टीमा हाबी हुने हो भने नेपाली काङ्ग्रेसमा मात्र होइन कुनै पनि पार्टीमा लगनशील भएर लाग्ने नेता-कार्यकर्ताको अभाव हुनेछ । अन्ततः पार्टीको भविष्य रहँदैन । अब मेरै कुरा गर्ने हो भने पनि निम्नवर्गीय समुदायबाट राजनीतिमा लागेको, त्यस्तो सम्पन्न परिवारबाट पनि हैन, फेरि बलमिच्याइँ गर्ने स्वाभाव या चरित्र पनि ममा छैन र, यो पक्ष राजनीतिका लागि नकरात्मक हो भन्ने मलाई लाग्दैन ।

० राजनीतिमा बेलाबखत हुने यस्ता घटनाले भविष्यमा कस्तो प्रभाव पार्ला त ?
– पार्टीमा सच्चा कार्यकर्ताको अभाव हुने अवस्था यस्तै घटनाले निम्त्याउने हो । पार्टी सञ्चालनका लागि सबै खाले स्वभाव–चरित्र भएका नेता कार्यकर्ता हुनुपर्छ तर नेतृत्वमा पार्टीको साख जोगाउनका लागि उचित निर्णय गर्न सक्ने क्षमता हुनुपर्दछ । यसरी एउटा पक्षले पार्टी र राजनीतिमा प्रभाव देखाउने वा पार्ने विषयले हामीजस्ता कार्यकर्ता तहमा नैराश्यता बाहेक के हुन सक्छ ?

० राजनीतिमा अवसर खोसिएको एक पात्र तपाईं, अबको दिनमा सरकार र पार्टीमा तपाईंको भूमिका कस्तो रहन्छ ?
– पार्टीभित्र देखिएको यस किसिको क्रियाकलापको आन्तरिक तवरमै विरोध गर्नुपर्ने आवश्यकता छ । त्यस्तो सार्वजनिक रूपमा विरोधका भाषा र कार्यक्रमहरू गर्नु एक कार्यकर्ताका लागि उचित होइन । सरकार र पार्टीले जुन तरिकाले बोलेको छ सोही कुरालाई ब्यवहारमा देखाउनु जरुरी छ । दलितको पक्षमा, महिलाको पक्षमा र यो विषम परिस्थितिलाई टार्न प्रदेश सरकारले जे बोलेको छ त्यो हुनुपर्दछ । यो विषयमा म एक पार्टीको सदस्य तथा प्रदेशसभा सदस्य भएको नाताले बोलिएका कुरा र पार्टीको सिद्धान्तविपरीत भएका कार्यहरूको सदनबाटै पनि विरोध हुन्छ ।

० तपाईंप्रति शुभेच्छा राख्नेहरूलाई के भन्न चाहनुहुन्छ नि ?
– खास त्यस्तो भन्नुपर्ने केही छैन, तर शुक्रबारको घटनापछि मप्रति देखाउनुभएको चासो, चिन्ता र शुभेच्छाले मलाई उर्जा मिलेको छ । यति लामो राजनीतिक यात्रामा मैले त्यस्तो खास प्रभाव नपारेको हुँला, अहिले मेरो पक्षमा जनभावना सकारात्मक रहेको पाएँ । मप्रति देखाउनुभएको चासोको लागि तपाईंहरूसहित विशेषगरी मिडियालाई धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

प्रस्तुति : अशोक विश्वकर्मा