जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित



जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

शनिबार बिहान सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हार बेहोर्नुपरेको हो । जुडोको विश्व बरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औँ स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व बरियताको नवौँ स्थानमा रहेकी छन् । भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराजय ब्यहोर्नुपरेको हो ।

भट्टले सो खेलमा विपक्षी खेलाडसित एक मिनेट १६ सेकेण्डसम्म मात्र भिड्न सकिन् ।

रेपेचेजमा पुनः प्रतिस्पर्धाको अवसर पाउने भए पनि सोनियालाई हराएकी इरिनाले प्रि-क्वाटरफाइनलमा चाइनिज ताइपेइकी लिन चेन हाओसँग गोल्डेन स्कोरमा पराजित हुन परेपछि सोनियाको पनि चुनौती समाप्त भएको हो । ताइपेइकी लिन चेन आहोले वाजा रीमा गोल्डेन स्कोर गरिन् ।

भट्ट वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन् । उनले २०७६ मङ्सिरमा नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

शनिबार नै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि पराजय ब्यहोर्नुपरेको थियो । टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् ।