एनआरएनए बेल्जियम अधिवेशन : अझै पनि सहमतिको प्रेरणा मिलोस् !

एनआरएनए बेल्जियम अधिवेशन : अझै पनि सहमतिको प्रेरणा मिलोस् !



समुदायको आवाज नसुन्ने उम्मेदवार समुदायका हुँदैनन्

  • डिल्ली अम्माई, बेल्जियम

अहिले कोरोना कहरको बीच एनआरएनए बेल्जियमका उम्मेदवारहरुबीच सहमति गराएर नेतृत्व चुन्न नसक्नु यहाँका अग्रज नेतृत्वहरुको असफलता हो। हो, एनआरएनए बेल्जियमको अधिवेशन भर्खर (जुलाई १८,२०२१) सकिएको छ । एनआरएनएको बीचमा अध्यक्ष पदमा तीन उम्मेदवार खडा भएका छन् । म त भन्छु तीन उम्मेदवार उठेका नभइ उभ्याइएका छन् । दुई वटा अध्यक्ष उमेद्वारहरु ठ्याक्कै नेपालको वर्तमान राजनैतिक मोर्चाबन्दीअनुसार उठाइएको छ, एक जना चाहिँ केन्द्रका पदाधिकारीमध्येका वा आगामी सम्भावित नेतृत्वका उम्मेदवार पक्षबाट कसैलाई हराउने योजनाअन्तर्गत उठाइएको छ । अर्थात्, केन्द्रको एक डिजाइनअनुशार संसारभरिका राष्ट्रिय समन्वय परिषदको निर्वाचनमा केन्द्रका प्रतिस्पर्धीहरुको रुचि छ । यो कुरा मैले मात्र भनिरहेको छैन, एनआरएनका विश्लेषक एवम् उम्मेदवारहरु स्वयमले भनिरहेका छन् ।

केही कुराहरु बेल्जियमका एनआरएनएका उम्मेदवारबीच भएको एक सहमतीय वार्ताको शिलशिलामा समेत गजबले बुझ्न पाइयो । बेल्जियमका केही सामाजिक हर्ताकर्ताहरु पनि यही केन्द्रिय स्वार्थलाई आधार मानेर ध्रुवीकृत छन् । मतलब बेल्जियम समाजको चाहना र मौलिक स्वार्थसँग यी कुनै पनि आकारप्रकारका उम्मेदवार, राजनैतिक क्लाउड र कथित अग्रज पंक्ति कसैलाई मतलव छैन।

अहिले उम्मेदवारको रुपमा उठेका शुद्ध नेकपा एमालेपक्षीय, चार राजनैतिक दलपक्षीय र केन्द्रको एलिट ग्रुपको स्वार्थलाई ध्यान राखेर उम्मेदवारी दिने कसैले पनि यहाँको समाजका मुद्धामा पूर्ण रुपले ध्यान दिएर उम्मेदवारी दिएका हैनन् । समुदाय र बेल्जियममा नेपालीको हित चाहने वर्गको प्रतिनिधित्व यी ग्रुपहरुबाट देखिँदैन। यिनले न उम्मेदवारमा चयन गर्दा समुदायसँग छलफल गरे, न पत्रकार वा अन्य बुद्धिजीवीहरुसँग बहस गरे। आफ्ना विचारसँग सहमत हुनेहरु दलगत रुपमा बसेर उम्मेदवार बनाइएका छन् । समुदायको राय सल्लाहबिना गरेका कथित उम्मेदवारी घोषणालाई समुदायले अनुमोदन गरिदिनु पर्ने ? यस्ता सकुनी सुकलामा ओच्छाइएका कार्पेटमा समुदायले फूल बर्साइरहनु पर्ने ? यो रोग यहाँ मात्र हैन संसारभरका एनआरएनएभित्र झाँगिदै गएको देखिन्छ।

साँच्चिकै भन्नुपर्दा, यो समाजमा केही मर्यादित अग्रजहरु, हामी पत्रकारहरु र जनसमुदायको अधिकतम हिस्साले कोरोना कहरको यो संवेदनशील अवस्थामा निर्वाचन चाहेको छैन । त्यसैले सहमतिको लागि बारम्बार अपिल गरिएको हो ।

अहिले निर्वाचनमा उम्मेदवारी दिएका केही नेतृत्वकर्ताको रवैयालाई आम समुदायले रुचाएको पनि छैन । केही दिनअगाडि उम्मेदवारहरुको सहमति सन्दर्भमा सबै उमेद्वारहरुसँग विचार मागियो । ठिकै हो, धेरै अग्रज र केही उमेद्वारहरुले समाजको आदेशको अवमुल्यन हुने छैन भनेर आफ्नो उम्मेदवारी लाई सर्वेसर्वा नमानेको सन्देश दिनुभयो ।

तर केही अध्यक्षका उम्मेदवारहरुले ताजुब लाग्ने गरेर आफ्नो आत्मप्रशंसाको विशाल धरहरा निर्माण गर्दै आफैले आफ्नो उम्मेदवारीलाई निर्विकल्प भन्न भ्याउनुभयो । मैले ती आफ्नो उम्मेदवारीको विकल्पलाई इन्कार गर्ने मित्रहरुलाई भन्न चाहन्छु । यो समाजको लागि उहाँहरुले कुन क्षेत्रमा रुपान्तरणकारी भूमिका निर्वाह गर्नुभएको छ र तपाइको विकल्प नभएको हो ?

संसारमा परोपकारी क्षेत्रमा महान् योगदान दिएकी मदर टेरेसाले पनि आफ्नो सेवालाई मानवीय कर्तब्यको रुपमा बुझ्दै त्यसलाई अति प्रशंसा नगर्न अनुरोध गरेकी थिइन् । हाम्रा नेतृत्वका दाबेदार मित्रहरुले बेल्जियममा अब आफ्नो नेतृत्वको विकल्प नभएको भन्दा अरुलाई के भयो कुन्नि ! मलाई त शरम लागेर आयो।

कसैलाई झुक्याउनै पर्दैन मित्रहरु, उहाँहरुमध्ये अधिकतम पार्टीबाट टिम लिएर आउनुभएको छ । ऊ भन्दा म धेरै स्वतन्त्र छु भन्नुहोला तर उहाँहरु कोही पनि स्वतन्त्र हुनुहुन्न ।

त्यस्तै, अर्को एक अध्यक्षको उम्मेदवार त जित्न नभएर केन्द्रिय स्वार्थमा कसैलाई हराउन मात्र उठ्नुभएको आरोप छ । यो सब तमासा समुदायले कत्ति पनि बुझ्दैन भनेर समुदायलाई झुक्याउनु हुँदैन ।

के मित्रहरुले गर्दा बेल्जियमको नेपाली समाजलाई रुपान्तरण गर्ने काम गर्नुभएको छ ? कुन क्षेत्रमा गर्नु भएको छ ? भाषा, कला साहित्यको क्षेत्रमा गर्नुभएको छ ? यो आमसमुदायले सोध्ने अर्को प्रश्न हो ।

उत्तर सहज छ, विशेष त्यस्तो केही छैन । विगतको प्रथाको निरन्तरता कायम छ । कोरम नपुगेर बैठक बस्न नसकेका गुनासा अद्यापि छन् । बेल्जियममा नेपाली समाजको साँस्कृतिक पहिचान र भाषिक इण्ट्रिग्रेशनको लागि खासै रुपान्तरणकारी काम भएको छैन । खेलको क्षेत्रमा नेपाली युवालाई चुनावको बेलामा एकादुई भकुण्डो किनिदिएर खेल क्षेत्रको रुपान्तरण हुन्छ ? भाषा साहित्य तथा समुदायको सूचनाको क्षेत्रमा एनआरएनएहरुले कहिल्यै मद्दत गरेको रेकर्ड छ ? परोपकारी क्षेत्र लाज ढाक्नुभएको होला, त्यसको लागि बधाई छ, तर परोपकारी क्षेत्रमा ब्यक्तिगत रुपमा पनि केही नेपालीहरुले स्वतन्त्र पहलमार्फत उहाँहरुलेभन्दा धेरै सहयोग गरेका छन् । त्यो उहाँहरुलाई पक्कै थाह हुनुपर्ने हो ।

एनआरएनएहरु बहसमै आउने हो भने हामीसँग जनसमुदायबाट उठाइएका धेरै प्रश्नहरु छन् । उहाँहरुले केही गर्नुभएको छैन भन्न खोजेको हैन । तर ‘म निर्विकल्प यो समाजको अग्रिणी नेतृत्वकर्ता हुँ’ भन्ने दाबीलाई चुनौती दिएको मात्र हुँ । त्यो घमण्ड उहाँहरुले त्याग्दा राम्रो हुन्छ मात्र भन्न खोजेको हो।

निचोडमा उहाँहरुले आम समुदायको अपेक्षा, कोरोना महामारीको बीचमा समयको संवेदनशीलतालाई समेत ख्याल नगरी सहमतिको मर्मलाई लत्याएको देख्दा समुदायप्रतिको कर्तब्य सम्झेर यति लेख्न बाध्य भएको हुँ । उहाँहरुले आफ्नो स्वार्थको लागि धेरै गर्नुभएको होला, सफल ब्यवशायी बन्नुभएको होला, नेपाल र नेपालीको पीडादायी अवस्थामा २–४ पैसो दान दिएर आठ दश तस्बिर खिचाउँदै समाचार छपाउनुभएको होला । पैसाको अभावलाई परिवार र आफन्तबीच सहजीकरण गर्नुभएको होला, त्यो सबै ठिकै छ । तर सहमति वार्तामा उहाँहरुको प्रस्तुतिबाट थाह भयो, उहाँहरुले सहमतिको सौन्दर्यलाई कदापि देख्न सक्नुहुँदो रहेनछ । चिन्तन प्रणालीको मापदण्डमा आर्थिक लेनदेनलाई सर्वेसर्वा सोच्नुभएको रहेछ। समाजलाई जोड्ने सेतुको सितलतामा समाजलाई प्राप्त हुने खुशी उहाँहरुमा नदेख्दा दुःख लाग्यो । सहमति सहकार्यको लागि उहाँहरुको दायित्व थियो, छ र रहिरहने छ । हाम्रो अपेक्षा त उहाँहरु समुदायप्रति इमान्दार र विश्वासयोग्य भैदिनु पऱ्यो भन्ने मात्र हो ।

सहमतिको ब्यापक पहल गर्दा उम्मेदवारहरुको रवैया देखेर आफैलाई प्रश्न गर्न मन लागेको छ- उहाँहरुलाई भोट किन र के आधारमा दिने ? न उहाँहरुले निःस्वार्थ सेवाभावले समाज सेवा गर्नुभएको छ, न त बेल्जियमको समुदायका आवाज र मनोविज्ञानको प्रतिनिधित्व गर्नुभएको छ । एक सानो सेवामा दशौँ तस्बिरर खिचाउनुभएको हुन सक्छ । त्यसलाई समुदायप्रतिको समर्पण र निःस्वार्थ सेवा मानिँदैन । समर्पित समाजभक्तले समुदायको आवाज सुन्छ र कार्यान्वयनमा लैजान्छ । समाजको आवाज नसुन्ने पनि कहिँ कतै सेवक हुन्छ र ?

‘आफ्नो पक्षको नेतृत्वमा सहमति भए सहमति कार्यान्वयनमा जाने अन्यथा चुनावको विकल्प छैन ।’ आम सहमतिबारे सोधिएको प्रश्नमा यो नै उम्मेदवार मित्रहरुको उत्तर थियो । त्यतिखेरै हामी सबैले बुझेका थियौँ, उहाँहरुको फिडब्याकमा राजनैतिक संगठनका मालिकहरु छन् । निर्णय मित्रहरुको अधीनमा छैन र भोलि पनि स्वविवेकले समुदायको हितमा निर्णय गर्न दिइने छैन । त्यसैले उम्मेदवारले भोट माग्दैमा हामीले भोट दिनुपर्ने, निर्विकल्प मान्नुपर्ने र, हो मा हो गरेर प्रचारमा होमिनुपर्ने चित्तबुझ्दो तर्क छैन । यदि समुदायको ५० प्रतिशतभन्दा कम मतदाताले निर्वाचित गरेर उम्मेदवारहरुमद्धे कोही नेतृत्वमा आउनुभयो भने पनि उहाँहरुले ‘समुदायको नेतृत्वकर्ता हुँ’ भन्न असजिलो मान्नुपर्ने अवस्था हुन्छ । त्यसको क्षतिपूर्तिको लागि आम सहमति नै सबैभन्दा उपयुक्त बाटो हो ।

अर्को कुरा, सहमतिको अभावमा, आम अपेक्षाको अभावमा र हाम्रो सहयोगबिना उहाँहरुले परम्परा त कायम गर्नुहोला तर कहिल्यै सफल हुनुहुने छैन । सक्नुहुन्छ भने अझै पनि सहमतिको लागि तपाईंहरु नै अग्रसर भएर एउटा सहमतिको उदाहरण प्रस्तुत गर्नुहोस् । युरोपमा पनि इटाली, लग्जेम्बर्गलगायत धेरै देशमा सहमतिमा समितिहरु घोषणा भइसकेका छन् । बेल्जियममा पनि उम्मेदवार सबैलाई सहमतिको प्रेरणा मिलोस् । शुभकामना !!