सागका पदकविजेता आठ खेलाडी पुरस्कृत

सागका पदकविजेता आठ खेलाडी पुरस्कृत


१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदकविजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स संघले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदकविजेता आठ खेलाडीलाई संघले पुरस्कृत गरेको हो ।

एथलेटिक्स संघले १३औँ सागका स्वर्ण पदकविजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो ।

पदकविजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र पूर्व सभासद कल्पना चौधरी (बस्नेत) ले पुरस्कार प्रदान गरेका थिए ।

दुई वर्षअघि नेपालमा आयोजना भएको १३औँ सागमा नेपालले तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो । सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

यसैगरी पुष्पा भण्डारीले महिलातर्फको म्याराथनमा रजत पदक जितेकी थिइन् । यसैगरी सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजामर मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्य पदक जितेका थिए ।

सोही कार्यक्रममा अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरिएको थियो । उनले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी केन्याको नौरबीमा आयोजना हुने वल्र्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउने छन् । उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए ।