‘गठबन्धन’द्वारा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय

‘गठबन्धन’द्वारा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय



पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउँदै सरकार सञ्चालनमा सहयोग गर्ने गठबन्धनका नेताहरूबीच सहमति भएको जनाइएको छ । बताइएअनुसार प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको बैठकमा प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्ने निर्णय भएको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक परिस्थिति, सरकारका भावी योजना, महामारी नियन्त्रणको प्रयासलगात विषयमा शीर्ष नेताहरूबीच गम्भीर विचारविमर्श भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस विज्ञ विष्णु सापकोटाले जनाएका छन् ।

सो बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

शनिबार नै प्रचण्ड र माधव नेपालबीच कोटेश्वरस्थित नेपालको निवासमा भेटघाट भएको थियो । सो भेटका क्रममा केपी ओलीलाई महाराज भन्दै ब्यङ्ग्य गरेकोमा प्रचण्डले माधव नेपालको प्रशंसा गरेको सन्दर्भ चर्चामा छ ।

तस्बिर रासस