एकै परिवारका दाजु-बहिनीले दिलाए जापानलाई स्वर्ण पदक

एकै परिवारका दाजु-बहिनीले दिलाए जापानलाई स्वर्ण पदक


  • जापान प्रतिनिधि

जापानलाई जुडो खेलमा एउटै परिवारका दाजु बहिनीले स्वर्ण पदक दिलाएका छन् । आइतबार भएको प्रतिस्पर्धामा जापानी जुडो खेलाडी आबे हिफुमी र आबे उताले स्वर्ण पदक दिलाएका हुन् ।

कान्छी आबे युताले साँझ भएको ५२ केजी तौल समुहमा स्वर्ण जितेकी हुन् । २१ वर्षीया युताले फाइनलमा फ्रान्सेली प्रतिस्पर्धी अमान्दिने बुचार्डलाई पराजित गरेकी हुन् ।

करिव एक घण्टापछि भएको अर्को खेलमा उनको दाजु २३ वर्षीय हिफुमीले पुरुष जुडोको ६६ किलोग्राम तौल समुह भिडन्तमा स्वर्ण पदक जिते । उनले जर्जियाका भाजाह मार्गेभेलाशिभिलिलाई हराए ।

जीतपछि हिफुमीले बहिनीको जीत उनको लागि फाइनल भिडन्तमा जान प्रेरणा भएको बताए । आफुले खेल योजना खेल्न र आफ्नो क्षमताको सबैभन्दा राम्रो प्रदर्शन गर्न सक्षम भएको उनको प्रतिक्रिया थियो ।

युताले स्वर्ण पदक पाएपछि आफूहरुको जीत सम्पूर्ण परिवारको कडा परिश्रम र समर्पणको परिणाम भएको बताइन् ।

जापानले जुलाई २५ तारिख रात १० बजेसम्ममा ५ वटा स्वर्ण पदक र एउटा रजत पदक हात पारेको छ । यो समाचार तयार पारुन्जेलसम्म प्रतियोगितामा चीनले सबैभन्दा बढी ६ स्वर्ण, १ रजत र ४ कास्य तथा तेस्रो स्थानमा रहेको अमेरिकाले ४ स्वर्ण, दुई रजत र ४ कास्य पदक जितेको छ ।