पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने

पाकिस्तानका पूर्वकप्तान अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने


पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । ४६ वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौंमा सञ्चालन हुने टी-२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौँ किंग्स-११ बाट खेल्ने तय भएको हो ।

काठमाडौं किंग्स-११ ले सोमबार कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट प्रतियोगिता, ३९८ एकदिवसीय तथा ९९ टी-२० क्रिकेट प्रतियोगिता खेलेका थिए । सो क्रममा उनले टेष्टमा एक हजार ७१६, एकदिवसीयमा आठ हजार ६४ तथा टी-२० मा एक हजार ४१६ रन बनाएका छन् । यस्तै उनले टेष्ट प्रतियोगितामा ४८, एकदिवसीयमा ३९५ तथा टी-२० मा ९८ विकेट लिएका थिए ।

अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि सन् २०१८ सम्म खेलेका थिए । अफ्रिदीले विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने तय भएको चौंथो संस्करणको इपीएलमा ६ टोलीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । गत वर्ष कोरोना भाइरसको महामारीका कारण इपीएल हुन सकेको थिएन । इपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स-११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।