यसरी भाँडियो एनआरएनए बेल्जियमको चुनाव

यसरी भाँडियो एनआरएनए बेल्जियमको चुनाव


  • सनत आचार्य, युरोप प्रतिनिधि

बेल्जियम/ गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नयाँ नेतृत्व चयनका लागि आइतबार भएको चुनाव बिथोलिएको छ ।

निर्वाचन आयुक्त लोक दाहालका अनुसार आन्तर्पेन मतदान केन्द्रमा लगभग ४ः४५ बजे विदेशी मूलका मानिसहरू हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूइँमा छरपष्ट्र पार्दै बुथ र मतपेटिका कब्जा गर्ने प्रयास गरेका थिए ।

घटना घटाउने क्रममा एक जनाले हातमा तरल पदार्थ बोकेर बाकसमा हालेको र अर्को एक जनाले बाकसलाई बोकेर हिँड्न (भाग्न) खोज्दा मतदान स्थलमा भएका मतदाताले प्रतिकार गरेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार बाहिर पानी परिरहेको थियो । हलभित्रको आकस्मिक ढोका खुल्ला थियो । सोही क्रममा एक जना महिलाको चित्कार सुनियो । पाँच जनाको संख्यामा रहेका उनीहरूले सबै भन्दा पहिले मतपेटिका नियन्त्रणमा लिने प्रयास गरे ।

एक जनाले मतपेटिकामा तरल पदार्थ हाल्ने प्रयास गर्यो र अर्कोले पेटिका उठाउन थाल्यो । तर मतदान कक्षमा भएका अन्यले त्यसको प्रतिकार गरे ।

प्रतिकार गर्ने क्रममा एनआरएनएकी पूर्वउपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना केसी, कोषाध्यक्षका उम्मेदवार पुष्प नेपाल (लोकन्द्र) माथि सांघातिक आक्रमण भयो । यो सबै २ मिनेटभित्र भयो । पछि ती आक्रमणकारी घटनास्थलबाट भागे ।

उनीहरुले मतदान केन्द्रनजिक ब्रुमर (मोटरसाइकल) ल्याएको र सोही मोटरसाइकलमा भागेको अनुमान गरिएको छ ।

घटना घटेको करिव ४ मिनेटभित्र प्रहरी आयो । प्रहरीले आवश्यक सोधपुछ गर्यो । घाइतेहरु अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।

घटनाक्रममा उनीहरुलाई सम्झाउन जाँदा आयुक्त दाहाललाई समेत आक्रमण गरिएको बुझिएको छ ।

दाहालका अनुसार आक्रमणकारीहरुको पहिचान गर्न प्रहरी प्रशासन समक्ष प्रमाण र भिडियो फुटेज उपलब्ध गराइएको छ ।

घटना हुँदा अध्यक्षका प्रत्यासी खड्गबहादुर केसी, सीपी भट्ट र अनुजा प्रधान लगायतका अन्य उम्मेदवारहरु पनि मतदानकेन्द्रमै थिए, तर उनीहरु भने सुरक्षित रहेका छन् ।

यसैबीच घटनाका सन्दर्भमा नेकपा एमालेनिकट वैचारिक संगठन प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष बोधराज पौड्यालले सीपी भट्टले गुण्डागर्दी गरेको आरोप लगाएका छन् । उनले आफ्नो फेसबुकमा घटनालाई समर्थन र पुष्टि गर्न संयुक्त वक्तव्यबाजी गरिएको पनि उल्लेख गरेका छन् ।

उता जनसम्पर्क समितिकी अध्यक्ष सीता सापकोटा, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जीत लामा, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष अर्जुन दाहाल र संघीय समाजवादी पार्टीका महासचिव लोक रानाको संयुक्त विज्ञप्तिमा घटनालाई निन्दनीय भनिएको छ ।

विज्ञप्तिमा यो घटना घट्नुको कारण सदस्यता वितरण प्रकृयासँग जोडिएर हेरिएको छ । उनीहरुले सदस्यता नवीकरण र वितरण समितिका संयोजक तीर्थ धमलाको चरम र नियोजित लापरवाहीका कारण घटना घटेको आरोप लगाएका छन् । धमलाले भने आफुले प्राप्त गरेको भूमिका निभाइरहँदा संस्थाको विधि–विधानमा रहेर निष्पक्ष ढंगले कार्य सम्पादन गरेको दाबी गरेका छन् ।

संयुक्त विज्ञप्तिमा सदस्य भइसकेका व्यक्तिहरुलाई छानी–छानी हटाउने, हरेक दिन र हरेक घण्टामा फरक–फरक नामावली प्रकाशन गर्ने, मतदातालाई अन्योलमा राख्ने उल्लेख गरेका छन् ।

उनीहरुले निर्वाचन आयुक्त लोक दाहालले समेत एकपक्षीय रुपले रुपमा नामको रुजु गर्ने, घरपायक पर्ने मतदाताहरुको नामावली अर्को ठाउँमा राख्ने जस्तो कार्य गरेको भन्दै विज्ञप्तिमा सदस्यता वितरण समिति र निर्वाचन समितिमा बसेका मानिसहरूलाई भविष्यमा यस्ता कुनै पनि सामाजिक कामको जिम्मेवारी नदिन पनि अनुरोध गरेका छन् । विज्ञप्तिको अन्त्यमा सबै गलत क्रियाकलाप रोक्न नसक्ने कार्यसमिति पनि जिम्मेवार रहेको आरोप लगाइएको छ ।

यसैबीच निर्वाचनमा लोकतान्त्रिक समाबेशी समुहको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सीपी भट्टले पनि आफ्नो फेसबुकमा हिजो भएको घटना अत्यन्त लज्जास्पद भएकोले यसको निन्दा र भत्सर्ना गरेका छन् । उनले उक्त घटनामा समाजका जिम्मेवार व्यक्ति हुँ भन्ने केही मानिसहरूले सत्यतथ्य नबुझी आफू र परिवारको नाम जोडेर फेसबुकमा लेखेको कुरालाई मनगढन्ते, कपोलकल्पित र भ्रामक भनेका छन् । उनले हिजोको घटनाले सबै एनआरएनए अभियन्ताहरुको शीर झुकाएको उल्लेख गरेका छन् ।

भट्टले पनि सदस्यता वितरण प्रकृयादेखि नै धाँधली गरेको आरोप लगाउँदै आफू लगायत करिव सय जनाले भोट हाल्न बाँकी रहेको समेत उल्लेख गरेका छन् । भट्टले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

घटनापछि सामाजिक संजालमा जारी भिडिओहरुमा मतदानस्थल तोडफोडले भद्रगोल देखिएको छ । मतपत्रहरु भुइँमा छरिएका छन् । तर निर्वाचन समितिले भने प्रतिनिधिको रोहवरमा मतपेटिका सुरक्षित ठाउँमा तालाबन्दी गरी राखिएको जनाइएको छ । अब के–कसरी अगाडी बढ्ने सम्बन्धमा छलफल गर्न निर्वाचन समितिले उम्मेदवार र अनुगमन समितिसँँग छलफल गरिरहेको छ ।

कतिपयले आन्तर्पेन क्षेत्रमा मतदान पुनः गर्ने प्रस्ताव गरेका बुझिएको छ भने निर्वाचन समितिले सुरक्षित रहेको मतहरू मात्र गणना गरी निर्वाचन परिणाम घोषणा गर्ने प्रस्ताव गरेको छ ।