फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा अश्विनीकान्त

फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा अश्विनीकान्त



फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ । उनलाई यसअघि सम्पन्न कार्यसमितिको बैठकले अध्यक्ष अमित झाको प्रस्तावमा काउन्सिलको सल्लाहकारमा नियुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

संस्थाको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले एक कार्यक्रमबीच अश्विनीलाई नियुक्ति पत्र प्रदान गरे । सो कार्यक्रमको दौरान काउन्सिलका अध्यक्ष झाले विगत डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा मोडलिङ, ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफीको अनुभव संगाल्नुका साथै उच्च सफलता हासिल गरेका कोरियोग्राफर झा नेपाल तथा अन्तर्राष्ट्रिय फेशन जगत र ब्युटी पेजेन्ट क्षेत्रलाई राम्ररी बुझेका र उनलाई सल्लाहकारको रूपमा संस्थाले पाउँदा उनको सीप, दक्षता तथा लामो समयको अनुभवलाई संस्थाको हितमा प्रयोग गर्न सके समस्त फेशन डिजाइनरका साथै फेशन डिजाइनर काउन्सिल अफ नेपालले पनि निकै लाभ लिन सक्ने बताए । उनले विभिन्न प्रतिष्ठित पुरष्कार तथा सम्मानद्वारा सम्मानित कोरियोग्राफर झाले आफ्नो निजी जिन्दगीमा पाएको सफलतासरह नै आफ्नो सल्लाह सुझाव र मार्गदर्शनले फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई सफल बनाउन सहयोग पुर्‍याउने आशा पनि व्यक्त गरे ।

सोही कार्यक्रममा काउन्सिलका अध्यक्ष झाले विगत पाँच वर्षमा संस्थाले गरेका कार्यहरू र प्रगतिहरूसम्बन्धी प्रकाश पारे । मन्तब्य दिने क्रममा कोरियोग्राफर झाले उक्त जिम्मेवारीको लागि योग्य ठानेकोमा फेशन डिजाइनर काउन्सिल अफ नेपाललाई धन्यबाद दिँदै कोरियोग्राफर र फेशन डिजाइनर एक अर्काको परिपुरक भएको धारणा राखे । विगतको अनुभवलाई कोट्याउँदै उनले आफ्नो सुरुवाती मोडलिङ गर्दाको दिनहरूदेखि नै आफूलाई फेशन डिजाइनरहरूको एकदमै ठूलो साथ र सहयोग प्राप्त भएको जानकारी दिए । आज कोरियोग्राफरको भूमिकामा रहँदा पनि आफ्नो सफलतामा फेशन डिजाइनरहरूको साथ र सहयोग रहेको उनको भनाइ थियो । उउनले वर्तमान समयमा कोभिडको कारणले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको र फेशन डिजाइनिङ क्षेत्रका साथै मोडलिङ र ब्युटी पेजेन्ट क्षेत्रलाई झनै असर गरेको बताउँदै अब छिट्टै नै सबै मिलेर यस क्षेत्रलाई पुरानै अवस्थामा ल्याइपुर्‍याउने विश्वास व्यक्त गरे ।

कोभिडपूर्व समस्त नेपाली ब्युटी पेजेन्ट र फेशन जगतले विश्व मञ्चमा राम्रो उपस्थिति जनाउँदै गरेको अवस्थामा अबको दिनहरूमा अझै सशक्त र परिस्कृत रूपमा नेपाली फेशन डिजाइनरहरूको उपस्थिति रहनेछ भनी आशा व्यक्त गर्दै यसका लागि आफ्नो तर्फबाट हुने हरेक सहयोगका लागि हरपल तत्पर रहने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रममा अन्य वक्ताले कोरियोग्राफर झालाई संस्थामा स्वागत गर्दै आ आफ्नो मन्तव्य र धारणा राख्नुका साथै काउन्सिलको विगतका पाँच वर्षको उपलब्धि तथा कमी कमजोरीको समीक्षा गगरेका थिए ।