‘जुन गोरुको सिङ छैन त्यसको नाम तिखे’

‘जुन गोरुको सिङ छैन त्यसको नाम तिखे’


  • स्वयम्भूनाथ कार्की

शेरबहादुर देउवालाई प्रधानमान्त्रीको नियुक्ति दिनको निमित्त सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रपतिलाई आदेश दियो । एक पटक राष्ट्रपतिले नियुक्ति अस्विकार गरिसकेको व्यक्तिलाई पुनः नियुक्ति दिने आधार संविधानको धारा थिएन, पूर्ण अदालतका नभइ संविधानको व्याख्या गर्न गठित अदालतको परमादेश थियो । तर, त्यसमा संविधानको धारा उल्लेख गर्नुपर्छ भन्ने बालहठ आयो । सुनिन्छ- त्यो बालहठ पूरा पनि गरियो अरे । संवैधानिक इजलासका पक्षले रोजेका न्यायमुर्तिहरू रहेको बेञ्चको फैसलाअनुसार ५ वर्षभन्दा पहिला निर्वाचन हुनु अलोकतान्त्रिक ठहर भयो । अर्थात्, संविधानले भनेको ‘सार्वभौमसत्ता सम्पन्न जनता’ले सार्वभौमिकता प्रयोग गर्न पाउने एक मात्र विधि मतदान ५ वर्षमा एकचोटी मात्र पाउने भए । अर्थात् जुन तन्त्रमा लोकहरू (जनता)को कुनै हिस्सेदारी छैन त्यसलाई लोकतन्त्र मान्नुपर्छ ! अर्थात्, ‘जुन गोरुको सिङ छैन त्यसको नाम तिखे’ !

आजकल यो उखान त्यति प्रयोगमा आउँदैन, तर हेर्ने हो भने विगतका तीसवर्षे अवधिमा सबैखाले अगुवाहरूले प्रजातन्त्र फलाकीरहे । त्यो आफैले फलाकेको प्रजातन्त्र पनि ठिक लागेन र अर्को न्वारण गरियो- ‘लोकतन्त्र’ भनेर । त्यो पुनर्स्थापना भएको दाबी गरियो । त्यसभन्दा पहिलेको २९ वर्ष ४ महिनालाई तानाशाही काल भनियो । त्यसलाई सामन्ती युग भनियो, कालरात्रि समेत भनियो । अर्थात् भन्न केही बाँकी राखिएन । त्यो कालो युग भनिएको शासनमा जनताको हिस्सेदारी कायम गर्ने निर्वाचन कहिल्यै पनि बाधित भएन । त्यो कालखण्डलाई गाली गरेपछि विलोमको रूपमा यो कालखण्ड आफै प्रजातन्त्र भयो, लोकतन्त्र भयो ! सामन्ती भएन, उज्यालो युग भयो !!

अर्थात्, यो दलतन्त्र, अझ भनौँ हातका औंलामा गन्न पुग्ने केही नेताका हैकमलाई प्रजातन्त्र वा लोकतन्त्र भनिनु नै ‘जुन गोरुको सिङ छैन त्यसको नाम तिखे’ हो । जनता र नागरिक समानानार्थी शब्द होइनन् । त्यसैले यहाँ नागरिक शब्द प्रयोग भएको छ । जनता अमुर्त नागरिकहरूको समुह हो जसलाई जसले पनि आफ्नो मर्जीले जनताको मर्जी हो भन्छ । किनभने जनताको सामुहिक परिचय त होला तर सम्बोधन गर्न सकिने परिचय हुँदैन । नागरिक त्यही जनताको सबैभन्दा तल्लो आधारभुत एकाई हो जसको परिचय सम्बोधन गर्न सकिने हुन्छ । एक उदाहरण, मानौँ कहीँ-कतै कुनै अपराध भयो भनियो जनताले गरे, त्यो अपराध गरेबापत जनतालाई सजाय दिन सकिन्न । किनभने जनता केवल एक अवधारणा हो, समुह पनि हैन । तर त्यसमा नागरिकलाई वा समुहले कुनै अपराध गरे तिनीहरूलाई सजाय दिन सकिन्छ । यही कुरा राम्रो काम गरेकोमा पुरस्कारको निमित्त पनि लागु हुन्छ ।

दलहरूले यस्तै अमुर्त जनताको प्रतिनिधित्व गरेको दाबी गर्छन् । जनता एकाई हैन एक अमुर्त अवधारणा मात्र हो त्यसैले उनीहरू आफ्नो काम, लोभ, लालसा सबैलाई जनताको टाउकोमा थोपरिदिन्छन् । मध्यकालमा यस्तो कुरा कसै न कसैको नाममा थोपरिन्थ्यो । चाहे प्रजातान्त्रिक चेतना होस् वा साम्यवादी चेतना- दुवैले यसलाई नागरिकमाथि गरिएको बलजफ्ती माने । त्यसैलाई समाप्त पार्न लामो सङ्घर्ष चल्यो, वैचारिक तथा रक्तरञ्जित दुवै । त्यसले स्थापना गरेको प्रजातन्त्रमा व्यक्तिको सर्वोच्चता र, साम्यवादमा सर्वहाराको सर्वोच्चता हो । यो नै अहिले दलतन्त्रले आफूलाई भन्ने गरेको लोकतान्त्रिक पद्धति हो । तर कुनै पनि दलमा, दलका नेताहरूमा, दलका कार्यकर्ताहरूमा लोकतन्त्र भन्न सुहाउने कुरै छैन । त्यसैले जुन गोरुको सिङ छैन त्यसकोे नाम तिखे !

नागरिकको सर्वोच्चता भनेको निर्णयप्रक्रियामा नागरिकको संलग्नता हो । तर कुन त्यस्तो दल छ जसले नियमित उच्चस्तरीय समितिको बैठक बसेको होस् ? बल्लतल्ल बसेको बैठकमा पनि वार्तालाप हुन्न एकालाप हुन्छ । अर्थात् सदस्यहरूले एकसरो बोल्छन् अनि अन्तमा नेताले आफ्नो मर्जीको कुरा पारित भयो भनेर हैकम चलाउँछ । यसमा यो दल वा त्यो दल भन्ने कुरै छैन । मुलुकको सर्वोच्च विधायिकामा हुने छलफल हेर्ने हो भने त्यहाँ पनि समय तोकेर एकालाप नै हुन्छ । तर्कवितर्क, छलफल गरेर निर्णय हुने कुरा त सम्भव नै छैन । ध्वनीमतले प्रस्ताव पारित हुन्छ । अर्थात् अध्यक्षता गर्नेले जसको स्वर ठूलो सुनिएको ठान्छ त्यही पारित हुन्छ । उसै पनि जनताका प्रतिनिधि भनेकाहरू दलको कोर्राको डरले मतदान गर्छन् । कोर्रा शब्द कडा लागे ह्वीप भन्नुस्, अंग्रेजीमा ह्वीप नेपालीमा कोर्रा ! त्यसैले जुन व्यवस्था वास्तवमा नेतातन्त्र हो अलि उदार भन्ने हो भने दलतन्त्र हो त्यो आफूलाई प्रजातन्त्र भन्छ । भएन त सिङ नभएको तिखे गोरु ?