एनआरएनए बेल्जियमको अध्यक्षमा केसी निर्वाचित

एनआरएनए बेल्जियमको अध्यक्षमा केसी निर्वाचित


  • सनत आचार्य, बेल्जियम

गैरआवासीय नेपाली संघ बेल्जियमको मत गणनाको परिणाम सार्वजनिक भएको छ ।

मतदानको क्रममा आन्तर्पेनमा भएको झडपपछि आइतबार बेलुकी शुरु गर्नुपर्ने मतगणना सोमबार मध्यरातबाट लुभेन शहरमा शुरु गरिएको थियो ।

पछिल्लो अवस्थाको सुक्ष्म अध्ययनपश्चात् निर्वाचन आयोगले सर्वपक्षीय भेला गरी आन्तर्पेनमा पुनः मतदान नगर्ने र जे-जति मतहरू खसेका छन् ती मतलाई नै मान्य हुने सर्वदलीय सहमतिपश्चात उम्मेदवारहरू मत गणना गर्न राजी भएका थिए । त्यस्तै, गणनाको अन्त्यमा केही थान च्यातिएका मतपत्रहरू समेत गणना भएको थियो । सबै उम्मेदवारको सहमतिपछि स्थान परिवर्तन गरेर कडा सुरक्षाका बीच मत गणना गरिएको थियो ।

मत परिणामअनुसार स्वतन्त्र समावेशी समुहका खड्गबहादुर केसी अध्यक्ष पदमा विजयी भएका छन् भने महासचिवमा लोकतान्त्रिक समावेशी समुहका रमेश कँडेल विजयी भएका छन् । केसीले स्वतन्त्र समावेशी समुहको तर्फबाट नेतृत्व गरेका थिए भने उनी नेकपा एमाले निकट मानिन्छन् । महासचिवमा विजयी कँडेल माधव नेपाल समुह नजिकका मानिन्छन् ।

केसीले केही स्वतन्त्र व्यक्तिहरूलाई आफ्नो समुहमा समावेश गरी टिम तयार गरेका थिए ।

त्यस्तै, पराजित अध्यक्ष सीपी भट्ट नेपाली कांग्रेस, नेकपा माओवादी, माधव नेपाल समुह र संघीय समाजवादी पार्टीद्वारा गरिएको लोकतान्त्रिक गठबन्धन समुहका हुन् ।

मत गणना परिणामअनुसार केसीले ८५५ र उनका प्रतिद्वन्द्वी सीपी भट्टले ६०९ मत प्राप्त गरेका छन् । त्यस्तै, अध्यक्ष पदकी अर्की प्रत्यासी अनुजा प्रधानले १६० मत प्राप्त गरेकी छन् ।

आईसीसी सदस्यमा रोशन जोशी (भीम) ले ७४४ र गंगाप्रसाद शर्माले ७१९ मत प्राप्त गरी विजयी भएका छन् । आईसीसिका प्रत्यासीहरू अर्जुन गुरुङले ६४६ मत र हरि भट्टराईले ६८२ मत प्राप्त गरेका छन् । विजयी जोशी र भट्ट लोकतान्त्रिक समावेशी समुहका हुन् भने पराजित स्वतन्त्र समावेशी समुहका ।

त्यस्तै, उपाध्यक्ष पदमा लाल गुरुङले ७१८ मत र तीर्थ धमला ६८६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रमेश सापकोटाले ६८१ मत प्राप्त गरे भने अर्का कासी दनैले ६६८ मत प्राप्त गरेका छन् । गुरुङ र धमला स्वतन्त्र समावेशी समुहका हुन् भने पराजित लोकतान्त्रिक समावेशी समुहका ।

महासचिवमा रमेश कँडेलले ७७६ मत प्राप्त गरी विजयी भएका छन् । कँडेलका प्रतिद्वन्द्वी जनक सुवेदीले ६४७ मत प्राप्त गरेका छन् । कँडेल लोकतान्त्रिक समावेशी समुहका हुन् भने सुवेदी स्वतन्त्र समावेशी समुहका ।

त्यस्तै, युवा संयोजकमा सर्वाधिक मत ल्याई राजेश केसी विजयी भएका छन् । उनी स्वतन्त्र समावेशी समुहका हुन् । उनका प्रतिद्वन्द्वी हरि सिग्देलले ५०९ मत प्राप्त गरेका छन् ।

दुई सचिवमध्ये सुवास भट्ट र जगदीश सापकोटा विजयी भएका छन् । भट्टले ७३७ मत र सापकोटाले ६९७ मत प्राप्त गरेका छन् । सचिवका अन्य प्रतिद्वन्द्वी रहेका रमेश दाहालले ५८४ र रुद्रमणि लम्सालले ५३८ मत प्राप्त गरेका छन् । भट्ट स्वतन्त्र समावेशी समुहका हुन् भने सापकोटा लोकतान्त्रिक समावेशी समुहका ।

त्यसैगरी, कोषाध्यक्षमा पुष्प नेपाल (लोकेन्द्र) विजयी भएका छन् । नेपाल स्वतन्त्र समावेशी समुहका हुन् भने पराजीति कुमार जोशी (केदार) लोकतान्त्रिक समावेशी समुह ।

त्यसैगरी सह-कोषाध्यक्षमा वेनी ढुंगानाले ५५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सुन्दर पौडेलले ४९२ मत प्राप्त गरेका थिए । ढुंगाना लोकतान्त्रिक समुहका हुन् भने पौडेल स्वतन्त्र समुह ।

कांग्रेस खेमाकी अनुजा प्रधान स्वतन्त्र बागी उम्मेदवार बनेपछि केसीलाई चुनाव जित्न सजिलो भएको हो । यतिखेर संघको चुनावमा प्रधानलाई नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निकट मानिने गंगाधर गौतमले उम्मेदवार बनाएको र सहयोग गरेको चर्चा बेल्जियमभित्र चलेको छ ।