राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ : केपी ओली

राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ : केपी ओली



बाटो बिराएकालाई फर्केर आउन आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)को सचिवालयको प्रथम बैठकलाई आइतबार भर्चुअल सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । उनले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए ।

‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ’ भन्दै उनले अगाडि थपे, ‘पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।’

पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भने, ‘राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसदबाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनी निर्वाचनको घोषणा गरेको थिएँ ।’

उनले एमाले पनि भन्न नछाड्ने अनि अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको जिकिर गरे। ‘एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै, न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगतको ठूलो सहयोग जरुरी छ’, केपीको कथन छ । सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा सङ्घका संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित भएर अगाडि बढाउनुपर्ने र यसका लागि योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिएकी थिइन् ।

file photo