देउवा भाग्यमानी त भए अब सक्षम बनुन् !

देउवा भाग्यमानी त भए अब सक्षम बनुन् !


  • रमेश बस्ताकोटी

समकालिन नेपाली राजनीतिक नेतृत्वमध्ये सबैभन्दा भाग्यमानी मानिएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ सालको आमनिर्वाचन ताका गरेको एउटा भाषण निकै समय चर्चाको शिखरमा रह्यो । आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छ भनेको छ भनेर त्यसबेला देउवाले भन्दा उनलाई धेरैले गिल्ला गर्दै उडाए । देउवाका विरोधिहरू मात्र नभइ आफ्नै पार्टीभित्र समेत उनको कुरालाई मजाक मान्नेहरू धेरै थिए । तर, संसद्मा जम्मा ६३ सांसद संख्या रहेका देउवा गत असार २९ गते प्रधानमन्त्री भए र १६५ सांसदले उनलाई विश्वासको मतसमेत दिए । राजनीतिमा विरलै यस्तो घटना हुन्छ । देउवा पाँचौँ पटक प्रधानमन्त्री भए । उनको ज्योतिषीको भविष्यवाणी सत्य सावित हुने बाटोमा छ । भलै ज्योतिषीले गरेको भविष्यवाणीकै आधारमा देउवा प्रधानमन्त्री भएका होइनन् निवर्तमान प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम, अहङ्कार, दम्भ र घमण्ड देउवाको सत्तारोहणको कारक थियो ।

प्रधानमन्त्रीको रूपमा सिंहदरबार छिरेका देउवाका सामु अनेकौँ चुनौतीहरू छन् जसलाई पार लगाएर उनले देशलाई एउटा सही नेतृत्व प्रदान गर्नुपर्ने छ । विगतमा प्रधानमन्त्री भएका बेला बिग्रिएको छवी सुधारेर एक सक्षम प्रधानमन्त्री बन्ने अवसर पनि देउवासामु छ । केही चुनौतीसँगै प्रशस्तै अवसर पनि साथै लिएर अगाडि बढेका देउवाको सत्तायात्रा भने त्यति सहज छैन । उनले धेरै कुरालाई सन्तुलनमा राखेर अघि बढ्नु त छँदैछ, आममानिसका अपेक्षाहरूलाई पनि सम्बोधन गर्नुपर्ने छ । यो लेखमार्फत् पङ्क्तिकारले प्रधानमन्त्री देउवाका केही चुनौती र अवसरहरूलाई संक्षेपमा प्रष्ट पार्ने प्रयास गरेको छ ।

गठबन्धनलाई जोगाइराख्ने चुनौती

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले संसद्मा विश्वासको मतसमेत पाइसकेका छन् । उनलाई १ सय ६५ जना सांसदले विश्वासको मत दिएका छन् । यस अर्थमा देउवासँग सुविधाजनक बहुमत भएको मान्न सकिन्छ, तर जुन जगको अधारमा सरकार निर्माण भएको हो त्यो भने त्यति बलियो छैन । काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव-झलनाथ समुह र जसपाको उपेन्द्र यादव समुह मलेर यो सरकार बनेको छ । पछि जसपाको ठाकुर समुहले पनि देउवालाईविश्वासको मत दियो । देउवाको सामु सबैभन्दा ठुलो चुनौती भनेको यो गठबन्धनलाई जोगाइराख्नु हो । ओलीले संविधानमाथि गरेको पटक-पटकको आक्रमणलाई रोक्न भन्दै बनेको यो गठबन्धनको निरन्तरता सरकार सञ्चालनका लागि पनि आवश्यक छ । देउवाले यो गठबन्धन जोगाउन नसके उनलाई कयौँ अप्ठ्याराहरू झेल्नुपर्ने निश्चत छ । त्यसकारण पनि प्रभावकारी रूपमा सरकार सञ्चालनका लागि गठबन्धनको निरन्तरता आवश्यक भएको हो । प्रधानमन्त्रीका सामु गठबन्धनलाई जोगाइराख्नुपर्ने चुनौती छ । यसका लागि देउवाले गठबन्धनका नेताहरूसँग निरन्तर संवाद अगाडि बढाउँदै चुनावसम्म नै गठबन्धन कायम राख्ने गरी कार्ययोजना तय गर्न आवश्यक छ । यसको प्रयासस्वरूप उनले सत्तारुढ दलका नेताहरू सम्मिलित कार्यदल बनाएका छन् । त्यो सकारात्मक कुरा हो ।

आफ्नै पार्टीभित्र सन्तुलनको सवाल

एमालेभित्रको अन्तरकलह ओली सरकार ढल्नुको एउटा प्रमुख कारण हो । आफ्नै पार्टीका नेताहरूलाई विश्वासमा लिन नसक्दा ५ वर्ष सरकार सञ्चालन गर्ने तयारीका साथ बालुवाटार छिरेका ओलीलाई साढे तीन वर्षमा नै बालकोट फर्कनुपऱ्यो । यसको प्रमुख कारण भनेको तत्कालिन सत्तारुढ दलभित्रको अन्तरकलह नै थियो । एमालेको माधव नेपाल समुहकै प्रस्तावमा उनीहरूले नै भोट दिएर देउवा प्रधानमन्त्री बने, ओली बालकोट फर्किए । त्यसकारण प्रधानमन्त्री देउवाका अघि आफ्नै पार्टीभित्रको शक्ति सन्तुलनलाई कायम राखेर अघि बढ्नु अर्को चुनौती हो । आफूइतर पक्षका पार्टीका नेताहरूलाई अपमान गर्दा ओलीले जुन नियति भोग्नुपऱ्यो त्यसबाट पाठ सिकेर अघि बढ्दा नै देउवाको भलो हुन्छ । त्यसका लागि पार्टीभित्र निरन्तर संवाद आवश्यक छ, सरकार र पार्टी सञ्चालनमा सबै नेताहरूले अपनत्व महसूस गर्न आवश्यक छ । यसका लागि देउवाले आजैबाट योजनाका साथ काम सुरु गरे उनी निकै हदसम्म सफल हुन सक्नेछन् ।

आक्रामक प्रतिपक्षी

देउवाका लागि अर्को चुनौती भनेको आक्रामक प्रतिपक्षी हो । ओली पक्षले आफुहरू सरकारविरुद्ध आक्रमक रूपले प्रस्तुत हुने संकेत दिइसकेका छन् । प्रतिपक्षीको निरन्तरको अवरोधले प्रधानमन्त्रीलाई सरकार सञ्चालनमा बाधा पुग्न सक्छ । त्यसकारण आक्रामक प्रतिपक्षीबाट ओली पक्षलाई रचनात्मक प्रतिपक्षी बनाउनुपर्ने चुनौती देउवाका सामु छ । त्यसका लागि ओलीले झैँ पेलेर नै अघि बढ्ने नीति देउवाले लिनु हुँदैन । प्रतिपक्षलाई समेत विश्वासमा लिएर उनीहरूका कुरा पनि सुन्ने बानीको विकास गर्न आवश्यक छ । त्यति गर्न सकियो भने प्रतिपक्षी जति नै आक्रमक बन्न खेजे पनि रचनात्मक बन्न बाध्य हुन्छ ।

कोरोना महामारीको व्यवस्थापन र अर्थतन्त्र उकास्ने चुनौती

प्रधानमन्त्री देउवाले आफ्ना तीन प्राथमिकातामध्ये पहिलो खोप, दोस्रो खोप र तेस्रो पनि खोप भएको बताएर आफू जनस्वास्थ्यप्रति गम्भीर रहेको र छिटै सबै नागरिकलाई खोपको व्यवस्था गर्ने सङ्केत गरेका छन् । यो राम्रो पक्ष हो । अहिले विश्वका अधिकांश सरकारका लागि कोरोना महामारी रोकथाम, नियन्त्रण र जनताको ज्यान जोगाउने काम नै प्रम्ख चुनौतीको विषय हो । नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसकारण देउवाका अघि तत्काल सबै नागरिकलाई खोपको व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती हो । त्यसका लागि उनले तत्काल मित्रराष्ट्रहरूसँग संवाद बढाएर देखिने गरी काम गर्न आवश्यक छ । अघिल्लो सरकारका प्रधानमन्त्रीको गफ मात्र गर्ने बानीले आजित भएका नेपालीले अबको प्रधानमन्त्रीबाट देखिने गरी, महसूस गर्ने गरी काम भएको हेर्न चाहन्छन् । देउवाले यो अपेक्षाको छिटोभन्दा छिटो सम्बोधन गर्न आवश्यक छ । कोरोना महामारीले अर्थतन्त्र थिलथिलो भएको छ । यसलार्ई उकास्ने गरी कार्ययोजना तय गर्नु आवश्यक छ । देशको अर्थतन्त्र बलियो भए मात्र विकास सम्भव हुने हो, त्यसकारण अहिलेको अवस्थामा नेपाली अर्थतन्त्रलाई उकास्ने गरी अल्पकालीन, मध्यमकालीन र दिर्घकालीन योजनाहरू बनाएर अघि बढ्न आवश्यक छ ।

सर्वमान्य नेता बन्ने अवसर

प्रधानमन्त्रीका रूपमा देउवाका अघिल्ला ४ कार्यकाल विवादरहित थिएनन् । उनलाई एक पटक तत्कालिन राजा ज्ञानेन्द्रले असक्षम भनेर बर्खास्त गरेका थिए । त्यसकारण देउवाको विगत त्यति प्रिय देखिएन । यो पटक फेरि अवसर आएको छ । अब सक्षम मात्र बन्ने हैन कि सर्वमान्य नेता बन्ने अवसर देउवाका अघि छ । जसरी गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको उत्तरार्धमा आएर जनअपेक्षा मुताविकका काम गरेर एक सर्वमान्य नेताको रूपमा आफुलाई स्थापित गरेका थिए, अब त्यो अवसर देउवाको अघि छ । पार्टी भन्दा माथि उठेर देशको सेवा गर्ने यो अवसरलाई देउवाले खेर फाल्नु हुँदैन । यस्तो मौका जो-कोहीले पाउँदैनन् यसलाई देउवाले चिन्न सक्नुपर्छ । आफ्नो गुमेको साखलाई फर्काउने देउवाका लागि सायद यो नै अन्तिम अवसर हो यसलाई उनले भरपुर उपयोग गर्नु पर्दछ ।

संविधानमाथि ओली सरकारले पटक-पटक आक्रमण गऱ्यो । अब संविधानलाई जोगाउँदै मुलुकमा शान्तिपूर्ण रूपमा तीनै तहको निर्वाचन गराउने दावित्व देउवामाथि थपिएको छ । देउवा भाग्यमानी नै हुन्, किनभने उनले पाँच पटक मुलुकको प्रधानमन्त्री हुने अवसर पाए । यसअघि गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाले मात्र यो अवसर पाएका थिए । उनले आफ्नो रेकर्ड कायम गरिसकेका छन् । कुनै पारिवारिक विरासतबाट नभइ सामान्य परिवारबाट राजनीतिमा आएर यो रेकर्ड कायम राख्न सक्नु चानचुने कुरा हैन । त्यसकारण देउवाले शान्तिपुर्ण निर्वाचन गराएर संविधानको रक्षा गर्ने कामको नेतृत्व सफलतापूर्वक पूरा गर्नु पर्दछ । ४५ वर्षमा गृहमन्त्री र पहिलो पटक ५० वर्षको उमेरमा प्रधानमन्त्री बनेका देउवाले यसअघि सरकार र पार्टी राम्रोसँग सञ्चालन गर्न नसकेको आरोप पनि आउने गर्दछ । उनका विपक्षीहरू उनलार्ई भाग्यमानी तर असक्षम भनेर आलोचना गर्छन् । अब देउवाका सामु आफू सक्षम छु भनेर देखाउने बेला आएको छ । यसका लागि उनले विनास्वार्थ देश र जनताका हितमा काम गर्न आवश्यक छ, ताकि सबैले भनुन्- ‘देउवा भाग्यमानी हुन्, अब त सक्षम पनि भए ।’