डडेल्धुरा अस्पतालमा चिकित्सक नहुँदा बिरामी समस्यामा

डडेल्धुरा अस्पतालमा चिकित्सक नहुँदा बिरामी समस्यामा


  • डम्बर निदाल, डडेल्धुरा

चिकित्सक अभावले डडेल्धुरा अस्पतालको सेवा प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशमा सङ्घीय सरकारमातहत रहेकोे एक मात्र अस्पताल डडेल्धुरा अस्पतालमा चिकित्सक नहुँदा बिरामीलाई समस्या पर्दै गएको छ ।

अस्पतालमा चिकित्सक नहुँदा बिरामीले उपचार पाउन सकेका छैनन् । जसले गर्दा बिरामीले समस्या भोग्नुपरेको छ । हाल अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा डडेल्धुरालगायत सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीहरू कैलालीलगायत अन्य जिल्लामा गएर उपचार गर्न विवश बनेका छन् । चिकित्सकको अभावकै कारण बिरामीहरू खर्चिलो उपचार गर्न बाध्य भएका छन् । डडेल्धुरा अस्पतालमा अहिले सामान्य गर्भवतीदेखि हाडजोर्नीसम्मका बिरामीले सेवाप्राप्तिमा पाउन मुस्किल ब्यहोर्न परेको छ ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाका दूरदराजबाट आउने बिरामीलाई अस्पतालमा हाडजोर्नी, स्त्रीरोग अथवा प्रसुति जनरल सर्जरी, मनोरोग, एनेस्थेसियालोजिष्ट बालरोग विशेषज्ञलगायतका महत्वपुर्ण सेवाप्रदायक जनशक्ति नहुँदा उपचारका लागि कैलालीलगायत अन्य जिल्ला पुग्नुपर्र्ने बाध्यता रहेको बिरामीका आफन्तले जनाएका छन् । यसले सुदूरपश्चिमका पहाडी जिल्लाका निम्न वर्गका नागरिकलाई ऋणको भारी बोकाउने अवस्था आएको छ ।

गुणस्तरिय स्वास्थ्य सेवा छिटोछरितो र मितव्ययी बनाउने सरकारको लक्ष्य भए पनि अस्पतालमा एक फिजिसियन र चार जना मेडिकल अधिकृतबाहेक अन्य सेवा दिन नसकिँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिशचन्द्र बिष्टले जानकारी दिए ।

पाँच सय शैय्याको अस्पताल भनिएको डडेल्धुरा अस्पतालमा २० जनाको दरबन्दीमध्ये स्थायी विशेषज्ञ एक र मेडिकल अधिकृत चार जना मात्र कार्यरत रहेका छन् ।

धेरैजसो चिकित्सक कोही बिदामा र कोही सरुवा भएर अभाव रहेकोले सेवा प्रवाहमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए । चिकित्सक अभावका बारे पत्राचार गरिए पनि मन्त्रालयले वास्ता नगरेको उनले आरोप छ ।