जनता विद्रोहमा उत्रिएपछि ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद् निलम्बन, प्रधानमन्त्री बर्खास्त

जनता विद्रोहमा उत्रिएपछि ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद् निलम्बन, प्रधानमन्त्री बर्खास्त



ट्युनिसियाका राष्ट्रपतिले त्यहाँको संसद् निलम्बन गरी प्रधानमन्त्रीलाई समेत बर्खास्त गरेका छन् । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार प्रधानमन्त्रीलाई बर्खास्त गरेका र त्यसलगत्तै संसद पनि निलम्बन गरेका सिन्ह्वाले जनाएको छ ।

आइतबार राति उनले प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको उक्त कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर गराइएको छ । त्यसपछि सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् । अकस्मात गरिएको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने उनले स्पष्ट पारेका छन् ।

संसद् निलम्बन गरेर सबै सांसदहरुको पद स्वतः खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराइएको छ । आइतबार मात्र ट्युनिसियाका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद् पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए ।