मन्त्री बन्नबाट किन रोकिए विनोद ?

मन्त्री बन्नबाट किन रोकिए विनोद ?



शिक्षा व्यवसायी उमेश श्रेष्ठलाई मन्त्रिपरिषदमा सामेल गरिएपछि त्यसले एक प्रकारको तरङ्ग पैदा गरेको छ । मन्त्री बनाएका अन्य कैयन मानिसभन्दा योग्य र क्षमतावान भए पनि उनले सांसद र मन्त्री बन्न अपनाएको ‘बाटो’लाई लिएर नकारात्मक टिप्पणी शुरु भएको हो ।

दशकअघिसम्म वामपन्थी कम्युनिस्ट विचारप्रति प्रतिबद्ध रहेका उमेश श्रेष्ठलाई दीपकुमार उपाध्यायलगायतले ‘सांसद बन्ने गरी’ काङ्ग्रेसमा जोडेपछि उनी शेरबहादुर देउवाको खास मानिसका रूपमा रहँदै आएका छन् । सभापति देउवाभन्दा पनि उमेशलाई आरजु राणाको निकटतम् व्यक्तिको रूपमा लिइन्छ र, यसपटक राज्यमन्त्री बनाउन पनि आरजुकै निर्णायक भूमिका रहेको बताइन्छ ।

प्राप्त जानकारीअनुसार शेरबहादुर देउवा ख्यातिप्राप्त उद्यमी विनोद चौधरीलाई मन्त्री बनाउन चाहन्थे । तर पत्नी आरजुको रोजाइ उमेश बने । आरजुले ‘विनोद चौधरी अघिल्लो संसद् (संविधानसभा)मा एमालेबाट प्रतिनिधित्व गर्थे, अहिले भर्खर काङ्ग्रेसमा जोडिएका छन्, भोलि कता पुग्छन् थाहा छैन’ भन्दै उमेशको सिफारिस गरेकी थिइन् । उनी आफूले मात्र होइन, देउवाका निकटतम् अन्य केही नेताहरूलाई समेत चौधरीका विरुद्धमा ‘लबिङ’ गर्न लगाएकी थिइन् । त्यसो त चौधरीको क्षमता र आर्थिक हैसियतबाट आत्तिएका केही काङ्ग्रेस नेताहरू पहिलेदेखि नै चौधरीविरुद्ध क्रियाशील भैरहेका थिए । एक पटक मौका पाएमा चौधरी सिङ्गै काङ्ग्रेस आफ्नो काबुमा राख्न सक्छन् भन्ने त्रास ती नेताहरूमा रहेको पाइएको छ । उनीहरूले चौधरीलाई मन्त्री बन्न नदिन चर्को दबाब पैदा गरेका थिए । यसरी प्रतिस्पर्धी नेताहरूले विनोद चौधरीको बाटो छेक्न दबाब पैदा गर्नुलाई स्वभाविक मानिए पनि आरजु स्वयम् चौधरीको बाटोमा तगारो बन्नुलाई आश्चर्यजनक मानिएको छ ।

चौधरीसँग आफ्नो निकट सम्बन्ध रहेको आभाष आरजुले स्वयम् चौधरीलाई दिलाउँदै आएकी थिइन् । आरजुको निर्वाचन क्षेत्रमा अक्सिजन ग्यास उत्पादन गर्ने कारखाना खोल्नेलगायतका अन्य कार्यमा चौधरीले आरजुलाई सहयोग गर्दै आएका थिए । तर मन्त्री बनाउने बेलामा उनी किन चौधरीको विरुद्धमा उभिइन्, आश्चर्यको विषय बनेको छ । स्मरणीय छ, २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेका बेला ललितपुरका काङ्ग्रेस नेता मदन अमात्यलाई मन्त्री बन्नबाट बाटो रोक्ने काम पनि आरजुले गरेकी थिइन् । स्थानीय निर्वाचनमा आफ्नो मामा नाता पर्ने महर्जन परिवारका एक सदस्यलाई एकान्तकुना-जावलाखेल क्षेत्रको वडाअध्यक्ष बनाउन गरेको सिफारिसलाई नेता अमात्यले उपेक्षा गरेकाले आरजुबाट अमात्यलाई रोक्ने कार्य भएको थियो । तर विनोद चौधरीलाई कुन खास कारणले आरजुद्वारा अवरोध पुऱ्याइएको हो, सो स्पष्ट हुन सकेको छैन ।

पञ्चायतकालमा ‘अहङ्कारी महारानी’ ऐश्वर्यको बक्रदृष्टि परेपछि कुनै पनि व्यक्ति खासगरी पञ्चको भविष्य समाप्त हुने गर्दथ्यो । राजा वीरेन्द्र आफूले चाहे पनि ऐश्वर्यले अवरोध पैदा गरेपछि पछि हट्ने गर्दथे । काङ्ग्रेसमा केही वर्षयता त्यस्तै स्थिति देखापरेको छ । आरजुलाई खुशी तुल्याउन नसक्ने तर पदका निम्ति राजनीति गर्नेहरूलाई सकसमा पारेको छ ।