रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती, पर्यटन विकासमा असर

रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती, पर्यटन विकासमा असर


  • डम्बर निदाल, डडेल्धुरा

रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्रको आलिताल परशुराम भएर बग्ने रंगुन खोलामा पुल नहुँदा स्थानीयले सास्ती भोग्नु परेको हो ।

वर्षातको समयमा बाढीपहिरोको उच्च जोखिम रहेको डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्र आलिताल गाउँपालिका वडा नंं ३, ५, ८ का स्थानियलाई रंगुन खोलामा पुल नहुँदा निकै सास्ती हुने गरेको छ भने गाउँपालिका सदरमुकाम जोड्ने उक्त खोलामा पुल नहुँदा जोखिम मोलेर आउजाउ गर्नुपर्ने स्थानीयको बाध्यता रहेको छ । महाभारत र चुरे पर्वतबाट बग्ने सुनखोला जस्तै अन्य खोलाको पनि मिलन हुने रंगुन नदीमा पुल अभावले स्थानीयले ज्यान जोखिममा पारेर खोला तर्नुपरेको छ ।

सुनखोला र रंगुन खोलाको दोभानमा रहेको यो खोलामा पुल नभएपछि यहाँका महिला बालबालिकासँगै बिरामीलाई उपचार गर्न समेत समस्या हुने गरेको स्थानीयवासी रघुवीर धामी बताउँछन् ।

खोलाको उत्तरी भेगका सर्वसाधारणलाई गाउँपालिका कार्यालय तथा स्थानीय बजार आवतजावतका लागि सास्ती मात्र भएको छैन, खोलामा पानीको सतह बढेपछि दुई घण्टा थप हिँडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नुपर्ने बाध्यता रहेको छ ।

‘गाउँपालिकाले आफ्नो आन्तरिक कजेटबाट यी खोलाहरूमा पुल निर्माण गर्न असम्भव छ, तर पनि आवश्यक्ता भएको ठाउँमा गाउँपालिकाबाट डिपिआर निर्माण गरी प्रदेश सरकार र संघीय सरकारसँग माग गरेका छौँ’- आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।

यसैगरी, खोलामा पुल निर्माणका लागि अध्ययन भए पनि जमिनको सतह कमजोर र भूबनोट उपयुक्त नभएकोले पुल निर्माण हुन नसक्दा स्थानीयले कष्ट भोग्नु परेको गाउँपालिका उपाध्यक्ष जलादेवी बिष्ट बोगटीले तर्क गरिन् ।

गाउँपालिकाको पहिचानको रुपमा रहेको सुदूरपश्चिमको सबैभन्दा ठूलो तलाउ आलितालसम्म जाने बाटोमा रहेको खोलामा पुल नबन्दा आन्तरिक तथा बाह्य पर्यटन पनि वर्षातमा नकारात्मक असर परेको छ ।