पूर्वमन्त्री बलदेवलाई एक पत्रकारको पत्र !

पूर्वमन्त्री बलदेवलाई एक पत्रकारको पत्र !



माननीय एवं पूर्वमन्त्रीज्यू,
सादर अभिवादन

सञ्जय पन्थी

राजनैतिक टकरावका कारण संसद् विघटन हुँदा पुनर्स्थापनाको लागि तपाईंले देखाएको चासो, चिन्ता र निर्वाह गर्नुभएको भूमिकाका लागि हार्दिक धन्यवाद । लोकतन्त्र विधि, प्रकृया मुल्य र मान्यताको शासन व्यवस्था हो, जुन कुरा तपाईंको विवेकले पनि अनुभुत गरेकै हो भन्ने स्पष्ट भएको छ । त्यसैले त्यसबारेमा तपाईंलाई जानकारी गराइरहनु आवश्यक नै रहेन । यस अवधिमा तपाईंका कैयौँ सहकर्मी र योद्धा साथीहरुले हाइकमाण्डको साथ छोड्दा पनि तपाईंले छोड्नु भएन । तपाईंले देखाएको निष्ठा र प्रतिवद्धताका लागि फेरि पनि उच्च सम्मानसहित साधुवाद !

इतिहासमा यसपटक सुकर्मबाट दर्ज हुने अवसर पाउनुभएको छ, संसद् पुनर्स्थापनाका पक्षमा आफ्नो अभिमत प्रकट गरेर । तपाईंले निर्वाह गरेको भूमिका र देखाएको निष्ठाप्रति तपाईंलाई मत दिएका वा नदिएका त्यस निर्वाचन क्षेत्रका अधिकांश मतदाताका तर्फबाट सलाम । साथै यस अवधिमा तपाईंले राजनीतिक आस्था र पहिचानमा जुन मानक कायम राख्न सफल हुनुभयो त्यसले भन्न सकिन्छ, तपाईं मुल्य र मान्यतामा आधारित राजनीतिमा विश्वास राख्नुहुन्छ ।

भारतका संविधान निर्माता बीआर अम्बेडकरले भनेका छन्, ‘धर्ममा भक्तले मोक्ष मार्ग डोऱ्याउँछन् तर राजनीतीमा वफदार भक्तहरुले नेतृत्वलाई पतनको मार्ग तर्फ उन्मुख गराउँछन्’ । सन्दर्भले उल्लेख यस भनाइमा तपाईं कति सहमत हुनुहुन्छ ? त्यो तपाईंको विवेकले निर्णय गर्ने विषय हो ।

महात्मा गान्धीले भनेका छन्, ‘कथनी र करनी’मा जहाँ विभेद हुन्छ, त्यो समाज पतनतर्फ उन्मुख हुन्छ । तपाईं समाजको प्रतिनिधि पनि हो । तपाईं पतन चाहनुहुन्छ वा पहिचान ? तर यसपटक संसद पुनर्स्थापना गर्न तपाईंले निर्वाह गरेको भूमिकाका आधारमा भन्दैछु, पहिचान चाहनुहुन्छ । त्यही विश्वासले तपाईंलाइ यो पत्र प्रेषित गर्दैंछु ।

प्रसंगले पुनः तपाईंसँग सम्बन्धित प्रकरण उजगार गर्न चाहन्छु । अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदा तपाईं राजनैतिक सल्लाहकार हुनुहुन्थ्यो । त्यतिबेला पहुँचका आधारमा (कपिलवस्तु) जिल्लामा ५ करोड रुपैयाँ स्थानान्तरण गरेर पुऱ्याउनुभयो । कार्यकर्ता र आफन्तजनको पोषणका लागि उक्त बजेट निर्वाचन आचारसंहिता उल्लंघन गर्दै खर्च गरियो । त्यो पनि नाम मात्रका उपभोक्ता समिति गठन गरेर । त्यसको सप्रमाण स्थलगत विवरण उपलब्ध गराउन तयार छु । उक्त हिसाबको जिल्लाका तत्कालिन एलडिओ रामप्रसाद पाण्डेले कागजी मिलान त गरे होलान् ! तर महालेखाको त्यस वर्षको रिपोर्टमा कहिँ कतै उल्लेख नै भेटिँदैन ।

साथै यसै निर्वाचित अवधिमा मन्त्री पनि हुनुभयो । तपाईं मन्त्री हुँदा कस-कसले जायज-नाजायज फाइदा उठाए ? तपाईंका स्वकियसचिव सरोज खनाललाई राम्ररी जानकारी नै हुनपर्छ । स्वभाविक फाइदा उठाउनु स्वभाविक नै भए पनि तपाईं मन्त्री हुँदा जिल्लाका कार्यकर्ताबाट कर्मचारी सरुवा तथा बढुवामा गरेको धन्दा अस्वभाविक नै थियो । जुन तथ्य जिल्लाका पत्रकारका लागि समाचारको विषय थियो, तर त्यसबारेमा पनि जिल्लाको पत्रकारिता मौन रह्यो । तपाईं मन्त्री रहँदा जिल्ला (बहादुरगंज) कै प्लाइउड फैक्ट्रीमा कृषि मन्त्रालयकै मिलोमतोमा ल्याएको युरिया मलको ट्रक बरामद भयो, जतिबेला कृषकहरुले मल पाइरहेका थिएनन् । त्यस समाचारको एंगल नै फरक पारेर केही पत्रकारले धर्म निर्वाह गरे तर घटनाको भित्री रहस्य अर्कै थियो, सत्य उजगार गर्न चाहेनन् । तपाईं मन्त्री भैरहँदा जिल्लामा पटक-पटक पाल्नुहुँदा मन्त्रालयबाट लिएको अस्वभाविक खर्च विवरण पनि जिल्लाका पत्रकारका लागि समाचारको चासो बनेन । तपाईंको तिलोत्तमाको १२ कठ्ठा बहुमुल्य जग्गा मन्त्रीको सम्पत्ति विवरण भएको जिल्लाका पत्रकारले भेउ नै पाएनन् । केही पत्रकार तपाईंको अस्वभाविक गुणगान गाउन व्यस्त नै रहे । त्यसो त तपाईंकै परिवारका सदस्य पनि पत्रकारिताका हस्ती नै हुनुहुन्छ त्यस बारेमा जानकार छु ।

माननिय ज्यू,
त्यसैले होला, सासंद विकास कोषबाट जिल्लाको पत्रकार महासंघका सदाबहार पदाधिकारीज्यूलाई खुशी तुल्याउन महासंघको सुचना सेन्टर (वोडगाउँ) मा निर्माण गर्न अघिल्लो आवमा १२ लाख (जिल्ला पार्टी कार्यलयका अनुसार) रुपैयाँ उपलब्ध गराउनुभएको रहेछ । माओवादी जिल्ला कार्यलय स्रोतले उक्त भवन निर्माणका लागि गत वर्षको संसदिय कोष अन्तर्गतको १२ लाख रुपैयाँ उपलब्ध गराएको जानकारी गराए पनि महासंघका जिम्मेवार पदाधिकारीले १० लाख रुपैयाँ मात्र उपलब्ध भएको बताए । भवन निर्माणमा १० लाख रुपैयाँ संसदीय कोषबाट र बाँकी तीन लाख रुपैयाँ नगरबाट उपलब्ध भएको महासंघका पदाधिकारीको प्रष्टोक्ति छ । सदरमुकाम तौलिहबाट बोडगाउँ आइपुग्दा २ लाख रुपैयाँको हिसाब फरक देखियो । पत्रकार महासंघले नै त्यसरी हिसाबमा फरक पारेपछि त्यसको उठान कसले गर्नु ? सुन्दैछु त्यही भवनलाई व्यापारिक प्रयोजनका लागि उपयोग गरेर अर्को पटक महासंघको नेतृत्व आफ्नो कब्जामा ल्याउने । त्यसका लागि श्रीमती, साला, व्यापारिक पार्टनर लगायतका दर्जनौँ गैरपत्रकारलाई जिल्लाबाट केन्द्रका प्रतिष्ठानबाट सदस्यता दिलाएर फेरि जिल्लामा स्थानान्तरण गर्ने रे ! अनि जिल्लाको नेतृत्व हत्याउने रे ! त्यसरी हत्याएको पत्रकारको नेतृत्वले कस्तो धर्म निर्वाह गर्ला ?

आफैमा लालपुर्जाविहीन समुदायिक जग्गामा पत्रकार महासंघले केही व्यक्तिलाईं नजराना (गोप्य) बुझाएर भवन निर्माण गर्नु कति उचित थियो ? पत्रकार पदाधिकारीज्यूले समाजलाई आफै जवाफ दिन सकुन् । एक तल्ला निर्माण सम्पन्न उक्त भवनमा महासंघले गत फागुनमा नगरको सार्वजनिक सुनुवाइ गरेको थियो । नगर आफैमा गत वर्ष नगरपालिकाबाट सुशासनमा उत्कृष्ट नगर घोषित थियो । नगरले उक्त सम्मानलाई कति ध्यान दियो जवाफ नगरले नै देला, तर नगरका प्रवक्ता विष्णु पौडेलको भनाइ थियो सासंदले दिएको कोषबाट बनेको भवनमा नगरले सार्वजनिक सुनुवाइ गरेको हो । साथै उनले महासंघलाई नगरका तर्फबाट केही अनुदान पनि उपलब्ध गराएको जानकारी गराए । सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा कम बजेटका विकास आयोजना उपभोक्ता समुह बनाएर विकास निर्माणका काम गर्नुपर्ने हुन्छ । तर नगरमा प्रक्रिया पुऱ्याउन नाम मात्रका उपभोक्ता समिति गठन गरी संरक्षित ठेकदारलाई ठेक्का दिलाएर निर्माणका काम गर्ने परम्परा स्थापित भएको छ । समपन्न आवमा पनि त्यस्ता गतिविधीले निरन्तरता पाए । केही दिनमा आउने महालेखाको प्रतिवेदन अध्ययन गर्दा त्यसबारे स्पष्ट हुनेछ ।

माननियज्यू,
त्यस्ता कामलाई समेत महासंघले अनदेखा गर्दै नगरको सार्वजनिक सुनुवाइ सम्पन्न गऱ्यो । करिव सवा अर्ब रुपैयाँ बजेट रहेको नगरका गतिविधि पारदर्शी र प्रणालीअनुकुल खर्च नभएका र योजना आवश्यकताका आधारमा भन्दा पनि पहुँचका आधारमा बनाएर बजेट खर्च गरिएका उदाहरण नगरमा छन् । नगरको शिक्षा र स्वास्थ्य क्षेत्रमा त्यस्तै बेथिति रहेको स्थानीयको गुनासो छ । नगरका बेथितिविरुद्धका गुनासामा तपाईंको ध्यान कत्तिको गएको छ ? सुन्दैछु, यसपटक पनि तपाईंका स्वकीयसचिवको लगानी रहेको कुखुरा फार्मसम्म पुग्न लाखौँको योजना पारिएको छ रे ! पहुँचका आधारमा नगरमा योजना पार्नु गौरवको विषय नै रहेछ । प्रसंगले फेरि एउटा उदाहरण पेश गरौँ, तपाईंकै साढुभाइ एवम् तत्कालिन नेकपा सचिव विष्णु शाहजीको बस्तीको बाटो पिच गरियो । त्यही वडामा सदियौँ पुराना बस्तीको बाटाघाटा अहिले पनि प्राथमिकतामा पर्न सकेका छैनन् । जहाँ तपाईं पञ्चायती भूमिगत कालमा सेल्टर बस्दै सारंगी र गितार अभ्यास गर्नुहुन्थ्यो । तत्कालिन शासकका बफादार शिकारको निहुँमा आउँदा जहाँ तपाईं रातिमा खेतैखेत भाग्नु परेको थियो ।

त्यसो त त्यही नगरकी विमला घिमिरे राष्ट्रियसभामा सदस्य हुनुहुन्छ । राष्ट्रियसभामा वहाँ सुशासन समितिकी सदस्य हुनुहुन्छ । नगरका सुशासनका बारेमा वहाँको चिन्ता भएको जानकारी पाउँदा खुशी लाग्यो । वहाँले आफ्ना मतदातासँग नगर कसले चलाएको छ भन्ने नै बुझ्न नसकिएको प्रतिक्रिया नै दिनुभएछ । कतै आशंका तपाईंप्रति त हैन ? एक स्थानियले वहाँको भनाई उद्धृत गर्दै ‘नगरको भेलामा स्थानीय एक प्राथमिक विद्यालयलाई २५ लाख रुपैयाँ अनुमोदन गर्ने सहमति भएको भए पनि नगरसभाबाट सार्वजनिक हुँदा आधा बजेट काटिएर आयो’ सुनाउनु भयो । वहाँको उक्त भनाइले नगरको सुसासन अवस्था अझै स्पष्ट भएको छ । घिमिरेको वार्डमा तपाईंको संसदीय कोषबाट महासंघका लागि विवादित तवरबाट पत्रकार महासंघको भवन बनाउनु आफैमा कतै राजनीतिको प्रतिष्पर्धा त हैन ? स्थानीयको भनाइ छ, ‘लालपुर्जा नै नभएको जग्गामा सांसदको कोषबाट पत्रकारको भवन बनेपछि कुरा सक्किगो !’ जनप्रतिनिधि र पत्रकारको स्वार्थ मिलेपछि समाज मुकदर्शक भन्दा के नै बन्न सक्छ र ?

माननीयज्यू,
उक्त स्थान वार्डको खुला स्थानका रुपमा संरक्षित गर्ने सहमति रहे पनि जनप्रतिनिधिको स्वार्थका कारण खुला स्थान मासिँदै गएको स्थानीयको गुनासो छ । स्थानीय गणेश मन्दिर निर्माण समितिका लौगाइका अध्यक्ष विष्णु भट्टरइले यहाँ जनप्रतिनिधि स्वयम् त्यस्ता धन्दाका पक्षपोषणमा रहेपछि के भन्नु ? ‘त्यसैले ती सबै गतिविधिविरुद्ध हामी बोल्न मिल्दैन’, उनले भने । उनले खुलेरै भने, ‘बलदेवजीले आफन्त नातागोतलाई ठेक्कापट्टा दिलाउने कामबाहेक यस अवधिमा खासै काम गर्नुभएन ।’ भट्टराई अहिले पनि तपाईंका पार्टीका सर्मथक हुनुहुन्छ ।

महासंघको सदरमुकाम तौलिहवामा आफ्नै सुविधायुक्त कार्यालय भवन छ । त्यसका अतिरिक्त गोरुसिंगेमा पनि रहेको प्रदेश अध्यक्ष वसन्त गिरीले जानकारी गराउनुभयो । केन्द्रमा भन्दा धेरै कपिलवस्तु पत्रकार महासंघका भवन भएको टिप्पणी पत्रकार महासंघका पूर्वसचिव धर्मेन्द्र कर्णले गर्नुभयो । विषयको गहनताका आधारमा जिल्लामा सायदै समाचार बन्छन् । ठेक्कापट्टा र कमिसनका लागि जिल्लाको पत्रकारिता दुरुपयोग मात्र नभएर बदनामित छ । स्वयम् म आफै पनि पत्रकार भएकोले जिल्लाका पत्रकारिता कुन मार्गमा अवतरित छ भन्ने धेरथोर जानकारी पनि छ । अझै तपाईंको साथ, सहयोग र समर्थन भएपछि त्यो स्वच्छन्द हुन पुगेको अनुभूति भएको छ ।

गलत गतिविधिको पक्षपोषण गरोस् र आगामी दिनमा महासंघबाट वफादारिताको चाह राखेर बक्सिसस्वरुप संसदीय कोषबाट रकम उपलब्ध गराउनुभएको हो ? त्यसो हो भने बजेट माग्नेहरुले महासंघलाई मात्र नभएर पेशा नै दुरुपयोग गरेको ठहरिने छ । जिल्लाको पत्रकारिता वफादारिता कृतघ्न हुँदै स्तुतिगानमा परिणत भए पनि म जस्ता पत्रकारको कलम वफादारितामा उत्रिने छैन । स्थानीय सवालमा पनि गुण र दोषका आधारमा वस्तुनिष्ठ भएर चलिरहने छ ।

एउटा जिज्ञासा, तपाईं आफैमा कति इमान्दार हो ? अन्तरआत्माको जवाफ सुन्न सक्नुहोस् ! तर जिल्लामा तपाईंले विश्वास गरेका व्यक्तिको चरित्रमा भने इमान्दारिता प्रकट हुन सकेन । हुन त मेघराज ज्ञवाली सरले कुनैबला तपाईंको राजनीतिक जीवनका बारेमा सुनाउनु भएको थियो, आफ्नो भन्दा पनि अरुको विवेकबाट चल्ने मानिस भनेर । थाह छैन तपाईं कसरी चल्नुहुन्छ । त्यो मेरोलागि चासो र चिन्ताको सवाल पनि हैन, तर यतिबेला तपाईंसँगको पहुँच र सामीप्यता कतै जिल्लामा दुरुपयोग त भैरहेको छैन ? वा गलत कार्यका लागि सदैव तपाईंको प्रोत्साहन हो ? यदि त्यसो हो, भने तपाईंले विघटित संसद व्युँझाउन सर्वोच्च पुगेर गरेको हस्ताक्षर र निर्वाह गरेको भूमिका शासन सत्तामा पहुँच र दुरुपयोगका लागि थियो भनेर बुझ्न कर लाग्नेछ !

सञ्जय पन्थी, (स्वतन्त्र पत्रकार)
कपिलवस्तु